काठमाडौं । चार दशकभन्दा लामो समयदेखि आर्थिक पत्रकारितामा सक्रिय वरिष्ठ पत्रकार बद्रीप्रसाद कोइराला कर्पोरेट खबरको सल्लाहकार सम्पादकमा नियुक्त भएका छन् ।
२०४५ सालदेखि आर्थिक पत्रकारितामा सक्रिय रहँदै आएका कोइरालालाई बिहीबार कर्पोरेट खबरले उक्त जिम्मेवारी प्रदान गरेको हो ।
काठमाडौंको महाँकालस्थित कर्पोरेट खबरको केन्द्रीय कार्यालयमा आयोजित कार्यक्रममा संस्थाका अध्यक्ष उज्ज्वल जंग पराक्रम शाहले कोइरालालाई स्वागत गर्दै सफल कार्यकालको शुभकामना व्यक्त गरे ।
संस्थाले कोइरालाको आगमनसँगै आर्थिक रिपोर्टिङ, सम्पादन र समाचार प्रस्तुतीकरण थप सशक्त, तथ्यपरक तथा विश्लेषणात्मक बन्ने विश्वास व्यक्त गरेको छ ।
अध्यक्ष शाहले कोइरालाको अनुभवले संस्थालाई नयाँ उचाइमा पुर्याउने विश्वास व्यक्त गर्दै भने, “बद्रीप्रसाद कोइरालाजस्ता अनुभवी पत्रकारको आगमनले कर्पोरेट खबरको आर्थिक पत्रकारिता थप सुदृढ हुनेछ ।

तथ्यमा आधारित, विश्लेषणात्मक र विश्वसनीय पत्रकारिता मार्फत पाठकलाई अझ गुणस्तरीय सामग्री प्रदान गर्न हामी सफल हुनेछौं भन्ने विश्वास लिएका छौं ।”
नियुक्तिपछि प्रतिक्रिया दिँदै सल्लाहकार सम्पादक कोइरालाले कर्पोरेट खबरलाई थप विश्वसनीय, गहिरो र विश्लेषणात्मक बनाउने प्रतिबद्धता व्यक्त गरे ।
उनले भने,“आर्थिक पत्रकारिता समाचार सम्प्रेषणमा सीमित हुँदैन, यसले नीति निर्माण, निजी क्षेत्र र आम नागरिकबीच पुलको काम गर्छ । कर्पोरेट खबर मार्फत तथ्यमा आधारित, गहिरो र विश्लेषणात्मक सामग्री उत्पादन गर्दै आर्थिक पत्रकारिताको स्तर अझ उकास्ने मेरो प्रयास रहनेछ ।”
कोइरालाले २०४५ सालमा नेपाल चेम्बर अफ कमर्सको वार्षिक प्रकाशनबाट पत्रकारिता यात्रा सुरु गरेका थिए । त्यसपछि उनले आर्थिक विषयमा केन्द्रित विभिन्न पत्रपत्रिका, म्यागेजिन तथा अनलाइन सञ्चारमाध्यममा सम्पादकीय नेतृत्व प्रदान गर्दै आर्थिक पत्रकारिताको विकासमा महत्वपूर्ण योगदान दिएका छन् ।
उनले २०५१ सालमा आर्थिक मञ्चु स्थापना गरी आर्थिक विषयमा केन्द्रित पत्रकारिताको सुरुवात गरेका थिए । २०६१ सालसम्म सञ्चालन भएको आर्थिक मञ्चले अर्थतन्त्र, निजी क्षेत्र, लगानी, उद्योग, व्यापार तथा नीतिगत सुधारका विषयमा गहन बहस सिर्जना गर्दै सरकार तथा सरोकारवाला निकायलाई समय–समयमा सचेत गराउने महत्वपूर्ण भूमिका खेलेको थियो ।
आर्थिक पत्रकारितामा उनको लामो अनुभव, नीतिगत विषयमा गहिरो अध्ययन तथा विश्लेषणात्मक लेखनका कारण कोइराला नेपालका स्थापित आर्थिक पत्रकारमध्ये एकका रूपमा परिचित छन् ।
पछिल्लो समय कर्पोरेट खबरले व्यवसाय, अर्थतन्त्र, लगानी, बैंकिङ, वित्तीय क्षेत्र तथा नीतिगत विषयमा केन्द्रित समाचार र विश्लेषणात्मक सामग्री उत्पादन गर्दै आफ्नो पहुँच विस्तार गरिरहेको छ । वरिष्ठ पत्रकार कोइरालाको नेतृत्व र मार्गदर्शनसँगै संस्थाले आर्थिक पत्रकारितालाई थप व्यावसायिक, विश्वसनीय र प्रभावकारी बनाउने अपेक्षा गरेको छ ।