काठमाडौं । नेपाल राष्ट्र बैंकले देशव्यापी रूपमा ‘ग्राहक सन्तुष्टि सर्वेक्षण २०८३’ सञ्चालन गर्ने भएको छ।
केन्द्रीय बैंकले एक सार्वजनिक सूचना जारी गर्दै वित्तीय ग्राहकहरूको सन्तुष्टिको स्तर मापन गर्ने उद्देश्यका साथ यो विशेष अभियान सुरु गर्न लागेको जानकारी दिएको हो।
यस राष्ट्रिय सर्वेक्षणका लागि देशका ७७ वटै जिल्लाका सबै प्रकारका स्थानीय तहहरूलाई समेटिने छ, जहाँ ‘र्यान्डम स्याम्पलिङ’ अर्थात् आकस्मिक छनोट विधिबाट वडाहरू चयन गरी कुल १० हजार ४०५ वटा नमूना संकलन गरिनेछ।
यस विस्तृत सर्वेक्षणमार्फत राष्ट्र बैंकले आम नागरिकमा वित्तीय सेवाको पहुँच, यसको गुणस्तर, सेवा प्रवाहमा पारदर्शिता, ग्राहकका गुनासो व्यवस्थापनको अवस्था, वित्तीय ग्राहक संरक्षण र समग्र बैंकिङ क्षेत्रप्रतिको धारणा एवं अनुभवका बारेमा वास्तविक तथ्यांक संकलन गर्नेछ।
सर्वेक्षणबाट प्राप्त हुने निष्कर्ष र नतिजाहरू आगामी दिनमा वित्तीय ग्राहकको हकहित संरक्षण गर्न, सेवाको गुणस्तर बढाउन तथा बैंकिङ क्षेत्रका नीति, कार्यक्रम र नियामकीय व्यवस्थाहरूमा आवश्यक सुधार एवं परिमार्जन गर्न कोशेढुङ्गा सावित हुने राष्ट्र बैंकको विश्वास छ।

यो महत्त्वपूर्ण तथ्यांक संकलन कार्यलाई पूर्ण रूपमा विश्वसनीय, निष्पक्ष र प्रभावकारी बनाउनका लागि केन्द्रीय बैंकले सम्बन्धित सम्पूर्ण सरोकारवाला निकाय र आम सर्वसाधारणलाई यथार्थ जानकारी उपलब्ध गराई सहयोग गरिदिन आह्वान समेत गरेको छ।