बहुप्रतीक्षित विद्युतीय सवारी चेरी ‘क्यू’ आधिकारिक सार्वजनिक प्रदर्शनअघि नै काठमाडौंका सडकमा देखिएको छ । राजधानीमा गाडी देखिएसँगै अटोमोबाइलप्रेमी र सर्वसाधारणबीच यसको चर्चा बढेको छ ।
नेपालका लागि चेरीको आधिकारिक वितरक पायोनियर मोटो कर्प प्रालिका अनुसार चेरी ‘क्यू’को औपचारिक सार्वजनिक प्रस्तुति २६ देखि ३१ साउनसम्म भृकुटीमण्डपमा आयोजना हुने नाइमा मोबिलिटी एक्स्पो २०२६ मा गरिनेछ । प्रदर्शनीमा आगन्तुकहरूले पहिलोपटक यो विद्युतीय सवारीलाई प्रत्यक्ष अवलोकन गर्ने अवसर पाउने कम्पनीले जनाएको छ ।
कम्पनीका अनुसार चेरी ‘क्यू’ नयाँ पुस्ताको विद्युतीय अर्बन क्रसओभर हो । यसमा ४१.२ किलोवाट–घण्टा क्षमताको ब्याट्री, एक पटकको चार्जमा ४०० किलोमिटरसम्म चल्ने क्षमता, ५४० डिग्री वरिपरि दृश्य देखाउने क्यामेरा, १७५ मिलिमिटर ग्राउन्ड क्लियरेन्स, ७० लिटर अगाडिको भण्डारण (फ्रंक), १५.६ इन्चको टचस्क्रिन इन्फोटेन्मेन्ट प्रणाली तथा २० भन्दा बढी उन्नत चालक सहायता प्रणाली जस्ता सुविधा रहेको कम्पनीले जनाएको छ ।
कम्पनीका अनुसार चेरी ‘क्यू’ ले रेड डट डिजाइन अवार्ड–२०२५ र आईएफ डिजाइन अवार्ड–२०२६ समेत प्राप्त गरिसकेको छ ।
काठमाडौंमा गाडी सार्वजनिक रूपमा देखिएसँगै सामाजिक सञ्जालमा यसको तस्वीर र भिडियो व्यापक रूपमा साझा भइरहेका छन् । यसले नाइमा मोबिलिटी एक्स्पो २०२६ मा हुने चेरी ‘क्यू’ को आधिकारिक सार्वजनिक प्रदर्शनप्रति थप उत्सुकता बढाएको छ ।