काठमाडौं । भुक्तानी सेवा प्रदायक कम्पनी इसेवाद्वारा सौराहामा आयोजित ‘इसेवा ह्याकाथन २०२६’ भव्य रूपमा सम्पन्न भएको छ ।
यही जेठ १५ गतेदेखि आयोजित आवासीय ह्याकाथन नयाँ प्रविधि, नवप्रवर्तन, सिर्जनशील सोच तथा वातावरणीय दिगोपनासँग सम्बन्धित डिजिटल समाधानहरू प्रस्तुत गर्दै सम्पन्न भएको हो । इसेवाले वन्यजन्तु तथा वातावरण संरक्षणका क्षेत्रमा काम गर्दै आएको संस्था विश्व वन्यजन्तु कोष नेपालसँगको सहकार्यमा उक्त ह्याकाथन आयोजना गरेको थियो ।
नेपालमा नवप्रवर्तन संस्कृतिको विकास, डिजिटल समाधानको खोजी तथा युवा उद्यमशीलता प्रवर्धन गर्ने उद्देश्यले आयोजित ह्याकाथनमा देशभरबाट छनोट भएका २० टोलीका ६३ जना युवा प्रतिभाबीच प्रतिस्पर्धा भएको थियो ।
सहभागी प्रतिस्पर्धी टोलीहरूले फिनटेक, साइबर सुरक्षा, डिजिटल समावेशीकरण तथा वातावरणीय दिगोपनासँग सम्बन्धित नवीन डिजिटल समाधान तथा प्रोटोटाइप प्रस्तुत गरेका थिए ।
ह्याकाथनको निर्णायक मण्डलद्वारा गरिएको मूल्यांकनका आधारमा उत्कृष्ट तीन टोली छनोट गरिएको थियो । यसअन्तर्गत आदित्य कुमार साह तेली र पूजा यादव सदस्य रहेको टोली ‘कन्फ्युजन म्याट्रिक्स’ ले प्रथम स्थान हासिल गर्न सफल भयो ।

त्यसै गरी, अभिनन्दन राजभण्डारी, एरबिन श्रेष्ठ, उत्सव दाहाल र सबिन न्यौपाने आबद्ध टोली ‘क्यास फ्लो’ द्वितीय हुन सफल भयो भने इन्द्र प्रसाद सापकोटा, समीप घिमिरे, सौगात अधिकारी र स्नेहा क्षेत्री सम्मिलित टोली ‘आर्याना’ ले तृतीय स्थान हासिल गर्यो । ह्याकाथनमा प्रथम, द्वितीय र तृतीय हुने टोलीहरूले क्रमश: ३ लाख, २ लाख र १ लाख नगद पुरस्कार प्राप्त गरेको इसेवाले जनाएको छ ।
