काठमाडौं । नेपाल भलिबल लिग (एनभीएल) को पहिलो संस्करणको च्याम्पियन अन्नपूर्ण स्पाइकर किङ्सले च्याम्पियन ट्रफीसहित ‘एक्स्ट्रिम गौरवको यात्रा’ सम्पन्न गरेको छ ।
एक्स्ट्रिम इनर्जी ड्रिंकको सहकार्यमा आयोजना गरिएको ट्रफी टुरअन्तर्गत अन्नपूर्ण स्पाइकर किङ्सले च्याम्पियन ट्रफी गण्डकी प्रदेशका विभिन्न शहर तथा स्थान हुँदै अन्नपूर्ण आधार शिविरसम्म पुर्याएको हो ।
नेपाली भलिबलको ऐतिहासिक सफलतालाई देशका विभिन्न स्थानका समर्थक तथा खेलप्रेमीसम्म पुर्याउने उद्देश्यले आयोजना गरिएको अभियानमा खेलाडी, समर्थक तथा स्थानीय समुदायसँग भेटघाट तथा विभिन्न कार्यक्रमसमेत गरिएको थियो ।
अभियानमार्फत नेपाली भलिबलको उत्साह, उपलब्धि र खेलाडीको यात्रालाई समर्थकसँग जोड्ने प्रयास गरिएको आयोजकले जनाएको छ ।
नेपाल भलिबल लिग नेपालको पहिलो व्यावसायिक पुरुष फ्रेन्चाइज भलिबल लिग हो । पहिलो संस्करण १९ देखि २७ भदौसम्म काठमाडौंको त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्ड हलमा सञ्चालन भएको थियो ।

प्रतियोगितामा अन्नपूर्ण स्पाइकर किङ्ससहित काठमाडौं रेड्स, कर्णाली शिवराज, खप्तड फाल्कन्स, मधेश वारियर्स र सगरमाथा स्क्वाडर्स गरी ६ फ्रेन्चाइज टोलीले प्रतिस्पर्धा गरेका थिए ।

ऐतिहासिक फाइनलमा अन्नपूर्ण स्पाइकर किङ्सले कर्णाली शिवराजलाई ३–० को सोझो सेटमा पराजित गर्दै पहिलो संस्करणको उपाधि जितेको थियो ।

अन्नपूर्णले २५–१५, २५–२० र २५–१८ को सेटमा जित निकालेको थियो । पहिलो एनभीएल उपाधिसँगै अन्नपूर्णले २० लाख रुपैयाँ नगद पुरस्कार प्राप्त गरेको थियो ।