काठमाडौं । अर्जेन्टिनाका कप्तान लियोनल मेसी आज फेरि त्यही मैदानमा उत्रिँदैछन्, जहाँ उनले करिअरकै सबैभन्दा पीडादायी हार भोगेका थिए।
अमेरिकाको न्युजर्सीस्थित मेटलाइफ स्टेडियममा नेपाली समयअनुसार आज मध्यराति हुने फिफा विश्वकप २०२६ को फाइनलमा अर्जेन्टिनाले स्पेनसँग उपाधिका लागि प्रतिस्पर्धा गर्दैछ।
मेसीका लागि यो खेल केवल अर्को विश्वकप फाइनल मात्र होइन। यो विगतको पीडालाई सफलतामा बदल्ने अवसर पनि हो। सन् २०१६ को कोपा अमेरिका सेन्टेनारियोको फाइनलमा यही मैदानमा अर्जेन्टिना चिलीसँग पेनाल्टी सुटआउटमा पराजित भएको थियो।
त्यसक्रममा मेसीले आफ्नो पेनाल्टी गुमाएका थिए र हारपछि मैदानमै भावुक बनेका उनका तस्बिर विश्वभर चर्चित बनेका थिए।
त्यस पराजयपछि मेसीले राष्ट्रिय टोलीबाट सन्यास लिने घोषणा गरेका थिए। उनले आफूले सक्दो प्रयास गरे पनि सफलता हात नपरेको भन्दै राष्ट्रिय टोलीसँगको यात्रा समाप्त भएको बताएका थिए। तर अर्जेन्टिनाका समर्थक र पूर्वखेलाडीहरूको निरन्तर आग्रहपछि उनले आफ्नो निर्णय फिर्ता लिएका थिए।
त्यतिबेला सामाजिक सञ्जालमा भाइरल बनेको एउटा खुला पत्र अहिले फेरि चर्चामा छ। मेसीलाई राष्ट्रिय टोली नछोड्न आग्रह गर्दै भावुक सन्देश लेख्ने १५ वर्षीय किशोर अहिले अर्जेन्टिनाका प्रमुख मिडफिल्डर एन्जो फर्नान्डेज हुन्। उनले त्यसबेला मेसीलाई फुटबल खेलिरहन र समर्थकको खुसीका लागि टोलीमै रहन आग्रह गरेका थिए।
संयोगले आज त्यही एन्जो विश्वकप फाइनलमा आफ्ना आदर्श मेसीसँगै मैदानमा उभिनेछन्।
१० वर्षपछि मेटलाइफ स्टेडियममा फर्किएका मेसी यसपटक हारको सम्झना दोहोर्याउन होइन, नयाँ इतिहास लेख्ने लक्ष्यमा छन्। प्रशिक्षक लियोनल स्कालोनीको नेतृत्वमा अर्जेन्टिना उत्कृष्ट प्रदर्शन गर्दै फाइनलसम्म पुगेको छ र उपाधि जित्ने आत्मविश्वासमा देखिएको छ।
अर्कोतर्फ स्पेन पनि बलियो चुनौतीका रूपमा उभिएको छ। बार्सिलोनामा लामो समय बिताएका मेसी स्पेनी फुटबलको शैलीसँग राम्ररी परिचित छन्। त्यसैले यो फाइनललाई फुटबलका दुई शक्तिशाली टोलीबीचको प्रतिस्पर्धा मात्र नभई मेसीको महान अन्तर्राष्ट्रिय यात्राको अर्को ऐतिहासिक अध्यायका रूपमा पनि हेरिएको छ।
यदि अर्जेन्टिनाले विश्वकपको उपाधि जित्न सफल भयो भने, १० वर्षअघि मेसीका आँसु बगेको मेटलाइफ स्टेडियम यसपटक उनको अर्को स्वर्णिम सफलताको साक्षी बन्नेछ।