काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) को नयाँ नेतृत्व चयनका लागि भोलिदेखि पुन: निर्वाचन कार्यक्रम सुचारु गरिने भएको छ ।
सदस्यता विवादसम्बन्धी उच्च अदालत पाटमा परेको रिटमाथिको फैसलाका कारण यसअघि स्थगित भएको निर्वाचन कार्यक्रम भोलि (वैशाख १४ गते) देखि सुचारु हुने भएको हो ।
यसअघि गत चैत १२ गते प्रकाशित निर्वाचन कार्यतालिकाको क्रमसङ्ख्या १ देखि ५ सम्मका कार्यक्रम सम्पन्न भइसकेकाले अब क्रमसङ्ख्या ६ देख १६ सम्मका कार्यक्रम सञ्चालन हुने मुख्य निर्वाचन अधिकृत लीलामणि पौडेलले जानकारी दिए ।
समितिले यसअघि मतदान गर्न पाउने सदस्य संघ–संस्थाहरूको नामावली प्रकाशन, त्यसउपरको दाबीविरोध, दाबीविरोधउपर छानबिन र संशोधित नामावली प्रकाशन गरिसकेको छ ।
यस्तै, उम्मेदवारहरूको मनोनयनपत्र दाखिला र उनीहरूको प्रारम्भिक सूची पनि प्रकाशन गरिसकेको छ । जस अनुसार महासंघमा निर्वाचित हुने कूल ७३ पदका लागि १४१ जना उम्मेदवार मैदानमा छन् ।

जारी सूचना अनुसार सक्कल कागजात प्राप्त भएपछि सो प्रमाणहरूको आधारमा उम्मेदवारहरूको दोस्रो सूची प्रकाशन गरिने छ । यस्तै, उम्मेदवारहरूको मनोनयनसम्बन्धी दाबीविरोध जनाउन आगामी मंगलबार (वैशाख १५ गते) बिहान ११ बजेदेखि साँझ ५ बजेसम्मको समय छुट्याइएको छ ।

जिल्ला/नगर, वस्तुगत, एसोसिएट्स, द्विराष्ट्रिय उद्योग वाणिज्य महासंघअन्तर्गतको विभिन्न कलष्टरहरूमा १४१ जना उद्योगी–व्यवसायीले प्रतिस्पर्धा गर्न लागेका हुन् । निर्वाचन समितिका अनुसार जिल्ला/नगर तर्फबाट उपाध्यक्ष दुई जना, खुल्ला सदस्य १५ जना, महिला सदस्य दुई जना र प्रत्येक प्रदेशबाट दुई/दुई जना गरी १४ जना केन्द्रीय कार्यकारिणी सदस्य पदका लागि निर्वाचन गरिने छ ।

यस्तै, वस्तुगत तर्फबाट उपाध्यक्ष एक जना, कार्यकारिणी सदस्य १३ जना, महिला सदस्य एक जना, वस्तुगत महासंघबाट कार्यकारिणी सदस्य दुई जनाका लागि निर्वाचन गरिने छ । यसैगरी, एसोसिएट्स तर्फबाट उपाध्यक्ष एक जना, केन्द्रीय कार्यकारिणी सदस्य १७ जना, महिला सदस्य दुई जनाका लागि निर्वाचन गरिने छ ।
त्यस्तै, द्विराष्ट्रिय उद्योग वाणिज्य वाणिज्य महासंघका तर्फबाट एक जना कार्यकारिणी सदस्य पदका लागि निर्वाचन गरिने प्रमुख निर्वाचन अधिकृत पौडेलले जानकारी दिए । यस्तै, महासंघको संस्थापक सदस्य समूहबाट कार्यकारिणी सदस्य पदमा दुई जनाका लागि निर्वाचन गरिने छ । यसरी निर्वाचित गरिने ७३ पदका लागि चैत २२ गते साँझ ७ बजे प्रकाशित प्रारम्भिक सूचीअनुसार कूल १४१ जनाले उम्मेदवारी दिएका हुन् ।
हेर्नुहोस् निर्वाचन कार्यक्रम विवरण–
