काठमाडौं । सरकारले पूर्वप्रधानसेनापति गौरवशमशेर जंगबहादुर राणालाई बेलायतका निम्ति नेपाली राजदूतमा सिफारिस गरेको छ ।
शुक्रबार बसेको मन्त्रिपरिषद्को बैठकबाट राणालाई बेलायतका लागि नेपाली राजदूतमा सिफारिस गरिएको हो ।
राणाले नेपाली सेनामा चार दशकभन्दा बढी सेवा गरी प्रधानसेनापति (सन् २०१२–२०१५) का रूपमा आफ्नो कार्यकाल पूरा गरेका थिए । उनले विस्तृत शान्ति सम्झौताअनुसार पूर्वमाओवादी लडाकुलाई नेपाली सेनामा समायोजन गर्ने कार्यको निर्देशन दिएका थिए ।
राणाले सेनाको ‘१० वर्षे दीर्घकालीन योजना’ तथा ‘सैन्य सिद्धान्त २०१३’ लागु गरेका थिए ।
प्रधानसेनापतिका रूपमा उनले सन् २०१५ को भूकम्पपछि नेपालको सैन्य उद्धार कार्य ‘अपरेसन संकटमोचन’को नेतृत्व गरेका थिए । त्यति बेला उनले राहत कार्यमा १८ विदेशी सैन्य टोलीको सहभागिताको समन्वय गरेका थिए ।

भारत, चीन र अमेरिकासहित १३ देशका लागि राजदूत सिफारिस, कुनमा को ? (सूचीसहित)