![](https://i0.wp.com/corporatekhabar.com/wp-content/uploads/2024/07/corporatekhabar-800x200-1.jpg?fit=800%2C200&ssl=1)
![](https://i0.wp.com/corporatekhabar.com/wp-content/uploads/2023/06/IME-Life-1200x100-1.gif?fit=1200%2C100&ssl=1)
महोत्तरी। गएराती केही अज्ञात समूहद्वारा महोत्तरीको भंगहा–०५ स्थित गढिमाई मन्दिरको सम्पत्ति चोरी भएको छ ।
मन्दिरमा रहेको तीन पाउ चाँदीको छाता, आधा केजीको माइको मुकुट, आठ आनाको कानको सुन, चार आनाको नाकको बुलाकी, एक पाउको माताको मुकुट, पित्तलको दियो २७ थान, तामाको कलश तीन थान, तीन लिटर तेल, चामल र तामाका अन्य सामग्रीहरु गरी पाँच लाखभन्दा बढीको चोरी भएको गढिमाई सेवा संस्थाका संस्थापक अध्यक्ष तथा मन्दिरका पुजारी हरीहर कुमार ढकालले जानकारी दिए ।
उनले भने, ‘हामीले सो विषयमा प्रहरीलाई उजुरी दिइसक्यौं, चोरी गर्ने व्यक्तिको खोजी नभए हामी मन्त्रालयसम्म जान तयार छौँ ।’
मन्दिरमा चोरी भएका थाहा पाउनेबित्तिकै आफूले प्रहरीलाई जानकारी दिएको उनले बताए । मध्यराती मन्दिरको ढाेकाकाे ताल्चा ताेडिएर चोरी भएको देखिएको उनको भनाइ छ ।
घटनाका विषयमा अनुसन्धान भइरहेको सशस्त्र प्रहरी बल भंगहाका प्रहरी निरीक्षक अर्जुन ढकालले जानकारी दिए । हिन्दु धर्मावलम्बीका लागि प्रख्यात ठानिएको यस मन्दिरमा दशैंका समय हजारौं भक्तजनहरुको भीड लाग्ने गर्छ ।
सोमबार राती पनि महोत्तरीकै सिद्धपुरस्थित सिद्धनाथबाबा मन्दिरमा केही अज्ञात समूहद्वारा मन्दिर परिसरमा राखिएको घण्टी र दराजमा राखिएको कपडा, प्रसाद , धुप लगायत थुप्रै पुजाका साम्रग्रीहरु चोरी भएको थियो। सो घटना सेलाउन नपाउँदै गढिमाई मन्दिरमा चोरी भएपछि त्यहाँका स्थानीहरु त्रसित हुन थालेका छन् ।
FACEBOOK COMMENTS