काठमाडौँ । बाङ्ग्लादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनाले आगामी डिसेम्बरमा स्वदेश फर्किने इच्छा सार्वजनिक गरेपछि बाङ्ग्लादेश–भारत सम्बन्ध फेरि चर्चामा आएको छ । सन् २०२४ को विद्यार्थी आन्दोलनपछि सत्ता छाडेर भारत पुगेकी हसिनाले लामो समयपछि स्वदेश फर्किने योजना सार्वजनिक गरेकी हुन् ।
हसिनाले भारतबाटै आफ्नो राजनीतिक दल अवामी लीगलाई पुन: सक्रिय बनाउने र बाङ्ग्लादेश फर्किएर कानुनी प्रक्रियाको सामना गर्ने संकेत गरेकी छन् । उनले आफू पक्राउ पर्न सक्ने वा मृत्युदण्डको जोखिमसमेत रहेको थाहा हुँदाहुँदै देश फर्कन तयार रहेको बताएकी छन् ।
तर उनको यो घोषणा तत्कालै ढाका फर्किने निश्चित निर्णय भन्दा पनि बाङ्ग्लादेशको राजनीतिक वातावरण परीक्षण गर्ने रणनीति हुन सक्ने विश्लेषण गरिएको छ । अन्तर्राष्ट्रिय सञ्चारमाध्यम बीबीसीले भारतीय अधिकारी, कूटनीतिज्ञ तथा बाङ्ग्लादेश मामिलाका जानकारहरूसँग गरेको कुराकानीका आधारमा हसिनाको घोषणालाई राजनीतिक दबाब सिर्जना गर्ने प्रयासका रूपमा व्याख्या गरेको छ ।
भारतका लागि किन सहज हुन सक्छ ?
शेख हसिना पछिल्लो दुई वर्षदेखि भारतमा रहँदा दिल्लीका लागि यो विषय कूटनीतिक रूपमा संवेदनशील बन्दै आएको छ । बाङ्ग्लादेशले पटक–पटक हसिनालाई फिर्ता पठाउन आग्रह गर्दै आएको भए पनि भारतले त्यस विषयमा स्पष्ट निर्णय लिएको छैन ।
यदि हसिना स्वेच्छाले बाङ्ग्लादेश फर्किइन् भने भारत माथि रहेको कूटनीतिक दबाब कम हुन सक्छ । विशेषगरी ढाकासँग सम्बन्ध सुधार गर्ने क्रममा हसिनाको भारत बसाइलाई लिएर उठ्दै आएको विवाद कमजोर हुने सम्भावना रहन्छ ।
भारतले लामो समयदेखि हसिनालाई आफ्नो राजनीतिक संरक्षणमा राखेको नभई विशेष परिस्थितिमा सुरक्षा प्रदान गरेको बताउँदै आएको छ । त्यसैले उनी आफैँ बाङ्ग्लादेश फर्किएमा भारतले आफूले जबरजस्ती उनलाई फिर्ता पठाएको वा राजनीतिक निर्णय गरेको आरोपबाट पनि बच्न सक्छ ।
अर्कोतर्फ, हसिना भारतमै बसिरहँदा बाङ्ग्लादेशसँगको सम्बन्धमा उनको उपस्थितिको विषय निरन्तर उठिरहने सम्भावना हुन्छ । तर उनी स्वदेश फर्किएमा दुई देशबीचको सम्बन्धलाई अन्य आर्थिक, व्यापारिक, सुरक्षा र क्षेत्रीय मुद्दामा केन्द्रित गर्न भारतलाई सहज हुन सक्छ ।
अवामी लीगलाई पुनर्जीवित गर्ने प्रयास
हसिनाको स्वदेश फिर्तीको अर्को प्रमुख कारण उनको पार्टी अवामी लीगसँग जोडिएको देखिन्छ । सत्ता परिवर्तन पछि पार्टीका धेरै नेता तथा कार्यकर्ता देश छाड्न बाध्य भएका छन् भने पार्टीको संगठनात्मक संरचना पनि कमजोर बनेको छ ।
भारतमा बसेर मात्र अवामी लीगलाई पुन: बाङ्ग्लादेशको राजनीतिमा प्रभावशाली शक्तिका रूपमा स्थापित गर्न कठिन हुने हसिनाको बुझाइ हुन सक्छ । त्यसैले देश फर्किने घोषणा गरेर उनले आफ्ना समर्थक र कार्यकर्तालाई राजनीतिक रूपमा सक्रिय हुन सन्देश दिन खोजेको विश्लेषण भइरहेको छ ।
बीबीसीसँग कुराकानी गरेका बाङ्ग्लादेश मामिलाका जानकारहरूले हसिनाको घोषणालाई अवामी लीगको राजनीतिक भविष्यसँग जोडेर हेरेका छन् । उनीहरूको विश्लेषणमा हसिना आफैँ बाङ्ग्लादेशको राजनीतिक मैदानमा उपस्थित नभएसम्म पार्टीलाई पुन: संगठित गर्न कठिन हुन सक्छ ।

भारत–बाङ्ग्लादेश सम्बन्धमा नयाँ अध्याय ?
हसिना स्वदेश फर्किइन् भने भारत र बाङ्ग्लादेशबीचको सम्बन्धमा तत्कालै ठूलो परिवर्तन हुन्छ भन्ने निश्चित छैन । तर उनको भारत बसाइका कारण उत्पन्न भइरहेको एउटा प्रमुख विवाद भने हट्न सक्छ ।
त्यसपछि भारतले बाङ्ग्लादेशसँग सीमा सुरक्षा, व्यापार, ऊर्जा, कनेक्टिभिटी र क्षेत्रीय सहकार्यका विषयमा सम्बन्ध सुधार गर्न थप ध्यान दिन सक्ने अवस्था बन्न सक्छ। भारतका लागि अर्को सम्भावित फाइदा राजनीतिक पनि हुन सक्छ । हसिना बाङ्ग्लादेशमै रहेर आफ्नो कानुनी र राजनीतिक संघर्ष अघि बढाउँदा त्यसको जिम्मेवारी भारतमाथि प्रत्यक्ष रूपमा पर्ने सम्भावना कम हुन्छ । दिल्लीले यसलाई बाङ्ग्लादेशको आन्तरिक राजनीतिक प्रक्रिया भन्दै आफूलाई अलग राख्न सक्छ । तर जोखिम पनि कम छैन ।
हसिना बाङ्ग्लादेश फर्किएपछि राजनीतिक तनाव बढ्ने जोखिम भने कायमै छ । उनका समर्थक र विरोधीबीच पुन: सडक संघर्ष सुरु हुन सक्ने तथा अवामी लीगको पुन: सक्रियताले राजनीतिक ध्रुवीकरण तीव्र हुन सक्ने सम्भावना छ । त्यसैले भारतका लागि हसिनाको फिर्ती पूर्ण रूपमा फाइदाजनक मात्र हुन्छ भन्न सकिँदैन ।
यदि उनको फिर्तीले बाङ्ग्लादेशमा ठूलो राजनीतिक अस्थिरता निम्त्यायो भने त्यसको प्रत्यक्ष असर भारतको सुरक्षा र क्षेत्रीय हितमा पनि पर्न सक्छ । यही कारणले भारतले हसिनाको फिर्तीबारे सार्वजनिक रूपमा स्पष्ट समर्थन वा विरोध नगरी सावधानीपूर्वक आफ्नो धारणा राख्दै आएको देखिन्छ ।
हसिनाको घोषणा रणनीतिक सन्देश पनि हुन सक्छ
हसिनाले डिसेम्बरमा फर्किने घोषणा गर्नुको उद्देश्य व्यक्तिगत रूपमा देश फर्किनु मात्र नभई बाङ्ग्लादेशको राजनीतिक परिस्थितिमा दबाब सिर्जना गर्नु पनि हुन सक्ने विश्लेषण छ ।
उनले आफू फर्किएर अदालतमा आत्मसमर्पण गर्ने बताउनुको अर्थ आफू कानुनी प्रक्रियाबाट भाग्न नचाहेको सन्देश दिनु पनि हुन सक्छ । साथै यसले अन्तर्राष्ट्रिय समुदायको ध्यान बाङ्ग्लादेशको न्यायिक तथा राजनीतिक अवस्थातर्फ आकर्षित गर्ने प्रयासका रूपमा समेत काम गर्न सक्छ ।
स्वदेश फर्किने हसिनाको घोषणाले अवामी लीगको पुनरागमनको सम्भावना बढाएको छ भने भारतका लागि पनि बाङ्ग्लादेशसँगको बिग्रिएको सम्बन्ध सुधार्ने नयाँ बाटो खुल्न सक्ने विश्लेषण
यदि उनी तत्काल फर्किन सक्ने अवस्था बनेन भने पनि उनको घोषणाले भारतलाई प्रत्यक्ष रूपमा अप्ठ्यारो पार्ने सम्भावना कम देखिन्छ । भारतले हसिनाको निर्णय व्यक्तिगत भएको बताउन सक्नेछ ।
यस अर्थमा हसिनाको स्वदेश फिर्तीको घोषणाले उनलाई, उनको पार्टीलाई र भारतलाई फरक–फरक राजनीतिक लाभ लिन सक्ने ठाउँ दिएको देखिन्छ । हसिना डिसेम्बरमै ढाका फर्किन्छिन् कि भारतमै बसिरहन्छिन् भन्ने कुरा बाङ्ग्लादेशको राजनीतिक र कानुनी परिस्थितिले निर्धारण गर्नेछ । तर उनको पछिल्लो घोषणाले भने बाङ्ग्लादेशको राजनीतिमा अवामी लीगको भविष्य र भारतको भूमिका दुवैलाई फेरि केन्द्रमा ल्याइदिएको छ ।