काठमाडौं । ललितपुरको हात्तिवनस्थित लिटिल एन्जल्स स्कुलले आइविबी किड्स कप २०२६ को उपाधि जितेको छ । आइतबार सम्पन्न फाइनलमा काष्ठमण्डप विद्यालयलाई ३–२ ले पराजित गर्दै लिटिल एन्जल्स पहिलो संस्करणको च्याम्पियन बनेको हो ।
आइविबी नेपालको आयोजनामा सम्पन्न प्रतियोगितामा १० वर्षमुनिका बाल फुटबल खेलाडीले आ–आफ्ना विद्यालयको प्रतिनिधित्व गरेका थिए ।
फिफा विश्वकपको अवधारणाबाट प्रेरित प्रतियोगितामा लिटिल एन्जल्स र काष्ठमण्डपसँगै ज्ञानोदय बालबाटिका स्कुल, डीएभी स्कुल, दरबार हाई स्कुल, प्राइम ग्लोबल स्कुल र क्याम्पियन स्कुललगायत आठ विद्यालयले आठ फरक देशको प्रतिनिधित्व गर्दै प्रतिस्पर्धा गरेका थिए ।
यस अवधारणाले बाल खेलाडीहरूलाई प्रतिस्पर्धा, टिमवर्क, खेल भावना र उत्साहले भरिएको सानो विश्वकपको अनुभव प्रदान गरेको आयोजकको विश्वास छ ।
प्रतियोगितामा विधागततर्फ उत्कृष्ट हुनेलाई पनि पुरस्किृत गरिएको थियो । विजेता टोलीका आशुतोष पाण्डेले मस्ट भ्यालुवेबल प्लेयर (एमभिपी)को पुरस्कार जिते । उपविजेता काष्ठमण्डपका सम्राट विक्रम शाहले उत्कृष्ट गोलकिपर घोषित भए ।
विजेता टोलीलाई प्रमुख अतिथि नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ)का अध्यक्ष निरञ्जन अधिकारीले ट्रफी प्रदान गरेका थिए । त्यसैगरी, विधागततर्फ उत्कृष्ट हुनेले एनएसजेएफकै प्रथम उपाध्यक्ष प्रज्वल ओलीले पुरस्कार ग्रहण गरे ।
समापन समारोहलाई सम्बोधन गर्दै निरञ्जन अधिकारीले प्रतियोगिता र यसको अवधारणाकोे प्रशंसा गर्दै बालबालिका तथा ग्रासरुट खेलकुदमा लगानीको महत्वलाई प्रकाश पारे ।
‘नेपाल जस्तो देशका लागि यस किसिमका कार्यक्रम अत्यावश्यक छन् । यस्ता कार्यक्रमहरु भनेको नेपाली फुटबलको भविष्यको तयारी पनि हो,’ अधिकारीले भने, ‘फरक किसिमको अवधारणाका लागि आइविबी नेपाललाई धन्यवाद पनि दिन चाहन्छु ।’
अधिकारीले प्रतियोगितामा सहभागी टोलीले देखाएको उर्जा र प्रदर्शनको प्रशंसा गरे । खेलाडीहरूले प्रतियोगिताभर देखाएको उत्साह, प्रतिभा र प्रतिस्पर्धात्मक भावना साँचिक्कै प्रशंसनीय रहेको अधिकारीको तर्क थियो ।
आइविबी किड्स कप २०२६ को औपचारिक सुरुआत ९ जुलाई २०२६ मा भएको थियो । उद्घाटन समारोहमा प्रख्यात हवाई उड्डयनकर्मी तथा सेलिब्रिटी क्याप्टेन विजय लामाले प्रमुख अतिथिका रुपमा सहभागिता जनाएका थिए ।
उद्घाटन समारोहमा लामाले पनि खेलाडीको उत्साह र खेल भावनाको प्रशंसा गरेका थिए ।
‘यो एक अद्भुत कार्यक्रम हो । यी प्रतिभाशाली बालबालिकाले देखाएको खेल भावना देखेर म अत्यन्त प्रभावित भएको छु । उनीहरू हाम्रो भविष्य हुन् र एक दिन उनीहरूलाई फिफा विश्वकपमा खेलिरहेको देख्न पाउने आशा राखेको छु,’ लामाले भने ।