काठमाडौं । अर्थमन्त्री जनार्दन शर्मा ‘प्रभाकर’ले पेट्रोलियम पदार्थ, सवारी साधन र विलासिताका वस्तुको उच्च आयातका कारण विदेशी विनिमय सञ्चितीमा दबाब परेको बताएका छन् ।
आयात नियन्त्रणका लागि आन्तरिक उत्पादनलाई प्रवर्द्धन गर्नुपर्ने, उपलब्ध स्रोत साधनलाई उत्पादन अभिवृद्धि र रोजगारी सृजनामा उपयोग गर्नुपर्ने उनको भनाइ छ । आज शुक्रबार राष्ट्र बैंकले काठमाडौंमा आयोजना गरेको ‘अर्थशास्त्र र वित्तसम्बन्धी राष्ट्रिय सम्मेलन’लाई सम्बोधन गर्दै उनले अर्थतन्त्रको स्थायित्वका लागि गहन अध्ययन तथा अनुसन्धान गर्न नेपाल राष्ट्र बैंकलाई निर्देशन पनि दिएका छन् ।
वित्तीय र बाह्य क्षेत्रको स्थायित्व नै अहिलेको प्रमुख जिम्मेवारी रहेको उल्लेख गर्दै अर्थमन्त्री शर्माले राष्ट्र बैंकलाई सो निर्देशन दिएका हुन् । ‘राष्ट्र बैंक वित्तीय क्षेत्रको नियमनकारी निकाय मात्र होइन, आर्थिक अनुसन्धानको केन्द्र पनि हो । अर्थतन्त्रका विद्यमान समस्याको पहिचान गर्दै सबल अर्थतन्त्रको निम्ति आवश्यक पर्ने नीतिगत सुझावहरू बैंकबाट नियमित प्राप्त हुने मेरो अपेक्षा छ,’ मन्त्री शर्माले भने ।
नेपालसँग हाल रहेको विदेशी विनिमय सञ्चितिको परिमाणलाई घट्न नदिनेतर्फ सरोकारवाला पक्षहरू प्रयत्नशील हुनुपर्ने आवश्यकता मन्त्री शर्माले औँल्याएका छन् । बाह्य क्षेत्र स्थायित्वको निम्ति विप्रेषणमा मात्रै निर्भर नभई पर्यटन, वैदेशिक लगानी र स्वदेशी उत्पादनलाई प्रवद्र्धन गर्नुपर्ने धारणा उनको छ ।
FACEBOOK COMMENTS