काठमाडौं । वैशाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचनबाट रुकुम पश्चिममा निर्वाचित जनप्रतिनिधिहरुसँग अर्थमन्त्री जनार्दन शर्मा ‘प्रभाकर’ले अन्तरक्रिया गरेका छन् ।
मन्त्री शर्माले आफ्नो गृहजिल्लाका नवनिर्वाचित जनप्रतिनिधिसँग आज शुक्रबार बिहान अर्थमन्त्रालयमा भेट गरी अन्तरक्रिया गरेका हुन् । सो अन्तरक्रियामा रुकुम पश्चिमका नगरपालिका प्रमुख÷उप्रमुख, गाउँपालिका अध्यक्ष÷उपाध्यक्ष, वडाध्यक्ष, वडासदस्यलगायतको उपस्थिति थियो ।
जनप्रतिनिधिहरुलाई सम्बोधन गर्दै अर्थमन्त्री शर्माले पालिका भित्रका स्थानीयलाई ठूला कामको सपना नदेखाउन आग्रह गरे । ‘तपाईहरुले स्थानीय जनतालाई ठूला काम गर्ने भनेर सपना नबाँड्नुस् । त्यस्ता काम गर्नेतिर पनि नलाग्नुस्,’ उनले भने, ‘स्थानीय जनतालाई स–साना काम गरेरै खुसी बनाउनुस् । स्थानीयको दैनिकीसँग जोडिएको आवश्यकताहरु पूरा गरेर सबैको मन जित्ने काम गर्नुस् ।’
उनले स्थानीयको आवश्यकताका आधारमा पहिचान भएका ठूला परियोजना प्रदेश र संघले बनाउने पनि जानकारी दिए । पालिका तथा वडा कार्यालय आउने स्थानीयलाई कामको सहजीकरण गर्न छुट्टै कर्मचारीको व्यवस्था गर्न पनि उनले निर्देशन दिएका छन् । ‘कार्यालयमा सेवाग्राही आउनासाथ नमस्ते गर्दै स्वागत गर्न एउटा कर्मचारी राख्नुस् । ती कर्मचारीलाई सेवाग्राही के कामका लागि आएको हो, त्यो काम तुरुन्त गराउन सहजीकरण गर्न लगाउनुस् । तपाइृहरु (जनप्रनिधि) पनि नमस्ते खाएर बस्ने होइन, विकास निर्माणको कामको निरन्तर अनुगमन गर्नुस् ।’
FACEBOOK COMMENTS