काठमाडौं । कान्तिपुर सिटी कलेज (केसीसी) ले एक वर्षे एसडीजी एम्बेसडर कार्यक्रम पूरा गरेका २६ विद्यार्थीलाई सम्मान गर्दै ‘एसडीजी एम्बेसडर ग्राजुएसन कार्यक्रम–ब्याच ३’ आयोजना गरेको छ ।
शुक्रबार काठमाडौंको त्रिपुरा मार्गस्थित बोगेनभिल्ला इभेन्ट्समा आयोजित कार्यक्रममा विद्यार्थीलाई प्रमाणपत्र तथा विभिन्न पुरस्कार प्रदान गरिएको हो । एसडीएसएन क्लबको आयोजनामा कान्तिपुर सिटी कलेज र कल्प एकेडेमीको सहकार्यमा कार्यक्रम भएको हो ।
कार्यक्रमका प्रमुख अतिथि पूर्वाञ्चल विश्वविद्यालयका उपकुलपति प्रा. डा. सुजनबाबु मरहट्टाले युवा नेतृत्व, शिक्षा र दिगो विकासको प्रवद्र्धनमा युवाको महत्वपूर्ण भूमिका रहेको बताए । इदिगो विकासका लक्ष्य हासिल गर्न युवाको ज्ञान, सीप र सक्रिय सहभागिता आवश्यक रहेको उनको भनाइ थियो ।
उनले ‘ग्राजुएसन सिकाइको अन्त्य नभई अझ ठूला अवसरको सुरुवात’ भएको बताए । विद्यार्थीले कार्यक्रममा हासिल गरेको ज्ञान, सीप र अनुभवलाई आगामी दिनमा समाज र दिगो विकासका क्षेत्रमा प्रयोग गर्नुपर्नेमा उनले जोड दिए ।
विशेष अतिथि तथा केसीसीका आमसञ्चार तथा पत्रकारिता विभागीय प्रमुख प्रा. रामकृष्ण रेग्मीले ग्राजुएसन कार्यक्रमले विद्यार्थीलाई नेतृत्व विकाससँगै दिगो विकासका क्षेत्रमा काम गर्ने अवसर पहिचान गर्न प्रेरित गरेको बताए । एसडीजी कार्यक्रममार्फत विद्यार्थीले समाजलाई केवल अध्ययन गर्ने नभई बुझ्ने र सामाजिक समस्यासँग जोडिएर काम गर्ने अवसर पाएको उनले बताए ।

केसीसीका प्रिन्सिपल राजु कट्टेलले कक्षाकोठामा हासिल गरेको ज्ञानलाई सामाजिक तथा वातावरणीय क्षेत्रमा प्रयोग गर्न यस्ता कार्यक्रमले विद्यार्थीलाई अवसर प्रदान गर्ने बताए । उनले युवाको सिर्जनशीलता, नेतृत्व क्षमता र सामाजिक उत्तरदायित्वलाई व्यवहारमा उतार्न एसडीजी एम्बेसडर कार्यक्रम उपयोगी रहेको बताए ।

एसडीजी एम्बेसडर कार्यक्रमका निर्देशक ई.रवि खनालले दिगो, समावेशी र समृद्ध भविष्य निर्माणका लागि सबै पक्ष मिलेर निरन्तर अघि बढ्नुपर्ने बताए । उनले दिगो विकासका लक्ष्य प्राप्तिका लागि युवा सहभागिता र सहकार्यलाई प्राथमिकता दिनुपर्नेमा जोड दिए ।
केसीसीका इन्जिनियरिङ विभागीय प्रमुख डा. दीपकविक्रम थापाले कलेजमा एसडीजीसम्बन्धी इकोसिस्टम विकास हुँदै गएको बताए । उनले दिगो विकासका गतिविधिलाई निरन्तरता दिनुपर्ने आवश्यकता औंल्याए ।
लैङ्गिक तथा सामाजिक समावेशीकरण विज्ञ सम्झना वाग्ले भट्टराईले हरेक काम गर्दा ‘हामीले समाजलाई के दिन सक्छौं’ भन्ने विषयमा सोच्नुपर्ने बताइन् । सामाजिक उत्तरदायित्व र समावेशितालाई व्यवहारमा उतार्नुपर्नेमा उनले जोड दिइन् ।
काठमाडौंस्थित फ्रेन्च एम्बेसीका प्रशासन प्रमुख स्टानिस्लास लाजुजीले सफलताको वास्तविक आधार चेतनाको गुणस्तर रहेको बताए । त्यस्तै, काठमाडौं विश्वविद्यालयका डा.विनायककृष्ण थापाले केसीसीले युवालाई सशक्तीकरण र नेतृत्व विकासतर्फ अघि बढ्ने मार्ग प्रदान गरेको बताए ।
त्यसैगरी नेपाल ग्रामीण पुनर्निर्माण संस्थाका अध्यक्ष रत्न कार्कीले युवाले देशमै नवपर्वतनको अवसर खोज्नुपर्ने र समाजलाई उत्पादनशिलतासँग जोड्नुपर्ने बताए ।
कार्यक्रममा शिक्षाविद्, विकास क्षेत्रका विज्ञ, व्यावसायिक क्षेत्रका प्रतिनिधि तथा युवा नेतृत्वमा सक्रिय विभिन्न संस्थाका प्रतिनिधिको सहभागिता थियो । युरोपियन कमिसनका सिनियर प्रोग्राम म्यानेजर मिम हमाल, फ्रेन्च एम्बेसीका प्रशासन प्रमुख स्टानिस्लास लाजुजी तथा डीजी फाउन्डेसनका कन्ट्री डाइरेक्टर राकेश कर्णलगायत सहभागी थियो । साथै एफएनसीसीआई, एनजीसीसीआई, ग्रामीण पुनर्निर्माण नेपाल, काठमाडौं विश्वविद्यालय, प्राक्टिकल एक्सन/ग्लोबल भ्वाइस, जेसीवाइसीएन तथा एनवाईसीएलगायत संस्थासँग आबद्ध प्रतिनिधिको पनि कार्यक्रममा उपस्थिति थियो ।
कार्यक्रममा युवा सहभागिता, दिगो विकास, अन्तरक्षेत्रीय सहकार्य तथा सामाजिक र वातावरणीय चुनौती समाधानका व्यावहारिक उपायबारे छलफल गरिएको थियो । प्यानल छलफलमा दिगो विकास र युवा नेतृत्वका चुनौती तथा अवसरबारे विज्ञहरूले धारणा राखेका थिए ।
‘सक्सेस स्टोरी’ सत्रमा सहभागी विद्यार्थीले एक वर्षको अवधिमा सञ्चालन गरेका परियोजना, प्राप्त अनुभव तथा सिकाइ प्रस्तुत गरेका थिए । उनीहरूले दिगो विकासका विभिन्न लक्ष्यसँग सम्बन्धित आफ्ना गतिविधि तथा योगदानबारे जानकारी गराएका थिए । सहभागी विद्यार्थी र विज्ञबीच अन्तरक्रिया तथा सञ्जाल विस्तारको अवसरसमेत प्रदान गरिएको थियो ।
कार्यक्रममा क्यानडा तथा अमेरिकाका विश्वविद्यालयका प्रोफेसर जेनेट स्यान्डर्स, रोबर्टसन वर्क र डा. रिता ढुंगेमलले भिडियो सन्देशमार्फत एसडीजी एम्बेसडर कार्यक्रम पूरा गरेका विद्यार्थीलाई बधाई दिएका थिए ।
कार्यक्रममा प्यानल छलफल, सांस्कृतिक प्रस्तुति, ‘सक्सेस स्टोरी’ तथा विद्यार्थी सम्मान समारोह आयोजना गरिएको थियो । एसडीजी एम्बेसडर कार्यक्रम केसीसीको एसडीएसएन क्लबमार्फत सञ्चालन हुँदै आएको प्रमुख कार्यक्रम हो । यसले विद्यार्थीलाई संयुक्त राष्ट्रसंघका दिगो विकास लक्ष्य (एसडीजी) सम्बन्धी ज्ञान, गतिविधि तथा व्यावहारिक सिकाइमा सहभागी गराउँदै आएको कलेजले जनाएको छ ।
एक वर्षे कार्यक्रममा सहभागी विद्यार्थीले दिगो विकास, सामाजिक उत्तरदायित्व तथा युवा नेतृत्वका विषयमा ज्ञान र व्यावहारिक अनुभव हासिल गरेका थिए । ‘एसडीजी एम्बेसडर ग्राजुएसन कार्यक्रम–ब्याच ३’ मार्फत तेस्रो ब्याचको एक वर्षे यात्रा औपचारिक रूपमा पूरा भएको घोषणा गरिएको छ ।