दुई अन्तर्राष्ट्रिय विमानस्थल प्रभावकारी रुपमा सञ्चालन गर्न प्रधानमन्त्रीको निर्देशन
कर्पोरट खबर
7:34 pm, शुक्रबार, साउन १८, २०८१
काठमार्डौ । प्रधानमन्त्री केपी शर्मा ओलीले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल र भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल पूर्ण क्षमतामा सञ्चालन गर्नेबारे उच्चस्तरीय छलफल गरेका छन् ।
आज प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा भएको छलफलमा प्रधानमन्त्रीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको हालको उडान चाप तथा यात्रु व्यवस्थापनलाई ध्यान दिई दुवै अन्तर्राष्ट्रिय विमानस्थल पूर्ण क्षमतामा सञ्चालनका विकल्प र उपायबारे छलफल गरे ।
छलफलमा प्रधानमन्त्री ओलीले दुई विमानस्थलबाट नियमित अन्तर्राष्ट्रिय उडान सञ्चालनको वातावरण निर्माण गर्न निर्देशन दिए । उनले ती दुई विमानस्थलमा अन्तर्राष्ट्रिय उडानका लागि चासो देखाएका अन्तर्राष्ट्रिय एयरलाइन्सको उडानसम्बन्धी विषयलाई नियामक निकायले चाँडो टुङ्ग्याएको खण्डमा सरकारले तालिकामा राखेर अगाडि बढाउने विश्वास व्यक्त गरे ।
प्रधानमन्त्री ओलीले निर्माण भएको लामो समयसम्म दुई अन्तर्राष्ट्रिय विमानस्थल पूर्ण क्षमतामा सञ्चालन नभएर घाटा बेहोर्नु परेको तथा काठमाडौँ विमानस्थलको क्षमताभन्दा बढी उडान र यात्रु व्यवस्थापन गर्नुपर्ने बाध्यता रहेकाले यसलाई गम्भीर रुपमा लिन आग्रह गरे ।
छलफलमा प्राधिकरणका पदाधिकारीबाट विमानस्थल सञ्चालनमा भइरहेका समस्या, भइरहेको कामलगायत विभिन्न पक्षमा भइरहेको तयारीबारे ब्रिफिङ गरिएको थियो । प्रधानमन्त्री ओलीले दुवै विमानस्थल प्रभावकारी सञ्चालनका लागि अध्यागमन लगायत अन्य सुविधा लैजाने, इन्धन भण्डार विमानस्थल नजिक भए अन्यत्र सार्नेलगायतमा मन्त्रिपरिषद्बाट निर्णय गर्नुपर्ने अवस्था भए योजना पेश गर्न निर्देशन दिए ।
उनले हवाई इन्धनको मूल्य बढेको भए घटाउन, ग्राउण्ड ह्याण्डलिङ सेवा नियमअनुसार जुन निकायले पाउनुपर्ने हो सोहीअनुरुप हुनुपर्ने बताए । यात्रु सेवा शुल्कमा कर लागेको घए घटाउने, पर्यटन कर नराख्नेलगायत विषयमा सम्बन्धित मन्त्रालय र निकायबाट गर्नुपर्ने भए गर्दै गर्ने, मन्त्रिपरिषद्बाट निर्णय गर्नुपर्ने भए मन्त्रिपरिषद्को आगामी बिहिबार बस्ने बैठकमा योजना ल्याउन आग्रह गरे ।
FACEBOOK COMMENTS