काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले कृषिका धेरै क्षेत्रमा सरकारले अनुदान बापत ठूलो रकम खर्च गरिरहे पनि उत्पादन वृद्धि हुन नसकेको बताएका छन् ।
संघको २४ औं साधारण सभामा उनले यस्तो बताएका हुन् ।
मन्त्री भण्डारीले रासायनिक मलमा मात्र सरकारले वार्षिक ३८ अर्ब अनुदान दिएको भन्दै उत्पादन किन घट्यो भन्ने विषयमा गम्भीर समीक्षा गर्न आवश्यक रहेको बताए ।
‘सरकारले मल, बीउ, सिंचाइ केहीमा अनुदान नदिएको समयमा अहिले भन्दा बढी कृषि उत्पादन थियो । तर जति अनुदान रकम बढेको छ, त्यति नै उत्पादन घट्दै गएको छ’ उनले भने, ‘यसबारेमा गम्भीर समीक्षा आवश्यक छ।’
सभामा नेपाल मैदा उद्योग संघका अध्यक्ष कुमुद दुगडले समुद्रपारबाट गहुँ ल्याउँदा दोब्बर महसुल तिरेको बताएका छन् । उनले यस्ता उद्योगले स्थानीय बजार र भारतबाट गहुँ खरिद गर्ने उद्योगसँग प्रतिस्पर्धा गर्न नसक्ने बताए ।
गहुँ आयातमा लगाइएको साढे २ प्रतिशत अग्रिम आयकर गैरकानुनी भएको दुगडको दाबी छ ।
संसारभरि नै यसरी अग्रिम रूपमा तिरिएको करलाई कारोबार भइसकेपछि समायोजन गर्न पाउने व्यवस्था रहेको उनको भनाइ छ । तर गहुँमा तिरिएको अग्रिम आयकर समायोजन नहुँने र यसबाट कर प्रणालीको विश्वव्यापी मान्यताको उल्लंघन भएको उनको भनाइ छ ।
उद्योगीहरुले नेपालबाट चीनमा चक्की आँटा र मैदा निर्यात गर्न थालेका छन् । नेपालबाट हुने आँटा र मैदाको निर्यातमा चीन सरकारले २ प्रकारको महसुल लगाएको छ। त्यहाँका ठूला आयातकर्तालाई २० र सानालाई ६५ प्रतिशत महसुल छ ।
FACEBOOK COMMENTS