काठमाडौं । नेपाल क्लियरिङ हाउस (एनसीएचएल) ले आफ्ना विभिन्न १० वटा प्रडक्टमार्फत प्रविधिमा आधारित बैंकिङ र वित्तीय सुविधा प्रदान गर्दै आएको छ ।
बैंक तथा वित्तीय संस्थाहरूको दक्षता र उत्पादकत्व सुधार गर्न र उनीहरूका ग्राहकहरूलाई नवीन वित्तीय सुविधाहरू प्रदान गर्ने मुख्य उद्देश्य राखेको र विभिन्न १० वटा प्रडक्टमार्फत यससम्बन्धी सुविधा प्रदान गर्दै आएको कम्पनीले जनाएको छ । नेपालमा विभिन्न भुक्तानी प्रणालीहरूका साथै क्लियरिङ र सेटलमेन्ट प्रणाली स्थापना गर्दै अघि बढ्ने रणनीति कम्पनीले बनाएको बताइएको छ ।
कम्पनीकी प्रमुख सञ्चालक अधिकृत तथा सूचना अधिकारी मुन्नी राजभण्डारीका अनुसार कम्पनीले इलेक्ट्रोनिक चेक क्लियरिङ (एनसीएचएल–ईसीसी), अन्तरबैंक भुक्तानी प्रणाली (एनसीएचएल–आईपीएस), रिटेल पेमेन्ट स्विच (आरपीएस), कनेक्ट आईपीएस, नेशनल पेमेन्ट्स इन्टरफेस (एनपीआई), कर्पोरेट–पे, कनेक्ट आरटीजीएस, नेपाल–पे क्यूआर, ईएफटी कार्ड सर्भिसेस र नेशनल अर्काइभ सिस्टममार्फत मुलुकमा नवीन वित्तीय सुविधाहरू प्रदान गर्दै आइरहेको छ ।
एनसीएचएलका प्रडक्टहरू के हो र कसरी काम गर्छ ?
१. इलेक्ट्रोनिक चेक क्लियरिङ (एनसीएचएल–ईसीसी)
इलेक्ट्रोनिक चेक क्लियरिङ्ग (एनसीएचएल–ईसीसी) तस्बिरमा आधारित, कम लागतको प्रभावकारी (म्याग्नेटिक इङ्क चार्टर रिकग्नेशन–एमआईसीआर) चेक प्रोसेस र सेटलमेन्ट गर्ने एउटा माध्यम हो । जसमा सक्कल कागजी चेकलाई चेक प्रिजेन्ट गर्ने बैंकले तस्बिरमा रूपान्तरण गरी भुक्तानी गर्ने बैंकलाई यस प्रणालीमार्फत पठाउने गर्दछ ।
पहिलेको म्यानुअल प्रक्रियालाई विस्थापित गर्दै यसमा सक्कल चेक भुक्तानी गर्ने बैंकसम्म म्यानुअल्ली नपठाई प्रिजेन्ट गर्ने बैंकमा नै बस्ने र भुक्तानी गर्ने बैंकले इमेजको आधारमा रेस्पोन्स गर्ने व्यवस्था रहेको छ जसले गर्दा चेक क्लियरिङ्गको प्रक्रिया छिटो र सजिलो भएको छ ।
बैंक वित्तीय संस्थाका ग्राहकहरूले आफूसँग रहेको बैंकको चेक आफ्नो खातामा जम्मा गराउन आफ्नो बैंक खाता रहेको नजिकको शाखामा गई एनसीएचएल–ईसीसीको सुविधा प्राप्त गर्न सक्ने छन् ।
२. अन्तरबैंक भुक्तानी प्रणाली (एनसीएलएल–आईपीएस)
एनसीएलएल–आईपीएस एक अन्तरबैंक फण्ड ट्रान्सफर प्रणाली हो जसमा सदस्य बैंक/वित्तीय संस्थाहरूबाट बल्क कारोबारहरू एकैसाथ वा एक/एक गरेर कारोबार गर्न सकिन्छ । यसमा खाताबाट खातामा भुक्तानी (डाइरेक्ट क्रेडिट) र सङ्कलन (डाइरेक्ट डेबिट) सम्बन्धित कारोबारहरू सहज रूपमा नै गर्न सकिन्छ ।
३. रिटेल पेमेन्ट स्विच (आरपीएस)
नेशनल पेमेन्ट स्विच (आरपीएस) नेपालभित्र कार्ड र गैरकार्डमा आधारित भुक्तानीहरूको अन्तरसञ्चालन सुनिश्चित गर्न खुद्रा लेनदेनको रूटिङ र सेटलमेन्टको लागि मुख्य पूर्वाधार हो । यसमा रिटेल (गैर–कार्ड) आधारित कारोबार र खुद्रा उपकरणहरू ह्यान्डल गर्नका लागि खुद्रा भुक्तानी स्विच (आरपीएस) समावेश छ, जबकी राष्ट्रिय कार्ड स्विच (एनसीएस) मा कार्ड स्विच र घरेलु कार्ड योजना समावेश छ ।
४. कनेक्ट आईपीएस
कनेक्ट आईपीएस रियल टाइममा रिटेल पेमेन्टको लागि मानकीकृत एकल भुक्तानी प्लेटफर्मको रूपमा लागू गरिएको छिटो भुक्तानी गर्न सक्ने प्रणाली हो । यसले सदस्य बैंकहरू र वित्तीय संस्थाहरूका ग्राहकहरूको लागि कारोबार सुरु गर्न र प्रशोधन गर्न वेब पोर्टल, मोबाइल अनुप्रयोगहरू, भुक्तानी गेटवे र ओपन एपीआईहरू लगायत धेरै माध्यमहरू प्रदान गर्दछ ।
ग्राहकहरूले कनेक्ट आईपीएसभित्र धेरै बैंक खाताहरू लिङ्क गर्न सकिन्छ र त्यसपछि फण्ड ट्रान्सफर वा सेवा भुक्तानीका लागि त्यो खाताहरू प्रयोग गर्न सकिने छ । कनेक्ट आईपीएसको पेमेन्ट गेटवेलाई एक प्रमुख ई–कमर्स पोर्टलको रूपमा स्वीकार गरिएको छ, साथै कनेक्ट आईपीएसको ‘एपीआई’ फण्ड ट्रान्सफर, क्यास–इन, वा क्यास–आउटको लागि ‘पीएसपी’हरू को वालेटमा र अधिकाङ्श ‘बीएफआई’हरूको मोबाइल बैंकिङमा उपलब्ध छ ।
५. नेशनल पेमेन्ट्स इन्टरफेस (एनपीआई)
ओपन एपीआई प्लेटफर्मको अवधारणामा कन्सोलीडेटेड एपीआई–एसको रूपमा नेशनल पेमेन्टस् इन्टरफेस (एनपीआई) सञ्चालनमा आएको हो । जसले एनसीएचएलले होस्ट गरेका विभिन्न प्रणालीहरू तथा एनसीएचएलसँग आबद्ध अन्य संस्थाहरूद्वारा होस्ट गरिएको भुक्तानी प्रणालीहरू र सेवाहरू उपलब्ध गराउँदै आएको छ ।
हाल यस प्लेटफर्ममार्फत् एनसीएचएल–आईपीएस प्रणाली र आरपीएस प्रणालीमार्फत् विभिन्न सेवाहरूमा पहुँच प्रदान भएको छ । यसले मुख्य रूपमा सहभागीहरूलाई एक आपसमा जोड्न र अन्तरआबद्ध भई आरपीएसमार्फत् रियल टाइममा र एनसीएचएल–आईपीएसमार्फत् ‘डिफ्रेड क्रेडिट’ भुक्तानीहरू विभिन्न उपकरणहरूमा र युजकेसहरूको परिचालन गर्ने कार्य भईरहेको कम्पनीले बताएको छ ।
६. कर्पोरेट–पे
कर्पोरेट–पे प्रणाली एक व्यापारिक भुक्तानी प्लेटफर्म हो जसले सदस्य बैंक तथा वित्तीय संस्थाहरूका कर्पोरेट र व्यापारिक ग्राहकहरूलाई सदस्य बैंकहरूमा राखिएका कुनै पनि खाताहरूबाट डिजिटल भुक्तानीहरू सुरु गर्न अनुमति दिन्छ ।
७. कनेक्ट आरटीजीएस
रियल टाइम ग्रस सेटलमेन्ट (आरटीजीएस) प्रणालीमार्फत सदस्य बैंक/वित्तीय संस्थाहरूले हाई भ्यालुका कारोबारका साथै प्रणालीगत रूपमा महत्वपूर्ण भएका तत्काल भुक्तानी गर्नुपर्ने कारोबारको प्रोसेसिङ नेट सेटलमेन्टका आधारमा हुन्छ । यसबाट तुरुन्तै फण्ड ट्रान्सफर हुने भएकाले अन्य भुक्तानी प्रणालीहरूको सेटलमेन्ट जोखिमलाई न्यूनीकरण गर्न सहज हुन्छ । आरटीजीएस प्रणाली नेपाल राष्ट्र बैंकद्वारा कार्यान्वयन र होस्टिङ गरिएको छ ।
८. नेपाल–पे क्यूआर
नेपाल राष्ट्र बैंकद्वारा प्रकाशित नेपाल क्यूआर मापदण्डमा आधारित एवम् नेपाल राष्ट्र बैंकको मार्गनिर्देशनको आधारमा सञ्चालनमा आएको नेशनल पेमेन्ट स्विच (एनपीएस) को एक भागको रूपमा एनसीएचएलद्वारा नेपाल–पे क्यूआर कार्यान्वयन गरिएको छ । क्यूआर स्कीमको रूपमा समेत उपलब्ध रहेको उक्त नेपाल–पे क्यूआरमा क्यूआर बीचको अन्तरआबद्धता मर्चेन्ट लेभलमा र नेटर्वक लेभलमा कायम गर्न सक्ने व्यवस्था रहेको छ ।
९. ईएफटी कार्ड सर्भिसेस
विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय नेटवर्कमा सदस्य बैंक वित्तीय संस्थाहरूलाई सेन्ट्रल स्विचिङ्ग सोलुसनको रूपमा इसुइङ्ग तथा अक्वारिङ्गका कार्डसम्बन्धी भुक्तानीहरू प्रदान गर्ने सुविधा हो । यस सेवामार्फत एटीएम, पीओएस, ई–कमर्सलगायतका च्यानलहरूमार्फत हुने कार्डसम्बन्धी भुक्तानीहरू राउटिङ्ग हुने गर्दछन् । हाल ११ सदस्य बैंक वित्तीय संस्थाहरूमार्फत ४० लाख भन्दा बढी कार्डहरू, एक हजार ६०० वटा एटीएमहरू तथा १० हजार पीओएस मेसिनहरू सञ्चालनमा रहेको कम्पनीको दाबी छ ।
१०. नेशनल आर्काइभ सिस्टम
सदस्य बैंक तथा वित्तीय संस्थाहरूद्वारा एनसीएचएल प्रणालीहरूमार्फत प्रशोधन गरिएका पुराना कारोबार लगायतका विवरणहरूको पहुँचलाई सहजीकरण गर्नका लागि नेशनल आर्काइभ सिस्टमको सुविधा उपलब्ध गराइएको हो । नेशनल आर्काइभ सिस्टममा तीन महिना भन्दा पुरानो सबै कारोबारका विवरणहरू भण्डारण गरिएको हुन्छ । जसअनुसार यसमा विवरणहरूको अभिलेख सात वर्षसम्म भण्डारण गर्ने नीति रहेको छ । सदस्य बैंकहरूले एनसीएचएललाई सम्पर्क गरी यस्ता पुराना कारोबारका विवरणहरूमा पहुँचमा पाउन सक्ने छन् ।
यो पनि पढ्नुहोस्–
‘एनसीएचएलका कारण बैंक तथा वित्तीय संस्थाले पूर्वाधारमा ठूलो लगानी गर्न परेको छैन’
FACEBOOK COMMENTS