काठमाडौं । नेपाल अटोमोबाइल्स इम्पोर्टर्स एन्ड म्यानुफ्याक्चरर्स एसोसिएसन (नाइमा)ले आयोजना गरेको नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६ को पहिलो दिन मंगलबार २९ हजारभन्दा बढीले अवलोकन गरेका छन्।
नेपाल प्रहरी क्लबस्थित प्रदर्शनीस्थलमा आयोजित उद्घाटन कार्यक्रममा नाइमा अध्यक्ष रितु सिंह वैद्यले एक्स्पो सवारीसाधनको बिक्री तथा प्रदर्शनीमा मात्र सीमित नभई समग्र यातायात तथा गतिशीलता क्षेत्रलाई एउटै मञ्चमा जोड्ने उद्देश्यले आयोजना गरिएको बताइन्।
उनले पटक–पटक परिवर्तन हुने नीतिगत व्यवस्थाका कारण व्यवसायीमा अनिश्चितता बढेको र नयाँ लगानी भित्र्याउन समस्या भइरहेको बताउँदै निजी क्षेत्र तथा सरोकारवालासँग छलफल गरेर मात्रै नीति परिवर्तन गर्न सरकारलाई सुझाव दिइन्।
कार्यक्रममा प्रहरी महानिरीक्षक कार्कीले सवारीसाधन बिक्रीमा मात्रै केन्द्रित नभई सुरक्षा र सामाजिक उत्तरदायित्वमा पनि ध्यान दिन व्यवसायीलाई आग्रह गरे। उनले बिक्रीपछिको सेवामा विशेष ध्यान दिन सवारीसाधनका ब्रान्डलाई सुझाव दिए।
नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्जन श्रेष्ठले सरकारले अटोमोबाइल क्षेत्रलाई लामो समयदेखि राजस्व संकलनको स्रोतका रूपमा मात्रै हेर्दै आएको गुनासो गरे। उनले अटोमोबाइललाई विलासिताको वस्तुका रूपमा नभई आवश्यकताको क्षेत्रका रूपमा हेर्नुपर्ने बताए।
नेपालमा अटोमोबाइल क्षेत्रमा विश्वकै उच्चमध्ये पर्ने भन्सार दर लागू रहेको उल्लेख गर्दै उनले विद्युतीय सवारीसाधनका लागि समेत स्थिर नीति आवश्यक रहेको बताए। निजी क्षेत्र लगानीका लागि तयार रहे पनि त्यसका लागि सरकारले अनुकूल वातावरण निर्माण गर्नुपर्ने उनको भनाइ थियो।
नेपाल उद्योग परिसंघका अध्यक्ष वीरेन्द्रराज पाण्डेले अटोमोबाइल क्षेत्र सरकारलाई ठूलो राजस्व योगदान गर्ने क्षेत्रमध्ये एक भएकाले सरकारले यसलाई उच्च प्राथमिकतामा राख्नुपर्ने बताए। यातायात क्षेत्रमा हुने लगानी र यसको दिगो विकासले समग्र अर्थतन्त्रमा महत्वपूर्ण योगदान पुर्याउने उनले बताए।
नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेश अग्रवालले गतिशीलता अब यातायातमा मात्र सीमित नभई आर्थिक समृद्धिसँग प्रत्यक्ष जोडिएको विषय भएको बताए। उनका अनुसार नेपालको कुल गार्हस्थ्य उत्पादनमा गतिशीलता क्षेत्रको योगदान करिब ७ प्रतिशत रहेको छ।
उनले बैंकिङ, बिमा, पर्यटन, निर्माण र सूचना प्रविधिलगायतका क्षेत्रसँग अटोमोबाइल तथा गतिशीलता क्षेत्रको प्रत्यक्ष सम्बन्ध रहेकाले यसलाई विलासिता वा उपभोगको क्षेत्रका रूपमा मात्र हेर्न नहुने बताए।
पहिलो दिन ४८ नयाँ मोडल सार्वजनिक
एक्स्पोको पहिलो दिन विभिन्न सवारीसाधन कम्पनीले ४८ नयाँ मोडलका सवारीसाधन सार्वजनिक गरेका छन्। आयोजकका अनुसार पहिलो दिन नै २९ हजारभन्दा बढीले एक्स्पो अवलोकन गरेका छन्।
एक्स्पो अवधिभर करिब डेढ लाख दर्शकले अवलोकन गर्ने अपेक्षा आयोजकले गरेको छ।
एक्स्पोको पहिलो दिन ‘लगानी तथा वित्तीय क्षेत्रबाट आर्थिक वृद्धिमा सहयोग’ विषयमा छलफलसमेत भएको थियो। पूर्वबैंकर अनिलकेशरी शाहले सहजीकरण गरेको उक्त कार्यक्रममा नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक एवं आर्थिक अनुसन्धान विभागका प्रमुख डा. सत्येन्द्र तिमिल्सिना, डोल्मा फाउन्डेसनका अध्यक्ष टिम गोचर, नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत मनोज ज्ञवाली र नाइमा अध्यक्ष वैद्य सहभागी थिए।
उक्त छलफलमा मात्रै ३०० भन्दा बढीको सहभागिता रहेको आयोजकले जनाएको छ।
एक्स्पो अवधिभर स्वदेशी तथा विदेशी विज्ञको सहभागितामा विभिन्न विषयमा छलफल तथा अन्तरक्रिया कार्यक्रम सञ्चालन हुनेछन्। त्यस्तै, दुर्घटनापछि तत्काल स्वास्थ्य उपचार तथा उद्धारसँग सम्बन्धित विषयमा ग्रान्डी अन्तर्राष्ट्रिय अस्पतालका तर्फबाट जानकारीमूलक प्रस्तुति दिइएको थियो।
विद्युतीय सवारीसाधन मुख्य आकर्षण
नेपालमा दिगो, हरित तथा प्रविधिमैत्री यातायात प्रणाली प्रवर्धन गर्ने उद्देश्यले आयोजना गरिएको एक्स्पोको यो दोस्रो संस्करण हो। ६ दिनसम्म चल्ने एक्स्पो साउन ३१ गतेसम्म सञ्चालन हुनेछ।
एक्स्पोमा स्वदेशी तथा बहुराष्ट्रिय सवारीसाधन निर्माता र आयातकर्ताको सहभागिता रहेको छ। नेपालमा पहिलोपटक प्रवेश गरेका ब्रान्डदेखि नयाँ मोडलका विद्युतीय कार, विद्युतीय स्कुटर तथा विद्युतीय व्यावसायिक सवारीसाधन एक्स्पोका प्रमुख आकर्षण बनेका छन्।
सवारीसाधन खरिद गर्न चाहने ग्राहकलाई लक्षित गरी बैंक तथा वित्तीय संस्था र बिमा कम्पनीले विभिन्न विशेष योजना तथा सहुलियत कर्जासमेत उपलब्ध गराइरहेका छन्।