काठमाडौं । नेपाल मर्चेन्ट बैंकर्स संघका कार्यसमिति सदस्यहरूले नेपाल धितोपत्र बोर्ड (सेबोन) का नवनियुक्त अध्यक्ष डा. गोपाल प्रसाद भट्ट तथा कार्यकारी निर्देशकहरूसँग शिष्टाचार भेटघाट गरेका छन् ।
अध्यक्ष डा. भट्टले पदभार ग्रहण गरेको अवसरमा संघका प्रतिनिधिहरूले बोर्डको कार्यालय पुगेर उनलाई हार्दिक बधाई ज्ञापन गर्दै सफल कार्यकालको शुभकामना व्यक्त गरे ।
भेटका क्रममा संघका पदाधिकारीहरूले डा. भट्टको नेतृत्वमा नेपालको पुँजी बजार अझ बढी प्रभावकारी, पारदर्शी र विश्वसनीय बन्ने विश्वास व्यक्त गरे । सो अवसरमा नवनियुक्त अध्यक्ष डा. भट्टले मर्चेन्ट बैंकर्स संघलाई धन्यवाद दिँदै आगामी दिनमा धितोपत्र बजारको सुधार र विकासका लागि निजी क्षेत्रसँगको सहकार्य र निरन्तर संवादलाई प्राथमिकतामा राखिने प्रतिबद्धता जनाए ।
शुभकामना आदानप्रदानसँगै दुवै पक्षबीच नेपालको पुँजी बजारको विकास र समसामयिक चुनौतीहरूका विषयमा विस्तृत छलफल समेत भएको थियो । विशेषगरी म्युचुअल फण्ड (सामूहिक लगानी कोष), प्रारम्भिक सार्वजनिक निष्कासन तथा प्राइभेट इक्विटीसँग सम्बन्धित नीतिगत व्यवस्थाका विषयमा कुराकानी भएको जनाइएको छ ।
छलफलमा बजारमा लगानीकर्ताको विश्वास अभिवृद्धि गर्ने, लगानीमैत्री वातावरण सिर्जना गर्ने तथा पुँजी बजारलाई थप गतिशील बनाउने विषयमा विचार आदानप्रदान भयो ।

यसैगरी, समग्र धितोपत्र बजारमा पारदर्शिता, सुशासन तथा नियामकीय प्रभावकारिता अभिवृद्धि गरी सर्वसाधारण लगानीकर्ताको हित संरक्षण गर्ने आवश्यकतामाथि दुवै पक्षले जोड दिएका थिए ।
अत्यन्त सौहार्दपूर्ण वातावरणमा सम्पन्न सो बैठकको अन्त्यमा नेपाल मर्चेन्ट बैंकर्स संघ र सेबोन दुवैले पुँजी बजारको दिगो, व्यवस्थित तथा समावेशी विकासका लागि आपसी सहकार्य, समन्वय र निरन्तर संवादलाई थप सुदृढ बनाउँदै अगाडि बढ्ने साझा प्रतिबद्धता व्यक्त गरेका छन् ।