काठमाडौं । नेपाल टेलिकमको जीएसएम पोस्टपेड मोबाइलका ग्राहकहरुले अब नामसारी गर्नका लागि आवश्यक सम्पूर्ण विवरण अनलाइनमार्फत भर्न सकिने भएको छ।
कुनै एक व्यक्तिको नाममा भएको पोस्टपेड सिमकार्ड अर्को व्यक्तिको नाममा नामसारी गर्नका लागि आवश्यक सम्पूर्ण विवरण भरेर अन्त्यमा नामसारी दस्तुर उपलब्ध गराउन र आवश्यक प्रमाणीकरणका लागि मात्र नजिकको दूरसञ्चार कार्यालयमा उपस्थित हुनुपर्ने नेपाल टेलिकमले जनाएको छ।
यस अनुसार ग्राहकहरुले कस्टमर लगइन पोर्टलमार्फत आवश्यक विवरण भर्न सक्नेछन्। उक्त पोर्टल लगइन गरेर मोबाइल नम्बर राखे पश्चात ओटीपी प्राप्त हुनेछ र त्यसपछि हालको ग्राहक र नामसारी गर्नुपर्ने नयाँ ग्राहकको व्यक्तिगत विवरणहरु उपलब्ध गराउनुपर्नेछ। यसका साथै गत एक महिनाको अवधिमा कल गरिएका ५ वटा मोबाइल नम्बर समेत राख्नुपर्छ।
सबै विवरण भरिसकेपश्चात् प्रमाणीकरणका लागि नजिकको नेपाल टेलिकमको कार्यालय वा ग्राहक सेवा केन्द्रमा सम्पर्क गर्नुपर्छ। नामसारीका लागि आवश्यक दस्तुर तिरेर र सक्कल नागरिकताका साथ आफू वा प्रतिनिधिमार्फत नामसारीका लागि अन्तिम प्रमाणीकरण गर्न सकिनेछ।
यसबाट अनलाइन रुपमा पहिले नै आवश्यक विवरण भरेर पोस्टपेड सिम नामसारी गर्न सहज हुनेछ। कार्यालयमा उपस्थित हुन नसक्ने सेवाग्राहीहरुले प्रतिनिधिमार्फत अन्तिम प्रमाणीकरण गर्न समेत सकिने भएकोले नामसारी कार्य थप सहज हुने अपेक्षा गरिएको छ।
हाललाई अनलाइन नामसारी कार्य व्यक्तिगत ग्राहकका लागि मात्र उपलब्ध छ। कर्पोरेट ग्राहकहरुले भने नामसारीका लागि कार्यालयमै उपस्थित हुनुपर्नेछ।