काठमाडौं । साताको पहिलो कारोबार दिन आज सोमबार नेप्से परिसूचक दोहोरो अङ्कले घटेको छ ।
नेपाल धितोपत्र बोर्डका अनुसार आज १७ दशमलव ०१ अङ्कले घटेर नेप्से परिसूचक दुई हजार ३१ दशमलव ५५ विन्दुमा रोकिएको छ ।
यस दिन ३०४ धितोपत्रको एक करोड ७० लाख ६१ हजार १२ कित्ता शेयर ४४ हजार २३६ पटक खरिदबिक्री हुँदा दुई अर्ब ४८ करोड ९१ लाख १८ हजार ४८५ रुपैयाँ ०८ पैसा बराबरको शेयर कारोबार भएको छ ।
नेप्से इन्डेक्सका साथै आज सेन्सेटिभ, फ्लोट र सेन्सेटिभ फ्लोट इन्डेक्स सबैमा ०.८३ देखि १.४६ प्रतिशतसम्मले घटेका छन् । यस्तै, १३ वटामध्ये होटेल, म्यानुफ्याक्चरिङ, म्युचअल फण्ड र ट्रेडिङ इन्डेक्सबाहेक सबै उपसूचकहरू घटेका छन् ।
अघिल्लो कारोबार दिन गत बिहीबार नेप्से १५ दशमलव ३७ अङ्कले घटेर दुई हजार ४८ दशमलव ५७ विन्दुमा रोकिएको थियो भने चार अर्ब ३१ करोड ३० लाख भन्दा बढीको शेयर कारोबार भएको थियो ।
