काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थामार्फत मात्र ऋण लिनुपर्ने परम्परागत व्यवस्था परिवर्तन गर्ने संकेत गरेको छ।
आगामी आर्थिक वर्ष २०८३/८४ को मौद्रिक नीतिमार्फत राष्ट्र बैंकले व्यक्तिगत क्रेडिट स्कोरिङ प्रणालीको विकास गरी त्यसका आधारमा पियर–टु–पियर ऋण कारोबार सञ्चालन गर्ने सम्भावनाको अध्ययन गरिने जनाएको हो।
राष्ट्र बैंकका अनुसार व्यक्तिको वित्तीय विश्वसनीयता मापन गर्ने क्रेडिट स्कोरिङ प्रणाली तयार भएपछि त्यसकै आधारमा व्यक्ति–व्यक्तिबीच डिजिटल माध्यमबाट ऋण दिने र लिने व्यवस्था लागू गर्न सकिनेछ। यसले परम्परागत बैंक तथा वित्तीय संस्थाबाहेक वैकल्पिक वित्तीय प्रणालीको विकासमा सहयोग पुग्ने अपेक्षा गरिएको छ।
यद्यपि यस्तो व्यवस्था तत्काल लागू हुने भने होइन। राष्ट्र बैंकले आवश्यक कानुनी, प्राविधिक तथा नियामकीय पक्षको विस्तृत अध्ययन गरी त्यसको निष्कर्षका आधारमा मात्रै पियर–टु–पियर ऋण कारोबार सञ्चालनसम्बन्धी व्यवस्था अघि बढाइने स्पष्ट पारेको छ।