काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा लगायत सरकारका मन्त्री र गठबन्धनमा रहेका नेताहरूले हेलिकप्टर प्रयोग गरेको बारे निर्वाचन आयोगको ध्यानाकर्षण भएको जनाएको छ ।
प्रधानमन्त्रीसँगै शीर्ष नेताहरूले चुनावी भेलामा सैनिक जहाज प्रयोग गरेकाे बारे आयोगले आफ्नो ध्यानाकर्षण भएको जनाएको हो ।
निर्वाचन प्रचारसँग सम्बन्धित गतिविधि गर्दा हेलिकप्टर प्रयोग भएको भन्ने सूचना आएकाले त्यसको खर्च कसले व्यहोर्ने भन्ने कुरा जानकारी गराउन पनि आयोगले भनेको छ ।
एक विज्ञप्ति जारी गर्दै आयोगले प्रधानमन्त्री, विभिन्न राजनीतिक दलका शीर्ष नेताहरूले हेलिकप्टर प्रयोग गरिहरेको उजुरी आएका भन्दै त्यसमा लागेको खर्च सरकारी कोषबाट हुन्छ वा मन्त्री तथा अन्य पदाधिकारीबाट व्यहोर्ने गरी भएको हो सो बारे जानकारी गराउन भनेको छ ।
प्रचार प्रसारमा सरकारी स्रोत साधन प्रयोग गर्नु निर्वाचन आचारसंहिता विपरीत भएको उल्लेख गर्दै आयोगले त्यस्तो भए नभएको अनुसन्धान गर्न अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई आग्रह गर्ने निर्णय पनि गरेको छ ।




