पोखरा । पोखरा महानगरको सार्वजनिक यातायातलाई आधुनिक, व्यवस्थित र दिगो बनाउने विषयमा सरोकारवाला निकायबीच सार्वजनिक–निजी संवाद कार्यक्रम सम्पन्न भएको छ।
पोखरा महानगरपालिकाको आर्थिक विकास महाशाखाअन्तर्गत व्यवसाय प्रवर्द्धन केन्द्रको आयोजना तथा आर्थिक आवाजको साझेदारीमा आयोजित कार्यक्रममा ‘स्मार्ट तथा दिगो यातायात’ विषयमा छलफल गरिएको हो । कार्यक्रममा पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्य, नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष अञ्जन श्रेष्ठ, नेपाल राष्ट्रिय यातायात व्यवसायी महासङ्घका अध्यक्ष सरोज सिटौला र नेपाल एटोमोवाईल एसोसिएसनका कार्यकारी निर्देशक गोविन्द भट्टराईबीच छलफल भएको हो ।
कार्यक्रममा महानगर प्रमुख आचार्यले दिगो सहरी यातायात व्यवस्थापन तथा विद्युतीय सवारी प्रवर्द्धनका लागि एशियाली विकास बैंक र ग्रिन क्लाइमेट फन्डको साझेदारीमा नेपालले १०० मिलियन अमेरिकी डलर बराबरको अनुदान तथा सहुलियतपूर्ण ऋण प्राप्त गरेको जानकारी दिए । उक्त रकममध्ये ४० मिलियन अमेरिकी डलर पोखरामा लगानी गरिने उनले बताए ।
उनका अनुसार परियोजनाले पोखराको सार्वजनिक यातायात प्रणालीलाई थप व्यवस्थित, सुरक्षित र वातावरणमैत्री बनाउनेछ । पोखरालाई पर्यटन राजधानी घोषणा गरिएपछि यातायात व्यवस्थापन सुधारलाई प्राथमिकतामा राख्दै इमोबिलिटी परियोजना अघि बढाइएको उनले बताए ।

परियोजनाअन्तर्गत विद्युतीय सवारीसाधनको प्रयोगलाई प्रोत्साहन गर्ने, चार्जिङ केन्द्र स्थापना गर्ने, सार्वजनिक यातायात सेवाको डिजिटल प्रणाली विकास गर्ने तथा व्यवस्थित बस बिसौनीलगायत आवश्यक पूर्वाधार निर्माण गरिनेछ ।

छलफलका क्रममा सहभागीहरूले पोखराको यातायात क्षेत्र सुधारका लागि सरकारी निकाय, निजी क्षेत्र तथा यातायात व्यवसायीबीच सहकार्य आवश्यक रहेकोमा जोड दिएका थिए। उनीहरूले इमोबिलिटी परियोजनाले पोखराको सार्वजनिक यातायातलाई विद्युतीय, आधुनिक र दिगो प्रणालीमा रूपान्तरण गर्दै वातावरण संरक्षणमा समेत महत्वपूर्ण योगदान पुर्याउने विश्वास व्यक्त गरेका छन् ।