काठमाडौं । पछिल्लो समय प्रमुख विपक्षी दल नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सत्तारूढ नेपाली कांग्रेस र नेकपा (एमाले) नेतृत्वको वर्तमान सरकार धेरै नटिक्ने निरन्तर दाबी गर्दै आएका छन् । खासगरी सरकारभित्रका असन्तुष्ट पक्षलाई प्रचण्डले सरकार ढल्ने आधारका रूपमा देखाउँदै आएका छन् ।
तर, सरकारमा रहेका कांग्रेस र एमाले भने पूर्ण कार्यकाल सरकार सञ्चालन हुनेमा ढुक्क छन् । आधा–आधा कार्यकाल सरकारको नेतृत्व गर्ने दुई दलबीचको सहमतिअनुसार हाल एमाले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री छन् भने उनको कार्यकाल सकिएपछि कांग्रेसका सभापति शेरबहादुर देउवा प्रधानमन्त्री बन्नेछन् ।
पछिल्ला दिन कांग्रेस सभापति देउवाको थाइल्याण्ड भ्रमणलाई लिएर सरकार ढल्ने हल्ला चलाइएको छ । अन्तर्राष्ट्रिय समुदायका विभिन्न शक्तिकेन्द्रसँग छलफलका लागि देउवा बैङ्कक गएको दाबी गर्दै कतिपयले सरकार ढल्ने आशङ्का व्यक्त गरिरहेका छन् ।
तर, देउवा स्वास्थ्य परीक्षणका लागि बैङ्कक पुगेका हुन् । वैशाख ७ गते त्यसतर्फ गएका उनी आज बिहीबार स्वदेश फर्किएका छन् । देउवासँग उनकी पत्नी परराष्ट्रमन्त्री आरजु राणा पनि बैङ्कक गएकी थिइन् ।
हुन त यसबीच सत्तारूढ कांग्रेसभित्रै पनि सरकारभित्र असन्तुष्टि देखिएको थियो । कांग्रेसका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मालगयतले सार्वजनिक रूपमै सरकारको आलोचना गरेका थिए ।
तर, यिनै विषयलाई आधार मानेर सरकार ढल्ने दाबी भने बलियो देखिँदैन । देउवा बैङ्ककमा रहँदा सरकार ढल्ने हल्ला चलाइएपछि देउवा र प्रधानमन्त्री ओलीबीच टेलिफोन कुराकानी पनि भयो । स्वदेश फर्किएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा परराष्ट्रमन्त्री राणाले देउवा बैङ्ककमै रहँदा ओलीसँग फोनवार्ता भएको जानकारी दिइन् ।
साथै, मन्त्री राणाले देउवाको बैङ्कक भ्रमणमा कुनै पनि राजनीतिक भेटघाट नभएको भन्दै सरकार परिवर्तनको हल्ला मनोरञ्जनका लागि मात्रै भएको उनले टिप्पणी गरिन् । उनले भनिन्, ‘यो हल्ला मात्रै हो । केही समय मौनता भयो भने मनोरञ्जनका लागि न्युजहरू आउने गर्छ । सरकार परिवर्तन त नेपालभित्रै बसेर गर्नुपर्ने होला, विदेशमा बसेर हुँदैन । न्युज हेरेर हामी आफैँ छक्क पर्यौँ ।’
यसबीच गृहमन्त्रीसमेत रहेका कांग्रेसका नेता रमेश लेखकले वतर्मान सत्तारूढ गठबन्धनमा कुनै समस्या नरहेको र कतिपय नेताले सरकारप्रति व्यक्त गरेको असन्तुष्ट अभिव्यक्ति उनीहरूको व्यक्तिगत भएको पनि बताएका थिए । उनले भनेका थिए, ‘सरकार तथा गठबन्धनमा कुनै समस्या छैन । कसैले केही बोलिरहेका छन् भने उसको व्यक्तिगत कुरा हो ।’
यता, केही दिनअघि एक सार्वजनिक कार्यक्रममा प्रधानमन्त्री ओलीले वर्तमान सरकार ढल्ने विषय हल्ला मात्रै भएको भन्दै आफ्नो कार्यकाल सकिएपछि कांग्रेस सभापति देउवालाई सत्ताको नेतृत्व हस्तान्तरण गर्ने बताएका थिए ।
यी समग्र अवस्थालाई हेर्दा वर्तमान सरकार ढल्ने दाबी ‘स्यालको हुइँय्या मात्रै भएको देखिन्छ । सरकार ढल्नेबारे चलाइएको हल्ला चिर्न कांग्रेस र एमालेले देखाएको सक्रियताले पनि यो कुरा पुष्टि गर्दछ ।
याे पनि पढ्नुहाेस्
FACEBOOK COMMENTS