काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने जेठ १८ गते भारत भ्रमणमा जाने भएका छन् ।
भारतीय विदेश मन्त्रालयको निमन्त्रणामा उनी भारत जान लागेको स्रोतले जनाएको छ । दुई दिनसम्म भारतमा रहने उनले भारतका प्रधानमन्त्री नरेन्द्र मोदी, विदेशमन्त्री एस. जयशंकर, विदेश सचिव विक्रम मिस्री, राष्ट्रिय सुरक्षा सुरक्षा सल्लाहकार अजित डोभालसहित अन्य उच्चस्तरीय भेटघाट गर्ने तय भएको छ ।
उनले भारतीय जनता पार्टी (भाजपा)का पदाधिकारीहरुसँग पनि भेटघाट गर्ने कार्यक्रम रहेको बुझिएको छ । भारतले विगतमा सत्तारुढ दलका अध्यक्षको नाताले तत्कालिी माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई पनि यसैगरी औपचारिक भ्रमण गराएको थियो ।
देशको सबभन्दा ठुलो पार्टी तथा सत्तारुढ दलका सभापतिको नाताले अहिले रविलाई पनि भारत भ्रमण गराउन लागिएको भाजपा निकट एक नेताले बताए ।
परराष्ट्रमन्त्री शिशिर खनालको पनि भारतको दुईटा भ्रमण स्थगित भएको छ । यस समयमा रास्वपाका सभापति लामिछाने भारत भ्रमणमा जानुलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।
