काठमाडौं । भारतीय जनता पार्टी (भाजपा) को निमन्त्रणामा पाँच दिने औपचारिक भ्रमण सकेर सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने स्वदेश फर्किसकेका छन् ।
गत फागुनको निर्वाचनमा रास्वपाले पाएको जनसमर्थनपछि दिल्लीले रवि लामिछानेलाई दिएको रातो कार्पेट स्वागतले काठमाडौँदेखि दिल्लीसम्म राजनीतिक तरङ्ग पैदा गरेको छ । सो क्रममा भएको उच्चस्तरीय राजनीतिक भेटघाटले त स्वयम् उनको पार्टीभित्र समेत भू–कम्प ल्याउने लख काट्न थालिएको छ ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीदेखि गृहमन्त्री अमित शाह, विदेशमन्त्री एस. जयशंकर, राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभाल, भारतीय जनता पार्टीका अध्यक्ष नीति नवीन लगायतका शीर्ष नेताले दिएको समय र सम्मानलाई सामान्य कूटनीतिक शिष्टाचार भन्दा ठूलो राजनीतिक सन्देशका रूपमा हेरिएको छ ।
दिल्ली पुगेदेखि नै रवि लामिछानेको भ्रमणलाई भारतले विशेष प्राथमिकतामा राखेको देखिन्थ्यो । भाजपाको मुख्यालयमा सांस्कृतिक कार्यक्रमसहितको स्वागत, दिल्लीका विभिन्न स्थानमा स्वागत बोर्ड, शीर्ष नेताहरूसँग छुट्टाछुट्टै भेटघाट र प्रधानमन्त्री मोदीसँग करिब एक घण्टा लामो वार्ताले भारतले रविलाई विशेष महत्त्व दिएको स्पष्ट पारेको छ ।
मोदी–रवि भेटलाई दिल्लीको शक्ति केन्द्रले निकै महत्त्व दिएको चर्चा कूटनीतिक वृत्तमा भएको छ । भेटमा मोदीसँगै विदेशमन्त्री एस. जयशंकर, राष्ट्रिय सुरक्षा सल्लाहकार डोभाल र विदेश सचिव विक्रम मिश्री उपस्थित थिए ।

सामान्यतया पार्टी–पार्टी सम्बन्धका भेटमा यति धेरै सरकारी संयन्त्रको उपस्थिति दुर्लभ मानिन्छ । त्यसैले यो भेटले भारतले नेपालको नयाँ राजनीतिक शक्तिलाई नजिकबाट बुझ्न खोजेको सन्देश दिएको जानकारहरूको भनाइ छ ।

प्रधानमन्त्री मोदीले सामाजिक सञ्जालमार्फत तस्बिर सार्वजनिक गर्दै भेटलाई सकारात्मक र फलदायी भएको प्रतिक्रिया दिएका थिए । तस्बिरमा देखिएको आत्मीयता र सार्वजनिक प्रशंसाले भारत नयाँ राजनीतिक नेतृत्वसँग सम्बन्ध विस्तार गर्न इच्छुक रहेको स्पष्ट सङ्केत दिएको धेरैको बुझाइ छ ।

रवि लामिछानेलाई दिल्लीले रातो कार्पेटमा स्वागत गरिरहेका बेला नेपालमा भने सीमा विवादको विषय चर्किएको थियो । प्रधानमन्त्री बालेन्द्र साह ‘बालेन’ले संसद्मा ‘नेपालले पनि भारतको भूमि मिचेको छ’ भन्ने अभिव्यक्ति दिएपछि त्यसको चौतर्फी आलोचना भइरह्यो ।
उक्त प्रसङ्गमा प्रतिपक्षी दलहरूले प्रधानमन्त्रीको राजीनामा मागेका छन् भने विभिन्न समूहले सडक प्रदर्शन अहिले पनि जारी राखेका छन् । सीमा विवादबारेको विवादास्पद अभिव्यक्तिले थप चर्चा नपाओस् भन्ने उद्देश्य अनुसार प्रतिनिधिसभा झण्डै एकसाता स्थगित गरी भोलिदेखि पुन: सुचारु गर्ने तयारी छ भने भारतसँगको सीमा विवादबारे बेलायतसँग समेत छलफल गर्ने प्रधानमन्त्रीको अभिव्यक्तिलाई दिल्लीले अस्वीकार गरेको छ ।
यही पृष्ठभूमिमा भएको रविको भ्रमणलाई धेरैले भारतको रणनीतिक सन्देशका रूपमा व्याख्या गरेका छन् । एकातिर सीमा विवाद जस्ता संवेदनशील विषयमा आफ्नो पुरानै अडान दोहोर्याउँदै र अर्कोतर्फ नेपालमा उदाएको नयाँ राजनीतिक शक्तिलाई विशेष महत्त्व दिएर सम्बन्धलाई नयाँ ढङ्गले अगाडि बढाउन खोजेको सङ्केत भारतले दिएको जानकारहरूको बुझाइ छ ।
भाजपा हिन्दुत्वको राजनीतिक एजेन्डा बोकेको दल हो । नेपालमा हिन्दु राष्ट्रको पक्षमा उसले विगतमा पनि विभिन्न तहमा धारणा राख्दै आएको छ । रवि लामिछानेको झुकाव पनि हिन्दुत्वतर्फ रहेको विश्लेषण गर्नेहरूको सङ्ख्या कम छैन ।
गणतन्त्र र सङ्घीयताबारे स्पष्ट धारणा राखेको रास्वपा धर्मको विषयमा भने मौन बसेको छ । त्यसैले उक्त भेटवार्तामा यो विषय उठ्न सक्ने अनुमान गरिए पनि हालसम्म सार्वजनिक भएका विवरणमा त्यस्तो कुनै छलफल भएको देखिएको छैन ।
मोदीसँगको भेटमा रविले विकास कूटनीति, डिजिटल मार्ग, सहज आवागमन, पर्यटन, जलविद्युत्, सूचना प्रविधि र कृत्रिम बुद्धिमत्ता (एआई) का क्षेत्रमा सहकार्यको प्रस्ताव राखेका थिए । जवाफमा मोदीले नेपालका प्राथमिकताहरू सूचीबद्ध गरेर समय सीमा सहित कार्यान्वयन गर्न भारत तयार रहेको बताएका थिए । यसले भारत पुराना विवाद भन्दा विकास र आर्थिक साझेदारीको भाषामा सम्बन्ध अघि बढाउन चाहिरहेको सङ्केत दिएको छ ।
कतिपयले भारतले सीमा विवाद समाधानका लागि होइन, नेपालमा उदाएको नयाँ राजनीतिक शक्तिको नाडी छाम्न रविलाई महत्त्व दिएको तर्क गरेका छन् । भारतले विगत देखि नै नेपालका सम्भावित शक्ति केन्द्रहरूसँग सम्बन्ध विस्तार गर्दै आएको र रविको भ्रमण पनि त्यही निरन्तरताको हिस्सा हुन सक्ने तर्क एक थरीको छ ।
अर्कोतर्फ, कतिपयले यसलाई नेपाल भारत सम्बन्धमा कमजोर बन्दै गएको राजनीतिक संवाद पुनर्जीवित गर्ने प्रयासका रूपमा हेरेका छन् । पछिल्ला वर्षहरूमा कर्मचारी तहका संयन्त्र सक्रिय रहे पनि राजनीतिक तहको संवाद अपेक्षाकृत कमजोर बनेको थियो । रविको भ्रमणले त्यो दूरी कम गर्ने अवसर सिर्जना गरेको अर्का थरीको तर्क छ ।
मोदीले रवि लामिछानेमार्फत प्रधानमन्त्री बालेन्द्र साहलाई भारत भ्रमणको निम्तो दिएको बताइएको छ । यसले दुई देशबीच उच्च राजनीतिक संवादको वातावरण बनाउन भारत इच्छुक रहेको सङ्केत गरेको छ ।
भारतले रवि लामिछानेलाई दिएको सम्मान र प्राथमिकता कूटनीतिक सद्भाव मात्रै हो वा नेपालमा उदाएको नयाँ शक्ति केन्द्रसँग दीर्घकालीन सम्बन्ध निर्माण गर्ने रणनीतिक प्रयास ? सीमा विवाद, व्यापार असन्तुलन, डुबान, कोशी गण्डक, लिपुलेक र लिम्पियाधुरा जस्ता जटिल मुद्दा यथावत् रहँदा दिल्लीले देखाएको यो आत्मीयता व्यवहारमा कति रूपान्तरण हुन्छ भन्ने प्रश्नको उत्तर भने आगामी दिनले दिनेछ ।