काठमाडौं । सार्क वाणिज्य तथा उद्योग महासंघका अध्यक्ष चण्डीराज ढकालको नेतृत्वमा उच्चस्तरीय प्रतिनिधिमण्डलले बेलायतको लन्डनस्थित प्रधानमन्त्री कार्यालय ‘१० डाउनिङ स्ट्रिट’को ऐतिहासिक भ्रमण गरेको छ ।
सन् १९९२ मा महासंघ स्थापना भएयता प्रधानमन्त्री कार्यालयमा महासंघको प्रतिनिधिमण्डलले गरेको यो पहिलो भ्रमण हो ।
भ्रमणका क्रममा प्रतिनिधिमण्डलले बेलायतका काम तथा पेन्सन राज्यमन्त्री एवं प्रधानमन्त्रीका प्रमुख टोली सदस्य प्याट म्याकफ्याडेनसँग उच्चस्तरीय भेटवार्ता गरेको थियो ।
भेटमा दक्षिण एसिया, बेलायत र राष्ट्रमण्डलबीच आर्थिक सहकार्य विस्तार, व्यापार तथा लगानी प्रवद्र्धन, प्रवासी समुदायको सहभागिता र युवा सशक्तीकरणका विषयमा छलफल भएको थियो ।
भेटका अवसरमा सार्क वाणिज्य तथा उद्योग महासंघ र राष्ट्रमण्डल व्यवसायी महिला सञ्जालले संयुक्त रूपमा तयार पारेको सार्क–राष्ट्रमण्डल रणनीतिक नीति प्रतिवेदन पनि प्रस्तुत गरिएको थियो ।
प्रतिवेदनले दक्षिण एसिया, बेलायत र राष्ट्रमण्डलबीच आर्थिक सम्बन्धलाई थप प्रभावकारी बनाउन जोड्ने क्षमता, वाणिज्य र सिर्जनशीलतालाई मुख्य आधार मानेको छ ।

प्रतिवेदनमा क्षेत्रीय व्यापार तथा लगानी सम्बन्ध विस्तारदेखि व्यापारिक गतिविधिलाई सहज बनाउने उपायसम्मका विभिन्न सुझाव समेटिएका छन् । क्षेत्रीय स्तरमा यातायात, सूचना तथा व्यापारिक सम्बन्धको पहुँच विस्तार गर्न जोड दिँदै सार्क डिजिटल एकद्वार प्रणाली स्थापना गर्ने प्रस्ताव गरिएको छ ।

यस प्रणाली मार्फत व्यापार तथा सेवा प्रवाहसँग सम्बन्धित प्रक्रियालाई सरल र प्रभावकारी बनाउने उद्देश्य राखिएको छ ।
त्यसैगरी, दक्षिण एसियाका मुलुकबीच उत्पादन तथा व्यापारको क्षेत्रीय मूल्य शृंखला पहिचान र विस्तार गर्न क्षेत्रीय मूल्य शृंखला नक्साङ्कनको प्रस्ताव गरिएको छ । यसबाट विभिन्न मुलुकमा रहेका उत्पादन, सेवा, लगानी र व्यापारका सम्भावनालाई एकअर्कासँग जोड्न सहयोग पुग्ने अपेक्षा गरिएको छ ।
प्रतिवेदनले युवा जनसंख्यालाई रोजगारी, उद्यमशीलता र डिजिटल अवसरमा जोड्न पनि विशेष ध्यान दिएको छ । यसका लागि सार्क–बेलायत साझेदारी ढाँचा अन्तर्गत डिजिटल सीप विकास कार्यक्रम, दूरस्थ कामका लागि आदानप्रदान मञ्च तथा नागरिक नवप्रवर्तनसम्बन्धी छात्रवृत्ति तथा अवसरको व्यवस्था गर्न प्रस्ताव गरिएको छ ।
महिला तथा युवाको आर्थिक सहभागिता बढाउने विषयलाई पनि प्रतिवेदनले प्राथमिकतामा राखेको छ । उनीहरूलाई सीप, उद्यमशीलता, रोजगारी तथा प्रविधिमा पहुँच विस्तार गर्दै आर्थिक गतिविधिको मूल प्रवाहमा थप प्रभावकारी रूपमा सहभागी गराउने उपायहरू अघि सारिएका छन् ।
यसैगरी, विदेशमा रहेका दक्षिण एसियाली समुदायबाट हुने प्रत्यक्ष लगानीलाई क्षेत्रीय आर्थिक विकासमा परिचालन गर्न विशेष संयन्त्र निर्माण गर्नुपर्ने सुझाव प्रतिवेदनमा छ ।
प्रवासी लगानीकर्तालाई सम्बन्धित अवसर, परियोजना तथा वित्तीय सेवासँग जोड्न विद्युतीय मञ्च निर्माण गर्ने, नयाँ वित्तीय साधनको विकास गर्ने तथा प्रवासी समुदाय र सम्बन्धित संस्थाबीचको संस्थागत सम्बन्धलाई थप मजबुत बनाउने विषयमा जोड दिइएको छ ।
भेटवार्तामा अध्यक्ष ढकालले दक्षिण एसियाका व्यवसायी, उद्यमी, महिला र युवाका लागि प्रत्यक्ष तथा व्यावहारिक अवसर सिर्जना गर्ने खालको आर्थिक साझेदारी आवश्यक रहेको बताएका थिए ।
क्षेत्रीय निजी क्षेत्रलाई बेलायत तथा राष्ट्रमण्डलका आर्थिक अवसरसँग जोड्दै व्यापार, लगानी, सीप र उद्यमशीलताको विस्तार गर्न सहकार्यलाई थप बलियो बनाउनुपर्नेमा उनले जोड दिएका थिए ।
प्रतिनिधिमण्डलमा महासंघका अध्यक्ष चण्डीराज ढकाल, वरिष्ठ उपाध्यक्ष डा. रोहिता सिल्भा, माल्दिभ्सका उपाध्यक्ष डा. मरियम शकिला, महासचिव जुल्फिकार अली बुट्ट तथा युरोपेली संघका लागि सल्लाहकार एवं राष्ट्रमण्डल व्यवसायी महिला सञ्जालका कार्यकारी निर्देशक आरिफ जमान सहभागी थिए ।
लन्डनस्थित बेलायती प्रधानमन्त्री कार्यालयमा भएको यो भेटलाई दक्षिण एसियाको निजी क्षेत्र, बेलायत र राष्ट्रमण्डलबीच आर्थिक तथा व्यावसायिक संवादलाई थप संस्थागत र प्रभावकारी बनाउने महत्वपूर्ण पहलका रूपमा हेरिएको छ ।
सार्क वाणिज्य तथा उद्योग महासंघ दक्षिण एसियाको निजी क्षेत्रको प्रतिनिधित्व गर्ने प्रमुख क्षेत्रीय संस्था हो । महासंघले सार्क सदस्य राष्ट्रहरूबीच अन्तरक्षेत्रीय व्यापार, लगानी तथा आर्थिक सहकार्य विस्तारका लागि काम गर्दै आएको छ ।