काठमाडौँ । गत साताको कारोबारमा धितोपत्र दोस्रो बजारको गति सकारात्मक देखिएको छ । बजारका महत्वपूर्ण सूचकहरूलाई आधार मान्दा बजार सकारात्मक देखिएको हो ।
अघिल्लो साताको तुलनामा गत साता नेप्से परिसूचकसँगै कारोबार रकम पनि बढेको छ । अघिल्लो साताको अन्तिम कारोबार दिन २ हजार १७८ दशमलव ८१ विन्दुमा रहेको नेप्से परिसूचक ४ दशमलव ४० अंक बढेर २ हजार १८३ दशमलव २१ विन्दुमा पुगेर बन्द भएको हो ।
नेप्से परिसूचक सामान्य अंकले बढेपनि ठूला कम्पनीहरूको मात्र कारोबार मापक सेन्सेटिभ इन्डेक्स भने १ दशमलव ९१ अंक घटेको छ । अघिल्लो साता ४१५ दशमलव शून्य ५ विन्दुमा रहेको सेन्सेटिभ इन्डेक्स गत साताको अन्तिम कारोबार दिनमा भने ४१३ दशमलव १४ विन्दुमा झरेको हो ।
अघिल्लो साताको तुलनामा गत साता कारोबार रकम र कित्ता बढेको छ । अघिल्लो साता तीन दिन र गत साता चार दिन बजार सञ्चालन भएको थियो । अघिल्लो साता तीन कारोबार दिनमा ११ अर्ब ६९ लाख रुपैंयाँभन्दा बढीको ३ करोड ३४ लाख ३५ हजार रुपैंयाँभन्दा बढी कित्ता धितोपत्र खरीदविक्री भएकोमा गत साता १३ अर्ब १९ करोड रुपैंयाँभन्दा बढीको ३ करोड ६३ लाख ५६ हजार भन्दा बढी कित्ता धितोपत्र खरीदविक्री भएको छ । अघिल्लो साताको तुलनामा गत साता १ अर्ब ४९ करोड रुपैंयाँभन्दा बढीको २९ लाख २१ हजार ७१३ कित्ता बढी धितोपत्र खरीदविक्री भएको हो ।
औषतमा भने गत साता कारोबार रकम र कित्तामा कमि आएको छ । अघिल्लो साता औषतमा ३ अर्ब ८९ करोडभन्दा बढीको १ करोड ११ लाख रुपैंयाँभन्दा बढी कित्ता धितोपत्र खरीदविक्री भएकोमा गत साता औषतमा ३ अर्ब २९ करोडभन्दा बढीको ९० लाख ८९ हजार रुपैंयाँभन्दा बढीको धितोपत्र खरीदविक्री भएको हो ।

बजार बढेसँगै कुल बजारपूँजीकरण पनि अघिल्लो साताभन्दा ४ अर्ब ८५ करोड १३ लाख रुपैंयाँले वृद्धि भएको छ । अघिल्लो साताको अन्तिम कारोबार दिन ३१ खर्ब ४५ अर्ब ६३ करोड ५२ लाख रुपैंयाँ रहेको कुल बजार पूँजीकरण गत साताको अन्तिम कारोबार दिन ३१ खर्ब ५० अर्ब ४८ करोड ६५ लाख रुपैंयाँ कायम भएको छ ।

निर्जीवन बीमा समूहका लगानीकर्ताले सर्वाधिक कमाए
गत साताको कारोबारमा निर्जीवन बीमा समूहका लगानीकर्ताहरूले सर्वाधिक कमाएका छन् । समूहगत परिसूचकमा देखिएको बृद्धिका आधारमा निर्जीवन बीमा समूहका लगानीकर्ताले सर्वाधिक कमाएको देखिएको हो । अघिल्लो साताको तुलनामा गत साता निर्जीवन बीमा समूहको परिसूचक सर्वाधिक २ दशमलव ९८ प्रतिशत बढेको छ ।

जीवन बीमा समूहको परिसूचक सर्वाधिक दोस्रोमा २ दशमलव ९१ प्रतिशत बढेको छ । पूँजीबृद्धि अभियानका क्रममा रहेको बीमा समूह अन्तर्गतका कम्पनीको शेयरमा लगानीकर्ताको आकर्षण गत साता बढी देखिएको हो ।
गत साता १३ समूहगत परिसूचकहरूमध्ये ६ समूहको मात्र बढेको छ । गत साता होटल तथा पर्यटन समूहको २ दशमलव २८ प्रतिशत, वित्तको २ दशमलव शून्य ५ प्रतिशत, व्यापारिकको १ दशमलव शून्य ८ प्रतिशत र जलविद्युत समूहको शून्य दशमलव ७९ प्रतिशत परिसूचक बढेको छ ।गत साता विकास बैंक समूहको परिसूचक सर्वाधिक २ दशमलव शून्य ४ प्रतिशत घटेको छ ।
त्यस्तै लगानीको २ दशमलव शन्य १ प्रतिशत, उत्पादन तथा प्रशोधनको १ प्रतिशत, अन्य समूहको शून्य दशमलव ८५ प्रतिशत, म्युचुअल फण्ड समूहको शून्य दशमलव ६७ प्रतिशतले घटेको छ । यस्तै लघुवित्तको शून्य दशमलव १२ प्रतिशत र बैंकिङ समूहको शून्य दशमलव शून्य ४ प्रतिशत परिसूचक घटेको छ ।