काठमाडौं । जिल्ला होटल व्यवसायी संघ काठमाडौंका अध्यक्ष तथा नेपाल उद्योग वाणिज्य संघ काठमाडौंका कार्यसमिति सदस्य सुरेश बराललाई संघअन्तर्गतको मेला, महोत्सव एवं प्रदर्शनी समितिको सह–सभापतिमा मनोनित गरिएको छ।
नेपाल उद्योग वाणिज्य संघ काठमाडौंको कार्यसमितिको निर्णयअनुसार बराललाई समितिको सह–सभापतिको जिम्मेवारी प्रदान गरिएको हो।
आज आयोजित कार्यक्रममा संघका अध्यक्ष रमानाथ श्रेष्ठ, वरिष्ठ उपाध्यक्ष दुर्गाराज श्रेष्ठ, उपाध्यक्ष राजेन्द्र शेर्चन तथा कार्यसमिति सदस्य एवं मेला, महोत्सव एवं प्रदर्शनी समितिका सभापति फुपु तेन्जिङ शेर्पाको उपस्थितिमा बराललाई मनोनयन तथा जिम्मेवारीसम्बन्धी पत्र हस्तान्तरण गरिएको थियो।
उद्योगी तथा व्यवसायीका समस्या सम्बन्धित निकायसम्म पुर्याउँदै व्यवसायमैत्री नीति निर्माणका लागि पहल गर्दै आएको संघले निजी क्षेत्रका समस्या, सम्भावना र चुनौतीबारे जानकार बरालको अनुभवलाई समितिको जिम्मेवारीमा प्रभावकारी रूपमा उपयोग गर्ने अपेक्षा गरेको छ।
विशेषगरी होटल, पर्यटन तथा समग्र निजी क्षेत्रका मुद्दालाई थप प्रभावकारी रूपमा उठान गर्न बरालको सहभागिता महत्वपूर्ण हुने संघको विश्वास छ। मेला, महोत्सव तथा प्रदर्शनीमार्फत व्यापार, पर्यटन, स्वदेशी उत्पादन तथा उद्यमशीलता प्रवद्र्धनमा समेत उनको अनुभव उपयोगी हुने अपेक्षा गरिएको छ।
संघले बरालबाट समितिमा सक्रिय भूमिका निर्वाह गर्दै आवश्यक राय, सल्लाह तथा सुझाव प्रदान हुने विश्वास व्यक्त गरेको छ। उनको सहभागिताले संघका गतिविधिलाई थप प्रभावकारी बनाउनुका साथै निजी क्षेत्रको प्रतिनिधित्व र व्यवसाय प्रवद्र्धनका कार्यक्रमलाई थप मजबुत बनाउन सहयोग पुग्ने संघको अपेक्षा छ।