काठमाडौं । देशभित्र र बाहिरका राजनीतिक गतिविधिदेखि अर्थतन्त्र, समाज, खेलकुद, अन्तर्राष्ट्रिय घटनाक्रम र अन्य महत्वपूर्ण विषयसँग सम्बन्धित आज दिनभरका प्रमुख २० समाचार यस प्रकार रहेका छन् ।
१- रसुवामा आएको विनाशकारी बाढीका कारण आइतबार साँझसम्म ७९४ जनाको शव फेला परेको छ । जसमध्ये रसुवामा १३ जना, नुवाकोटमा ५२ जना, धादिङमा ५० जना, चितवनमा २६४ जना, गोरखामा ६१ जना, तनहुँमा ३७ जना, नवलपरासी पूर्वमा १९७ जना र नवलपरासी पश्चिम १२० जना गरी ७९४ जनाको शव फेला परेको हो । प्रहरीले बाढीको जोखिममा रहेका विभिन्न जिल्लाका विभिन्न घर परिवारलाई सुरक्षित स्थानमा राख्ने, विभिन्न निकाय र स्थानीयवासीको समन्वय र सहयोगमा आवश्यक उद्दार एवम् खोजी गर्नुका साथै विभिन्न स्थानमा भएको बाटो अवरोध हटाउने कार्य समेत गरिरहेको छ ।
२- त्रिशूली नदीमा आएको भीषण बाढीका कारण धादिङको बेनीघाट रोराङ गाउँपालिका–७ स्थित पृथ्वी राजमार्गको कृष्णभीर खण्डमा सडक अवरुद्ध भएपछि नेपाल आयल निगमले वैकल्पिक मार्गबाट काठमाडौँ उपत्यका र आसपासका जिल्लामा एलपी ग्यास आपूर्ति गर्ने व्यवस्था मिलाएको जनाएको छ । निगमले ग्यास उद्योगीसँग छलफल गरी काठमाडौँ तथा आसपासका जिल्लामा ग्यास बिक्री वितरण गर्ने उद्योगलाई बारा, पर्सा, चितवन, मकवानपुर, नवलपरासी तथा अन्य पायक पर्ने जिल्लाका ग्यास उद्योगसँग समन्वय गर्न भनेको छ । ती उद्योगमा आफ्ना ग्यास बोकेका ट्याङ्कर खाली गरी सिलिन्डर भरेर कृष्णभीरको सडक नखुलेसम्म ट्रकमार्फत वैकल्पिक मार्गबाट काठमाडौँ उपत्यका तथा आसपासका क्षेत्रमा आपूर्ति गर्ने व्यवस्था मिलाइएको निगमले जनाएको छ । त्यसैगरी पेट्रोलियम पदार्थ तथा एलपी ग्यासको आपूर्ति सहज बनाउन ट्याङ्कर तथा ट्रकलाई स्थानीय प्रशासनसँगको समन्वयमा वैकल्पिक मार्गबाट काठमाडौँ ल्याउने व्यवस्था गरिएको निगमले जनाएको छ ।
३- नेपाली कांग्रेसले बाढीपीडितको सहयोगका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा एक करोड रुपैयाँ सहयोग गर्ने भएको छ । पार्टीको केन्द्रीय कार्यालयमा आज बसेको बैठकले कोषमा एक करोड सहयोग गर्ने निर्णय भएको प्रवक्ता देवराज चालिसेले जानकारी दिएका छन् । प्रवक्ता चालिसेले पीडितलाई दिने राहतलाई प्रभावकारी बनाउन स्थानीय तहलाई जिम्मेवारी दिने कुरामा ध्यान दिनुपर्ने भन्दै पीडितसम्म तत्कालै राहत पुर्याउन आग्रह गरेका छन् । काँग्रेस विपदमा राहत र उद्धारका लागि पार्टीका प्रशिक्षित कार्यकर्ताका साथै भातृ संगठनलाई पनि खटाएको उनले जानकारी दिए । यसअघि आजै सभापति गगन थापाले बढीपछि अहिलेसम्म पार्टीले गरेका काम र प्रभावित जिल्लाको अवस्था बारे सम्बन्धित जिल्लाका नेताहरुसँग छलफल गरेका थिए ।
४- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र बागमती प्रदेशका मुख्यमन्त्री किरण थापाबीच पार्टी कार्यालय बनस्थलीमा भेटवार्ता भएको छ । भेटमा मुख्यमन्त्री थापाले तीन तहका सरकारबीच प्रभावकारी समन्वय हुन नसक्दा प्रदेश सरकारले आफ्नै ढंगले काम गर्नुपरेको बताएका छन् । प्रधानमन्त्री प्रभावित क्षेत्रमा पुग्दा समेत प्रदेश सरकारले जानकारी नपाएको भन्दै उनले दुःख व्यक्त गरेका थिए । उनले तीन तहका सरकारले कुन-कुन काम गर्ने भन्ने स्पष्ट विभाजन आवश्यक रहेको बताउदै प्रभावित क्षेत्रमा पठाइएको राहत बट्टार क्षेत्रमा जम्मा भए पनि त्यसभन्दा माथि पुर्याउन कठिनाइ भएको उनको भनाइ थियो ।

जलवायु परिवर्तनको असर दीर्घकालीन हुने भएकाले नदी तथा खोलाको किनारमा रहेका बस्तीलाई सुरक्षित स्थानमा स्थानान्तरण गर्न तीनै तहका सरकारले तत्काल समन्वय गरेर काम गर्नुपर्ने अवस्था देखिएको मुख्यमन्त्री थापाले बताए । सभापति लामिछानेले विपद्को समयमा स्थानीय र सङ्घीय सरकारलाई जोड्ने भूमिका प्रदेश सरकारले प्रभावकारी रूपमा खेल्नुपर्ने बताउदै विपद्को समयमा सबै तहका सरकारले समन्वय गरेर काम गर्नुपर्ने विषयमा आफूहरू सचेत रहेको उल्लेख गरेको उनको सचिवालयले जानकारी दिएको छ । लामिछानेले सङ्घीय सरकारका तर्फबाट आवश्यक सम्पूर्ण सहयोगका लागि समन्वय गर्ने प्रतिबद्धता जनाएका छन् ।
५- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले रसुवाको भोटेकोशी नदीमा आएको बाढी भएको क्षति राष्ट्रिय शोक र पीडाको विषय भएको बताएका छन् । आइतबार पार्टीको कार्यक्रममा बोल्दै ओलीले भोटेकोशीमा आएको बाढी असाधारण, भयावह र विनाशकारी रहेको बताउदै यस्तो अवस्थामा कसैले पनि राजनीतीकरण गर्न नहुने बताएका हुन् । ओलीले भने- ‘यो साझा पीडा हो, साझा शोकको बेला हो। यस पीडाको समाधान गर्नु पनि साझा दायित्व हो ।’ ओलीले मानवीय क्षति अपूरणीय हुने भन्दै धनसम्पत्तिको क्षति समयसँगै पुनः निर्माण गर्न सकिए पनि जीवनको क्षति अत्यन्त पीडादायी हुने बताए । बाढीले मानिसलाई ज्यान जोगाउने अवसरसमेत नदिई बगाएको यस्तो स्तरको क्षति यसअघि त्रिशूली नदीमा समेत नदेखिएको उल्लेख गरेका थिए । उनले विपत्तिबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापनामा सबै पक्षले साझा जिम्मेवारी निर्वाह गर्नुपर्नेमा जोड दिए । ओलीले बाढी पछिको राहतमा पार्टी सचिव महेश बस्नेतको नेतृत्वमा पार्टीका नेता कार्यकर्ता खटिने बताउदै अबका दिन अझ चुनौतिपूर्ण हुने धारणा राखेका थिए । उनले बागमती प्रदेशको विषय भएको र भूगोल समेत चिनेको व्यक्ति भएकाले बस्नेतको नेतृत्वमा पार्टी राहत र उद्धारमा खटिने बताए ।
६- रसुवास्थित माथिल्लो त्रिशूली ३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङभित्र फसेका मानिसको उद्धारका लागि नेपाली सेनाका इन्जिनियरले विस्फोट गराएर बाटो खोल्नेसम्मका प्रयास अघि बढाएका छन् । उद्धारस्थलमा नेपाली सेनाका ६६, तालिमप्राप्त कुकुरसहित सशस्त्र प्रहरीका १८ र नेपाल प्रहरीका ६ गरी ९० जनाको संयुक्त टोली परिचालन गरिएको छ । यसअघि उद्धार टोलीले दिउँसो २ बजे सुरुङको मुख्य भागमा पुगेर २ फिट चौडा र ३ फिट अग्लो प्वाल बनाएको थियो । डोरीको सहायताले तल झरेर भित्र रहेका मानिसलाई बोलाउँदा कुनै प्रतिक्रिया नआएपछि उद्धारलाई तीव्र बनाउन ठूला उपकरण प्रयोग, विस्फोट तथा प्वाल फराकिलो पार्ने काम एकसाथ भइरहेको जनाइएको छ ।
७- काठमाडौँ । सरकारले रसुवाको भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित नागरिकका लागि राहत सामग्री सहयोग गर्न इच्छुक व्यक्ति, सङ्घसंस्था तथा सहयोगी निकायले सरकारले तोकेका स्थानमा सामग्री बुझाउने व्यस्था मिलाएको जनाएको छ । विदेशबाट हवाईमार्फत ल्याइने राहत सामग्री त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित राष्ट्रिय आपतकालीन गोदामघरमा सङ्कलन गरिएको छ भने आवश्यकताअनुसार सरकारले ती सामग्री प्रभावित क्षेत्रमा पठाउने व्यवस्था मिलाउनेछ । यसका लागि श्रद्धा भट्टराई (विश्व खाद्य कार्यक्रम प्रतिनिधि) : ९८४१८७९२२२ लाई सम्पर्क गर्न सकिने बताइएको छ । स्वदेशभित्र राहत सामग्री बुझाउने केन्द्र : १. निर्वाचन आयोग, कान्तिपथ, काठमाडौँ सम्पर्क : सशस्त्र प्रहरी निरीक्षक अमर बरामु – ९८५१०६५८७४, २. सहरी विकास तथा भवन निर्माण विभाग, बबरमहल, काठमाडौँ, सम्पर्क : हिमविक्रम केसी – ९८५१०८५२०३, ३. नेपाली सेना मैथिली ब्यारेक, बट्टार, नुवाकोट, सम्पर्क : आविष्कार – ९८५१२३४३२४, ४. नेपाली सेना बैरेनी ब्यारेक, धादिङ सम्पर्क : दिलीप घले – ९८५११५४२२६, यसका अतिरिक्त इच्छुक दाताले सम्बन्धित जिल्लाका प्रमुख जिल्ला अधिकारीमार्फत समेत राहत सामग्री सहयोग उपलब्ध गराउन सक्ने जनाइएको छ ।
८- नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान सन्दीप लामिछानेले मलेसियामा हुने एसीसी प्रिमियर कपमा नेपाललाई प्रतिनिधित्व गर्नुअघि बाढीबाट प्रभावित नेपालीप्रति ऐक्यबद्धता जनाउँदै सहयोगको घोषणा गरेका छन् । लामिछानेले क्रिकेट सङ्घ नेपालबाट प्राप्त हुने एक महिनाको तलब प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा दिने बताएका छन् । उनले प्रतियोगिताभर नेपालले लिने प्रत्येक विकेटबापत १ हजार ५०० रुपैयाँ तथा प्रहार गर्ने प्रत्येक चौका र छक्काबापत थप १ हजार ५०० रुपैयाँ सहयोग गर्ने घोषणा गरेका छन् । उक्त रकम बाढी प्रभावित बालबालिकाका लागि शैक्षिक सामग्री उपलब्ध गराउन प्रयोग गरिने उनले बताएका छन् । देश कठिन परिस्थितिबाट गुज्रिरहेको भए पनि मैदानमा आफ्नो उत्कृष्ट प्रदर्शनमार्फत स्वदेशमा रहेका नेपालीको अनुहारमा केही खुसी ल्याउने प्रयास गर्ने लामिछानेले बताएका छन् । नेपालले मलेसियामा आजदेखि शुरु भएको एसीसी प्रिमियर कपमा भोलि बहराइनसँग खेल्दैछ ।
९- धादिङको गल्छी गाउँपालिका–६ बैरेनीस्थित पृथ्वी राजमार्गमा माटोले पुरिएको अवस्थामा पैसा राख्ने लकर फेला परेको छ । सशस्त्र प्रहरी बल नेपाल विपद् व्यवस्थापन बेस आदमघाटबाट सशस्त्र प्रहरी नायब उपरीक्षक अपार प्याकुरेलको नेतृत्वमा खटिएको नौ जनाको टोलीले लकर फेला पारेको हो । बेसबाट करिब ६ किलोमिटर पूर्वमा फेला परेको लकर स्थानीय जनप्रतिनिधि तथा स्थानीय भद्रभलाद्मीको उपस्थितिमा आवश्यक अनुसन्धान तथा कारबाहीका लागि नेपाल प्रहरीलाई बुझाइएको छ ।
१०- बाढी तथा विपद्का कारण विभिन्न जिल्लामा फेला परेका बेवारिसे तथा पहिचान नखुलेका शव र शरीरका अंगको व्यवस्थापन नेपाल प्रहरीले तीव्र पारेको छ । सड्न थालेका शवबाट सङ्क्रमण तथा महामारी फैलिन सक्ने जोखिमलाई ध्यानमा राख्दै प्रहरीले सुरक्षित र सम्मानजनक व्यवस्थापनमा जोड दिएको नेपाल प्रहरीले जनाएको छ । नेपाल प्रहरीका अनुसार हालसम्म रसुवामा १३, नुवाकोटमा ५२, धादिङमा ५०, चितवनमा २५९, गोरखामा ५८, तनहुँमा ३७, नवलपरासी पूर्वमा १८४ र नवलपरासी पश्चिममा ८२ गरी ७३५ शव फेला परेका छन् । प्रहरीले शव संकलनपछि आवश्यक कानुनी प्रक्रिया पूरा गरी शवगृहमा सुरक्षित राख्ने, चिकित्सकको उपस्थितिमा परीक्षण तथा तस्बिर अभिलेख गर्ने र पहिचानका लागि आवश्यक विवरण संकलन गर्ने गरेको जनाएको छ । पहिचान हुन नसकेका शवलाई छुट्टाछुट्टै सङ्केत नम्बर दिएर तस्बिर, हुलिया, पहिचान चिन्ह, कपडा र साथमा फेला परेका सामग्रीको विवरण राखिएको छ। आवश्यक परे भविष्यमा पहिचान गर्न सकिने गरी डिएनए नमुनासमेत सुरक्षित राख्ने व्यवस्था गरिएको प्रहरीले जनाएको छ ।
बेवारिसे तथा पहिचान नखुलेका शव व्यवस्थापनका लागि अवलम्बन गरिएको प्रक्रिया : १. विभिन्न माध्यमबाट प्राप्त सूचनाका आधारमा तथा सुरक्षा निकायबाट खोजतलास एवं उद्धार कार्य सञ्चालन गरी नदी किनार, खोल्सा तथा अन्य स्थानबाट फेला परेका शव तथा शवका अवशेषहरू आवश्यक सावधानीपूर्वक संकलन गरिएको । २. शव फेला परेको स्थानमा आवश्यक लासजाँच मुचुल्का लगायतका कानूनी प्रक्रिया पूरा गरी शवलाई सुरक्षित रूपमा Dead Body Bag मा राखी अस्पतालको शव गृहमा सुरक्षित राखिएको । ३. Forensic Doctor को उपस्थितिमा शवलाई आवश्यकता अनुसार सफा गरी पहिचान खुल्न सक्ने गरी अगाडि, पछाडि, दायाँ, बायाँ तथा पहिचान जन्य अंग/चिन्हहरू देखिने विभिन्न कोणबाट फोटो खिची सुरक्षित राखिएको तथा आवश्यक Postmortem परीक्षण गरिएको । ४. Postmortem पश्चात शवहरूलाई शव पहिचानका लागि सुरक्षित रूपमा राखिएको तथा सर्वसाधारणलाई शव पहिचान गर्न सहज होस् भन्ने उद्देश्यले शवका फोटो तथा उपलब्ध पहिचान सम्बन्धी विवरणहरू प्रदर्शन गरिएको ।
५. फोटो वा अन्य माध्यमबाट शव पहिचान भएको जानकारी प्राप्त भई नागरिकहरू Help Desk मा सम्पर्कमा आएमा उपलब्ध शवका थप फोटो, हुलिया, कपडा तथा घटनास्थल लासजाँच मुचुल्कामा उल्लेखित विवरणका आधारमा आवश्यक सनाखत तथा कानूनी प्रक्रिया पूरा गरी सम्बन्धित आफन्तलाई शव बुझाउने गरिएको । ६. पहिचान खुल्न नसकेका शवहरूको हकमा प्रत्येक शवलाई छुट्टाछुट्टै संकेत/कोड नम्बर प्रदान गरी शवको फोटो, हुलिया, पहिचानजन्य चिन्ह, कपडा तथा साथमा फेला परेका सामग्री लगायतका विवरण व्यवस्थित रूपमा अभिलेख राखिएको तथा भविष्यमा आवश्यक परेमा पहिचान गर्न सकिने गरी DNA नमूना संकलन गरी सुरक्षित संरक्षण गर्ने व्यवस्था गरिएको । ७. पहिचान नभएका तथा बेवारिसे शव व्यवस्थापन (पहिलो संशोधन) निर्देशिका, २०८३ बमोजिम जमिनमुनि व्यवस्थापन गर्नुपर्ने शवहरूको सम्बन्धमा जिल्ला सुरक्षा समितिको निर्णयअनुसार गरिएको ।
८. निर्धारित स्थानमा शवहरूलाई सम्मानजनक तथा सुरक्षित रूपमा जमिनमुनि व्यवस्थापन गर्दा प्रत्येक शवको संकेत/कोड नम्बर जमिनमुनि तथा माथि राखी, शव व्यवस्थापन गरिएको स्थानको GPS Location, फोटो अभिलेख, नक्सा सहितको विस्तृत विवरण तथा व्यवस्थापन सम्बन्धी सम्पूर्ण विवरण अभिलेखीकरण गरिएको । ९. जमिनमुनि व्यवस्थापन गरिएका प्रत्येक शवको फोटो, DNA नमूना, संकेत नम्बर, हुलिया, सनाखत सम्बन्धी विवरण, Postmortem Report, लासजाँच मुचुल्का, व्यवस्थापन मिति तथा स्थानको विवरण सुरक्षित राखिने जसबाट भविष्यमा कुनै परिवार/आफन्तले आफ्नो सदस्यको रूपमा दाबी गरेमा उपलब्ध वैज्ञानिक तथा कानूनी प्रमाणका आधारमा पहिचान गर्न सहयोग पुग्नेछ । १०. बेवारिसे तथा पहिचान नखुलेका शवहरूको विवरण नेपाल प्रहरीको अफिसियल बेवसाइट www.nepalpolice.gov.np को पहिचान नखुलेको शवहरूको विवरण आइकनबाट हेर्न सकिनेछ ।
११- नेपाली काँग्रेसका सभापत गगन थापाले विपदको अहिलेको समयमा सरकारसँग काधमा काध मिलाएर अगाडी बढ्ने बताएका छन् । आइतबार भोटेकोशी बाढीपछि उत्पन्न विपत व्यवस्थापनमा नेपाली कांग्रेसले अहिले गरिरहेको काम र स्थलगत जानकारीसहित अबको योजनाका बारेमा पार्टी केन्द्रीय कार्यालय सानेपामा भएको छलफलमा आफ्नो धारणा राख्दै राहत र उद्धारका क्रममा सरकारलाई साथ दिने बताउदै सरकारको तर्फबाट भएका कमीकमजोरीको विषय पनि जोडदार रुपमा उठाउने बताएका हुन् ।
सभापति थापाले केन्द्र सरकारले प्रदेश र स्थानीय सरकारहरुसँग समन्वय नगरेको कुरा प्रष्टसँग आएको बताउदै समन्वय बिना राहत र उद्धार प्रभावकारी नहुने बताए । उनले राहत स्थानीय तहले वितरण गर्दा नै प्रभावकारी हुने भन्दै स्थानीय सरकारलाई बाइपास गरेर काम गर्न नसकिने स्पष्ट गरे । साथै सभापति थापाले विपदको समयमा पार्टीका सबै नेता कार्यकर्ताहरुलाई सामाजिक संजालमा असंबेदनशील विषय पोष्ट नगर्न निर्देशन दिएका थिए ।
१२- धादिङको बेनीघाट रोराङ गाउँपालिका–७ मा रहेको चरौदी–घ्यालचोक जोड्ने झोलुङ्गे पुल बाढीले बगाएको छ । आइतबार त्रिशुली नदीमा आएको बाढीले चरौदी–घ्यालचोक जोड्ने झोलुङ्गे पुल बाढीले बगाएको हो । बाढीका कारण पुल नजिक रहेका चरौदी कृषक सुधार फलफूल तथा तरकारी उत्पादक सहकारी संस्था, वडा कार्यालय, चरौदी पोषण सुधार केन्द्र, चरौदी आधारभूत स्वास्थ्य सेवा केन्द्र, ग्रामीण खानेपानी व्यवस्थापन बोर्ड र बुद्धि विकास आधारभूत विद्यालयमा समेत प्रत्यक्ष असर परेको स्थानीयले बताएका छन् । प्रशासनले जोखिमपूर्ण आवस्था रहेकाले स्थानीय नागरिकलाई आवश्यक सतर्कता अपनाउन, जोखिमयुक्त स्थानमा नजान र सुरक्षित स्थानमा रहन आग्रह गरिएको छ ।
१३- नेपाल-चीन सीमामा आएको विनाशकारी बाढीपछि तिब्बत क्षेत्रमा २३ देशका २६१ विदेशी नागरिक बेपत्ता भएको चिनियाँ अधिकारीले पहिलोपटक राष्ट्रियतासहितको विवरण सार्वजनिक गरेका छन् । बेपत्ता हुनेमा सबैभन्दा धेरै १०४ जना नेपाली रहेका छन् । त्यसपछि भारतका ४९, लाटभियाका ३३, अमेरिकाका १८ र बेलायतका १५ जना रहेका छन् । त्यस्तै क्यानडा र अस्ट्रेलियाका ६-६, दक्षिण अफ्रिकाका ४, रूस, मलेसिया र जर्मनीका ३-३ जना बेपत्ता छन् । नेदरल्यान्ड्स, न्युजील्यान्ड, इस्टोनिया, फ्रान्स र आयरल्यान्डका २-२ जना तथा फिनल्यान्ड, लिथुआनिया, पोर्चुगल, युक्रेन, स्पेन, हंगेरी र कजाकिस्तानका १-१ जना बेपत्ता रहेको चिनियाँ अधिकारीले जनाएका छन् ।
१४- नेपाल र तिब्बत सीमा क्षेत्रमा यस साता आएको विनाशकारी बाढीप्रति दुःख व्यक्त गर्दै एलन मस्कको कम्पनि स्टारलिङ्कले नेपाल सरकार र मानवीय सहायता साझेदारलाई सहयोग गर्न तयार रहेको जनाएको छ । कम्पनीले आवश्यक अनुमति प्राप्त हुनेबित्तिकै स्टारलिङ्क उपकरण उपलब्ध गराउने र निःशुल्क सेवा सञ्चालन गर्न तयार रहेको जनाएको हो । स्टारलिङ्कले सडक, पुल तथा मोबाइल सञ्चार सञ्जाल अवरुद्ध भएको अवस्थामा आफ्नो सेवा उद्धार तथा राहत कार्यका लागि महत्वपूर्ण हुने उल्लेख गरेको छ । कम्पनीले खोज तथा उद्धार टोली, घाइतेको उपचारमा खटिएका स्वास्थ्यकर्मी तथा आफन्तको खोजीमा रहेका परिवारलाई सञ्चार सम्पर्क कायम गर्न स्टारलिङ्कले सहयोग पुर्याउन सक्ने बताएको छ । विद्युत् स्रोत र खुला आकाशको पहुँच भएमा स्टारलिङ्कको उपकरण जडान गरेको केही मिनेटमै उच्च गतिको इन्टरनेट सेवा उपलब्ध हुने कम्पनीले जनाएको छ ।
१५- चीनले नेपाललाई उपलब्ध गराएको आपत्कालीन राहत सामग्री बोकेका दुई ठूला सैनिक विमान शनिबार बिहान काठमाडौँ आइपुगेका छन् । आइतबार बिहान चिनियाँ जनमुक्ति सेनाको वायुसेनाका दुई वटा ठूलो क्षमताका मालवाहक विमान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेका हुन् । ती विमानमा उद्धार उपकरणसहित चार जना चिनियाँ सुरुङ उद्धार विशेषज्ञसमेत आएका छन् । राहत सामग्री हस्तान्तरण समारोहमा नेपालका लागि चिनियाँ राजदूत चाङ माओमिङ, विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुन र सङ्घीय संसद्का प्रतिनिधिसभा सदस्य धर्म केसी सहभागी भएका थिए । उनीहरूले चिनियाँ उद्धार विशेषज्ञलाई स्वागतसमेत गरेका थिए । चिनियाँ विमानहरू छेन्दुस्थित विमानस्थलबाट उडेका थिए र करिब तीन घण्टाको उडानपछि काठमाडौँ आइपुगेका हुन् । ती विमानमा पाल, कम्बल, सुत्ने झोला, सुख्खा खाद्यान्न र प्राथमिक उपचार सामग्रीसहित १३ हजार २०० थान राहत सामग्री ल्याइएको छ । सामग्रीको कुल तौल ५० टन रहेको काठमाडौँस्थित चिनियाँ दुताबासले जनाएको छ ।
१६- भारतले नेपालमा बाढी तथा पहिरो प्रभावितको उद्धार र राहतका लागि थप सहयोग पठाएको छ । भारतीय विदेशमन्त्री एस जयशंकरका अनुसार भारतबाट ११ टन सहयोग सामग्री बोकेको चौथो उडान शनिबार राति काठमाडौँ आइपुगेको छ । उक्त सामग्रीमा सुरुङमा खोज तथा उद्धारका लागि प्राविधिक टोली र आवश्यक उपकरण, शव परीक्षण तथा डिएनए विश्लेषणका लागि विशेषज्ञ टोली र उपकरण समावेश छन् । त्यसैगरी कम्बल, सुत्ने झोला, त्रिपाल, प्लास्टिकका पाना तथा सरसफाइ सामग्री पनि पठाइएको छ । भारतबाट २३० फिट लामो एकतर्फी अस्थायी स्टिल पुल निर्माणका लागि आवश्यक उपकरण बोकेका १६ वटा ट्रकसमेत नेपाल आइपुगेका छन् ।
थप सातवटा बेलिब्रिज पुल जडानका लागि आवश्यक उपकरण छिट्टै पठाइने र प्राविधिक टोली पनि नेपाल आउने जयशंकरले बताएका छन् । हालसम्म भारतले अत्यावश्यक औषधि, विद्युत् उत्पादन गर्ने पोर्टेबल यन्त्र, खाद्य सामग्री, पानी शुद्धीकरण गर्ने चक्की तथा प्राविधिक उपकरणसहित ६८.५ टन राहत सामग्री हवाईमार्फत काठमाडौँ पठाइसकेको छ । जयशंकरले नेपालमा जारी उद्धार तथा राहत कार्यमा भारतको सहयोग निरन्तर रहने बताएका छन् ।
१७- नेपाली बजारमा आज सुनचाँदीको मुल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुन तोलाको ९ हजरत ५ सयले घटेर तोलाको ३ लाख ९ हजारमा कारोबार भइरहेको छ । यसअघि शुक्रबार सुन तोलाको ३ लाख १८ हजार ५ सयमा कारोबार भएको थियो । यस्तै, आज चाँदीको मुल्य पनि घटेको छ । महासङ्घका अनुसार आज चाँदी तोलाको १८५ ले घटेर तोलाको ४७८० मा कारोबार भइरहेको छ । यसअघि शुक्रबार चाँदी तोलाको ४९६५ मा कारोबार भएको थियो ।
१८- धादिङको कृष्णभीरमा भीषण सडक भासिएपछि मुग्लिङ–काठमाडौं सडकखण्ड पूर्ण रूपमा अवरुद्ध भएको छ । अविरल वर्षाका कारण सडकको ठूलो हिस्सा त्रिशूली नदीतर्फ भासिएपछि दुवैतर्फका सवारीसाधन अलपत्र परेका छन् । सडकको अवस्था पूर्ण रूपमा क्षतिग्रस्त भएकाले तत्काल एकतर्फी यातायातसमेत सञ्चालन गर्न नसकिएको प्रहरीले जनाएको छ । सडक विभाग र प्रहरीको टोली घटनास्थलतर्फ गएको र प्रहरीले यात्रुलाई वैकल्पिक मार्ग प्रयोग गर्न वा यात्रा स्थगित गर्न आग्रह गरेको छ ।
१९- रसुवागढी नाका हुँदै नेपाल प्रवेश गर्ने भोटेकोशी नदीमा आएको विनाशकारी बाढीपछि प्रभावित क्षेत्रमा अनुमति बिना ड्रोन उडान नगर्न राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले आग्रह गरेको छ । प्राधिकरणका अनुसार बाढी प्रभावित क्षेत्रमा मानवीय उद्धार तथा राहतका लागि नेपाल सरकार, गृह मन्त्रालय, नेपाली सेना, निजी क्षेत्रलगायतको समन्वयमा हेलिकप्टर निरन्तर परिचालन भइरहेका छन् । तर केही व्यक्ति तथा संस्थाले स्थानीय प्रशासनको पूर्वस्वीकृति नलिई अनधिकृत रूपमा ड्रोन उडाइरहेको पाइएको छ । अनधिकृत ड्रोन उडानले हवाई सुरक्षामा गम्भीर जोखिम निम्त्याउनुका साथै हेलिकप्टरमार्फत भइरहेको खोजी तथा उद्धार कार्यमा प्रत्यक्ष बाधा पुग्न सक्ने प्राधिकरणले जनाएको छ । प्राधिकरणले ‘मानवरहित हवाई उपकरण ड्रोन उडानसम्बन्धी कार्यविधि, २०७५’ बमोजिम सम्बन्धित जिल्ला प्रशासन कार्यालय वा गृह मन्त्रालयबाट पूर्वस्वीकृति लिएर मात्र ड्रोन उडाउन आग्रह गरेको छ । अनुमति नलिई ड्रोन उडाएमा वा उद्धार कार्यमा बाधा पुर्याएमा प्रचलित कानुनबमोजिम कारबाही हुने प्राधिकरणले स्पष्ट पारेको छ ।
२०- अमेरिकी मेजर लिग सकर अन्तर्गत भएको खेलमा इन्टर मियामीले मोन्ट्रियललाई ७-१ गोलको फराकिलो अन्तरले पराजित गरेको छ । इन्टर मियामीको शानदार जितमा कप्तान लियोनल मेसीले चार गोल गर्दै उत्कृष्ट प्रदर्शन गरेका छन् । खेलको सुरुआतदेखि नै आक्रामक देखिएको इन्टर मियामीका लागि कासेमिरोले गोल गर्दै अग्रता दिलाएका थिए । त्यसपछि मोन्ट्रियलका फाबियन हर्बर्सले गोल गर्दै खेल बराबरीमा ल्याए पनि त्यसपछि इन्टर मियामीले लगातार गोल थपेको थियो ।
मेसीले पहिलो हाफमै गोल गर्दै टोलीलाई पुनः अग्रता दिलाएका थिए । त्यसपछि दोस्रो हाफमा उनले थप तीन गोल गर्दै आफ्नो व्यक्तिगत गोल सङ्ख्या चार पुर्याएका थिए । मेसीको उत्कृष्ट प्रदर्शनसँगै लुइस स्वरेज र अलेजेन्डर शहले एक एक गोल गरेका थिए । मोन्ट्रियलको रक्षापंक्ति मियामीको लगातार आक्रमण रोक्न असफल भएपछि खेल ७-१ को फराकिलो अन्तरमा पुगेको थियो । यस जितसँगै इन्टर मियामीले महत्वपूर्ण तीन अंक जोडेको छ। पछिल्लो समय अपेक्षाअनुसार प्रदर्शन गर्न नसकेको मियामीका लागि मोन्ट्रियलविरुद्धको फराकिलो जितले टोलीको मनोबल बढाएको छ । यो जितपछि इन्टर मियामीको एमएलएसको इस्टर्न कन्फेरेन्समा २२ खेलमा ४२ अंकसहित दोस्रो स्थानमा छ भने मोन्ट्रियलको २२ खेलमा २१ अंक रहेको छ ।