काठमाडौं । आज देश विदेशका प्रमुख २० समाचार यस प्रकार रहेका छन् ।
१- स्वतन्त्र सांसद महावीर पुनले सरकारले विज्ञान र प्रविधि क्षेत्रलाई उपेक्षा गरेको भन्दै प्रतिनिधिसभामा कडा असन्तुष्टि व्यक्त गरेका छन् । मंगलबार संसदको विशेष समयमा बोल्दै पुनले सरकारको नीति तथा कार्यक्रममा विज्ञान र अनुसन्धानलाई प्राथमिकता नदिइएको भन्दै आक्रोश पोखेका हुन् । उनले ४६ पृष्ठ लामो नीति तथा कार्यक्रममा ‘विज्ञान’ शब्दसमेत उल्लेख नभएको भन्दै आश्चर्य व्यक्त गरेका थिए । पुनले विज्ञान र अनुसन्धानका लागि पर्याप्त बजेट विनियोजन नभए आफूले सामाजिक सञ्जालमार्फत दिएको ‘सराप’ कायम रहने चेतावनीसमेत दिए । सरकारले सुधार गरे आफू उक्त अभिव्यक्ति फिर्ता लिन तयार रहेको उनले बताए ।
उनले भने- उनले भने, ‘मैले हिजो बेलुका आवेशमा आएर फेसबुकमा सबै नेताहरूलाई सराप दिएको थिएँ। कसैको पनि दिमागमा विज्ञान र अनुसन्धान भन्ने कुरा नपसोस् भनेर त्यो रिस व्यक्त गरेको हुँ । तर यदि सरकारले यसलाई सुधार्छ भने म आफ्नो सराप फिर्ता लिन तयार छु।’ उनले विज्ञानबिना कुनै पनि देशको अर्थतन्त्र बलियो बन्न नसक्ने उल्लेख गर्दै अनुसन्धान र नवप्रवर्तनका लागि कुल गार्हस्थ्य उत्पादनको कम्तीमा १ प्रतिशत बजेट छुट्याउन माग गरे ।
त्यस्तै उनले विज्ञान तथा प्रविधिका लागि छुट्टै मन्त्रालय बनाउनुपर्ने माग राखेका छन् । सांसद पुनले नयाँ सरकारले पनि विज्ञानको महत्व नबुझेको भन्दै आलोचना गरेका छन् । उनले भने- उनले भने, ‘पुराना नेताहरूको त उमेरका कारण दिमागले भेटेन होला, तर अहिलेको युवा नेतृत्वले पनि विज्ञानको महत्व नबुझ्नु विडम्बना हो। विज्ञानबिना कुनै पनि देशको अर्थतन्त्र बलियो हुन सक्दैन भन्ने कुरा संसारले पुष्टि गरिसकेको छ।’
२- अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ४० हजार रुपैयाँ घुस लिएको आरोपमा सशस्त्र प्रहरी निरीक्षक वकिल अधिकारीविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ । धनुषास्थित सशस्त्र प्रहरी बलको सुरक्षा बेस नक्टाझिजमा कार्यरत अधिकारीले कमला–ढल्केवर–बाग्मती सडक निर्माण आयोजनामा माटो तथा ग्राभेल फिलिङमा प्रयोग हुने सवारीसाधन रोक्ने र काम गर्न नदिने भन्दै सेवाग्राहीसँग घुस मागेको आरोप लागेको छ ।

अख्तियारको बर्दिवास कार्यालयबाट खटिएको टोलीले उनलाई सेवाग्राहीबाट ४० हजार रुपैयाँ घुस लिइसकेको अवस्थामा रकमसहित नियन्त्रणमा लिएको थियो । अनुसन्धानबाट अधिकारीले विभिन्न बहाना बनाएर सेवाग्राहीलाई दुःख हैरानी दिँदै घुस लिएको पुष्टि भएको आयोगले जनाएको छ । आयोगले भ्रष्टाचार निवारण ऐनअनुसार बिगो ४० हजार रुपैयाँ कायम गरी कैद र जरिवानाको मागदाबी गर्दै विशेष अदालत काठमाडौँमा आरोपपत्र दायर गरेको हो ।

३- बंगलादेशले पाकिस्तानविरुद्धको पहिलो टेस्ट जितेको छ । मंगलबार सम्पन्न खेलमा बंगलादेशले पाकिस्तानलाई १०४ रनले पराजित गरेको हो । मिरपुरमा २६८ रनको लक्ष्य पछ्याएको पाकिस्तान १६३ रनमा अलआउट भएपछि बंगलादेशले सिरिजको पहिलो खेलमा जित हासिल गरेको हो । योसँगै घरेलु टोलीले २ खेलको सिरिजमा १-० को अग्रता बनाएको छ । यस टेस्टमा बंगलादेशले पहिलो इनिंगमा ४१३ रन बनाएको थियो भने पाकिस्तानले पहिलो इनिंगमा ३८६ रन बनाएको थियो ।

त्यसपछि बंगलादेशले आफ्नो दोस्रो इनिंगमा ९ विकेट गुमाएर २४० रन बनाएपछि २६८ रनको लक्ष्य दिदै इनिंग घोषणा गरेको थियो । यो बंगलादेशले पाकिस्तानविरुद्ध आफ्नो घरेलु मैदानमा जितेको पहिलो टेस्ट हो भने पाकिस्तानविरुद्ध लगातार तेस्रो टेस्ट जितेको छ । बंगलादेशले यसअघि २०२४ मा पाकिस्तानलाई उसकै घरेलु मैदानमा लगातार दुई खेलमा हराएको थियो । अब दोस्रो तथा अन्तिम टेस्ट शनिबारदेखि सिलेटमा सुरु हुनेछ।
४- अर्घाखाँचीको पाणिनी गाउँपालिकाको दुर्गाफाट कुडुलेमा भएको बस दुर्घटनामा ज्यान गुमाउनेको संख्या चार पुगेको छ । प्रहरीले दुर्घटनामा ४ जनाको ज्यान गएको जानकारी दिदै २७ जना घाइते भएको बताएको छ । मृत्यु हुनेमा पोखरा महानगर-१९ की ७८ बर्षिय राममाया बस्नेत, ७८ बर्षिय विन्दु कुँवर, पर्वत मोदी गाउँपालिका-५ की ५० बर्षिय कौशिला रेग्मी र मोदी- ५ का ४५ बर्षका चालक रमेश जिसी रहेका छन् ।
सन्धिखर्क घुम्ती तानसेन पाल्पा सडकखण्ड अन्तर्गत पाणिनी–८ को कुडुलेफाट नजिक दुर्घटना हुँदा २ जनाको घटनास्थलमै, एक जनाको उपचारका क्रममा अर्घाखाँची अस्पताल र चालकको लुम्बिनी मेडिकल कलेज प्रभास पाल्पामा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले जानकारी दिएको छ । घाइतेमध्ये चार जनाको अबस्था गम्भीर रहेको र घाइतेहरुको लुम्बिनी मेडिकल कलेज प्रभास पाल्पा र भैरहवा मेडिकल कलेजमा उपचार भइरहेको छ । सुपा देउराली दर्शन गरी पर्बत फर्किदै गरेको पर्वतको ध १ ख ५०४ नम्बरको गाडी सडकबाट तल खसेको थियो ।
५- स्कटल्याण्डले नेपाललाई पराजित गरेको छ । आइसीसी पुरुष क्रिकेट विश्वकप डिभिजन लिग- २ अन्तर्गतको टियु क्रिकेट मैदानमा मंगलबार सम्पन्न खेलमा नेपाल २ रनले पराजित भएको हो । डिएलएस मेथड अनुसार नेपालले ३९ ओभरमा २२१ रनको लक्ष्य पाएकोमा ३० ओभरमा ७ विकेट गुमाउदै २१८ रन बनाएको थियो । नेपालका लागि गुलशन झाले अविजित ६१ रन बनाएका थिए भने दिपेन्द्र सिंह ऐरीले ५५ रन बनाएका थिए । त्यस्तै कप्तान रोहित पौडेलले ३२ र करण केसीले १८ रन बनाएका थिए । यसअघि टस जितेर पहिला ब्याटिंग गरेको स्कटल्याण्डले ५० ओभरमा ८ विकेट गुमाउदै २४३ रन बनाएको थियो ।
स्कटल्याण्डका लागि जर्ज मुन्सीले सर्बाधिक ७५ रन बनाएका थिए भने फिनले म्याकक्रीथले ३५, माइकल इङलिशले ३४, माइकल लिस्कले २९ र मार्क वाटले २४ रन बनाएका थिए । त्यस्तै नेपाली बलर सन्दीप लामिछानेले ४ विकेट लिएका थिए भने करण केसी र नन्दन यादवले २- २ विकेट लिएका थिए । यो जितपछि स्कटल्याण्डको लिग- २ मा २९ खेलमा ३६ अंक भएको छ र दोस्रो स्थानमा रहेको छ । त्यस्तै नेपालको भने लिग- २ मा यो १५औं हार हो । नेपालले २५ खेलमा ८ जितसहित १८ अंक हासिल गरेको छ र हाल सातौं स्थानमा रहेको छ ।
६- राष्ट्रपति रामचन्द्र पौडेलले प्रतिनिधिसभाका सचिव हर्कराज राईलाई पदबाट बर्खास्त गरिएको छ । सभामुख डोल प्रसाद अर्यालको सिफारिसमा राष्ट्रपति पौडेलले आजदेखि लागू हुनेगरी पदबाट हटाएका हुन् । संघीय संसदका महासचिव, प्रतिनिधिसभाका सचिव तथा राष्ट्रियसभाका सचिवको पारिश्रमिक, सेवाको शर्त र सुविधा सम्बन्धी ऐन, २०७५ को दफा ६ को खण्ड (ङ) बमोजिम उनलाई पदबाट हटाइएको राष्ट्रपतिको कार्यालयले जनाएको छ । सचिव राईलाई सभामुख अर्यालले यसअघि दूई पटक स्पष्टीकरण सोधेका थिए ।
७- नेकपा एमालेका संसदीय दलका नेता रामबहादुर थापा ‘बादल’ ले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) अराजक जमातको अस्थायी गठजोड भएको आरोप लगाएका छन् । मंगलबार प्रतिनिधिसभाको बैठकमा बोल्दै नेता थापाले रास्वपा कुनै वैचारिक दल नभएको टिप्पणी गर्दै रास्वपा अराजक जमातको अस्थायी गठजोड भएको आरोप लगाएका हुन् । साथै उनले रास्वपाको सफलता एआई र अल्गोरिदमको जादु, विश्व भू–राजनीतिक दृश्य र अदृश्य प्रभावहरूको कुल परिणाम भएको दाबि गरे ।
उनले भने- ‘प्रतिनिधि सभा तथा संघीय सरकारमा आफ्नो एकल नेतृत्व स्थापित गरिसकेपछि रास्वपा सरकारले निर्धारित अधिवेशन स्थगन गरी ८ वटा अध्यादेश जारी गर्यो। यसको राजनीतिक लक्ष्य राज्यको प्रशासन तन्त्र तथा न्यायतन्त्रमा आफ्नो एकल प्रभुत्व कायम गर्नु थियो। यो लक्ष्य प्राप्त गर्न पनि रास्वपा सफल रह्यो । यो सफलता त दशकौँदेखि तत्कालीन सत्ताधारी दलहरूले गरेका कमजोरीहरूको योगफल, एआई र अल्गोरिदमको जादु र विश्व भू–राजनीतिक दृश्य र अदृश्य प्रभावहरूको कुल परिणाम थियो ।’ साथै नेता थापाले नेपाली सेनाको आलोचना गर्दै आफ्नै परमाधिपतिको निवास जल्दा मौन रहेको सेना सुकुम्बासीको बस्तिमा किन गएको भन्दै प्रश्न गरेका थिए ।
८- नेपाली कांग्रेसका नेता पूर्णबहादुर खड्काले पार्टी केन्द्रीय कार्यसमितिको पछिल्लो विस्तारबारे आफूलाई कुनै जानकारी वा परामर्श नभएको बताएका छन् । खड्काले धारणा सार्वजनिक गर्दै वैशाख २८ गते गरिएको केन्द्रीय कार्यसमितिको मनोनयनले पार्टीको बृहत् एकताको उद्देश्यमा ठेस पुगेको बताएका हुन् । उनले देशको राष्ट्रियता, संविधानवाद र लोकतन्त्रमाथि चुनौती बढिरहेका बेला कांग्रेस पूर्ण रूपमा एकताबद्ध हुनुपर्ने आवश्यकता रहेको उल्लेख गरे । पार्टीको समग्र एकता बिना कांग्रेसले राष्ट्रिय राजनीतिमा प्रभावकारी भूमिका खेल्न नसक्ने उनको भनाइ छ ।
खड्काले पार्टी एकताको मुख्य जिम्मेवारी गगन थापा र विश्वप्रकाश शर्माको काँधमा रहेको उल्लेख गर्दै सबै पक्षलाई एकताका लागि तत्काल पहल गर्न आग्रह गरेको बताए । उनले विगतमा विभाजित कांग्रेसले ठूलो राजनीतिक क्षति बेहोरेको र जनविश्वाससमेत गुमाएको स्मरण गराउँदै अहिलेको परिस्थितिबाट पाठ सिकेर साझा सोच र भावनासहित अघि बढ्नुपर्ने धारणा राखेका छन् । खड्काले पार्टी नेतृत्वले अझै पनि बृहत्तर एकताको दिशामा सामूहिक भावना र साझा विचारका साथ अघि बढ्ने विश्वास व्यक्त गरेका छन् ।
९- श्रम संकृति पार्टीका अध्यक्ष हर्क साम्पाङले प्रधानमन्त्री बालेन्द्र शाहले संसदमा जवाफ दिनुपर्ने बताएका छन् । मंगलबार प्रनिधिसभाको बैठकलाई सम्बोधन गर्दै अध्यक्ष साम्पाङले सांसदहरूले उठाएका प्रश्नहरूको प्रधानमन्त्रीले संसदमा जवाफ दिनुपर्ने भन्दै प्रश्न उठाएका छन् । उनले भने- ‘यो सरकारको प्रधानमन्त्री हुनुहुन्छ कि हुनुहुन्न ? छ भने उहाँले सदनलाई सम्बोधन गर्नुपर्छ कि पर्दैन ? सांसदहरूले उठाएका प्रश्नको जबाफ नदिनु भनेको जनताका प्रश्नको उत्तर नदिनु हो ।’ उनले अहिले जनता सरकारसँग डराएर बाँच्नुपर्ने अवस्था आएको भन्दै लोकतन्त्र यहि हो त ? भन्दै प्रश्न गरेका छन् । उनले बैठकमा सांसदहरूको उपस्थिति र खाली देखिएका कुर्सी बारे पनि प्रश्न उठाउदै उनले सभामुखको समेत ध्यानाकर्षण गराएका थिए । साम्पाङले सरकारले नीति तथा कार्यक्रम ल्याउदा विपक्षी दलहरुसँग छलफल नगरेको भन्दै आलोचना गर्दै इमान्दार नभएसम्म र नियत ठिक ठाउमा नआएसम्म जस्तो नीति ल्याएपनि केहि नहुने बताए ।
१०- नेप्सेमा आज गिरावट आएको छ । आज मंगलबार नेप्से ३९.४४ अंकले घटेर २७४४.४० विन्दुमा पुगेर रोकिएको छ । आज ३३८ कम्पनिका एक करोड ६ लाख ७८ हजार ५५० कित्ता शेयर ४ अर्ब ६६ करोड ५० लाख २० हजार ६६७ मा कारोबार भएको थियो । आज म्युचुअल फण्ड बाहेक सबै क्षेत्रको शेयर मुल्य घटेको छ । आज, सबैभन्दा बढी धौलागिरी लघुवित्तको शेयरमा सकारात्मक सर्किट लागेको छ भने फर्स्ट माइक्रो फाइनान्सको शेयर १२.४० प्रतिशतले घटेको छ । त्यस्तै आज सबै भन्दा बढी नेशनल हाइड्रोको १८ करोड ९९ लाखको कारोबार भएको छ भने रिलायन्स स्पिनिंग मिल्सको १८ करोड ९ लाख बराबरको कारोबार भएको छ ।
११- नेपाली कम्युनिष्ट पार्टीका संयोजक एवम पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सरकारको वार्षिक नीति तथा कार्यक्रम कर्मकाण्डी र यथास्थितिवादी भएको बताएका छन् । मंगलबार प्रतिनिधिसभामा बोल्दै प्रचण्डले सरकार गठन भएपछि सरकारले आफ्नो रोडम्याप सार्वजनिक गरेको तर नीति तथा कार्यक्रमले सत्तारुढ दलको घोषणापत्र, रोडम्याप र राष्ट्रिय संकल्पपत्रको स्पिरिट समात्न सकेको बताएका हुन् । उनले नीति तथा कार्यक्रम प्रस्तुत गर्ने हतार र परिपाटीप्रति असन्तुष्टि व्यक्त गर्दै भने- ‘जुन हतारोमा नीति तथा कार्यक्रम प्रस्तुत भइरहेको छ र जुन परिपाटी अवलम्बन गरेका छौं त्यसबाट नीति तथा कार्यक्रममाथिको छलफल सधैँ एउटा कर्मकाण्ड मात्रै बन्न पुगेको छ ।’
सम्बोधनका क्रममा संयोजक प्रचण्डले मधेशी जनताको सपनाहरूको जगमा यो सरकार बनेपनि सिँगो नीति तथा कार्यक्रममा मधेशप्रति मौन रहेको बताए । उनले भने- ‘सत्तारुढ दलका सभापति रवि लामिछानेले दलित समुदायमाथि राज्यका तर्फबाट क्षमा माग्नुभयो । तर त्यो क्षमा सरकारको नीति तथा कार्यक्रममा कहिँ कतै प्रकट हुन सकेन। सरकार दलित समुदायका सवालमा विगतका यथास्थितिवादी सरकारहरूभन्दा पनि प्रतिगामी बन्न पुगेको छ ।’ उनले दलित विकास प्राधिकरणको आवश्यकता, रैथाने सीपको प्रवर्द्धन र विशेषाधिकार नीतिलाई नीति तथा कार्यक्रमले सम्बोधन नगरेको बताए ।
१२- नेपाली काँग्रेसका नेता भिष्मराज आङदेम्बेले प्रधानमन्त्री बालेन्द्र शाहको स्वास्थ्य बारे संसदलाई जानकारी दिन माग गरेका छन् । प्रतिनिधि सभाको बैठकमा बोल्दै नेता आङदेम्बेले नीति तथा कार्यक्रम प्रस्तुत गर्दा अचानक बैठकबाट बाहिर स्वास्थ्य बिग्रिएर गएको भन्ने विषय आएकाले प्रधानमन्त्रीको स्वास्थ्य बारे संसदलाई जानकारी दिन माग गरेका हुन् । उनले प्रधानमन्त्रीका कारण संसदीय समितिका बैठक समेत प्रभावित भएको प्रति उनले सरकार र रास्वपाको ध्यानाकर्षण गराए ।
उनले करिब दुई तिहाइको जित हासिल गर्दा पनि एउटा गृहमन्त्री नियुक्त समेत गर्न नसकेको भन्दै आलोचना गरेका थिए । साथै उनले तत्कालीन गृहमन्त्री सुधन गुरूङमाथि छानबिन गर्न सरकार हिच्किचाएको भन्दै प्रश्न गरेका छन् । उनले भने- ‘अरूलाई भ्रष्टाचारको एकोहोरो आरोपबाट अल्गोरिदमिक खेदाइ गर्ने तर आफ्नै तत्कालीन गृहमन्त्रीमाथि लागेको संगीन आरोपहरूको कुनै छानबिन नगर्ने कस्तो सुशासन हो ? तत्कालीन गृहमन्त्री माथिको आरोपहरूको निष्पक्ष छानबिन किन हच्किएको म सभामुखज्यूमार्फत सोध्न चाहन्छु ।’
१३- नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले पार्टी केन्द्रीय समितिमा गरिएको १९ जनाको मनोनयनले कांग्रेसको बृहत्तर एकतामा असर पुगेको बताएका छन् । उनले सोमबार धारणा सार्वजनिक गर्दै पार्टीको समग्र एकता बिना राष्ट्रिय राजनीतिमा कांग्रेसले प्रभावकारी भूमिका खेल्न नसक्ने उल्लेख गरे । विगतको निर्वाचन परिणामले कांग्रेसलाई ठूलो शिक्षा दिएको भन्दै उनले पार्टीभित्रको एकतालाई राष्ट्रको आवश्यकता भएको बताएका छन् । कोइरालाले विभाजित कांग्रेसका कारण विगतमा पार्टीले नागरिकको भरोसा गुमाएको स्मरण गर्दै आगामी स्थानीय तह र प्रदेश निर्वाचनमा पनि जनविश्वास जित्न नसके कांग्रेसको औचित्यमाथि प्रश्न उठ्न सक्ने चेतावनी दिए ।
उनले हजारौं युवा, संघर्षशील र त्यागी कार्यकर्ताको राजनीतिक भविष्य सुनिश्चित गर्न पार्टी भावनात्मक र राजनीतिक रूपमा एकताबद्ध हुनुपर्ने धारणा राखे । अहिले लोकतन्त्र र संविधानवादमाथि चुनौती बढिरहेका बेला कांग्रेस गुट–उपगुटमा विभाजित हुनु दुःखद भएको उनको भनाइ छ । कोइरालाले १४ औँ महाधिवेशनपछि नवीकरण तथा वितरण गरिएका क्रियाशील सदस्यताकै आधारमा १५ औँ महाधिवेशनलाई ‘एकता महाधिवेशन’ का रूपमा सम्पन्न गर्नुपर्ने बताएका छन् ।
१४- इरानले आफूविरुद्ध फेरि हमला भए युरेनियमलाई ९० प्रतिशतसम्म समृद्ध बनाउने चेतावनी दिएको छ । इरानी संसदको आयोगका प्रवक्ता इब्राहिम रेजाईले यस्तो विकल्पबारे संसदमा समीक्षा हुने बताएका हुन् । इरानले अमेरिका र इजरायललाई लक्षित गर्दै पुनः आक्रमण भए कडा कदम चाल्ने संकेत दिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् । ९० प्रतिशतसम्मको युरेनियम संवर्धनलाई हतियारस्तरको मानिन्छ । अन्तर्राष्ट्रिय आणविक ऊर्जा एजेन्सीका अनुसार इरानले यसअघि नै ६० प्रतिशतसम्म युरेनियम संवर्धन गरिसकेको छ, जुन आणविक हतियार निर्माणको तह नजिक मानिन्छ । एजेन्सीको पछिल्लो प्रतिवेदनअनुसार पछिल्ला वर्षहरूमा इरानले ६० प्रतिशत शुद्धताको युरेनियम उत्पादनलाई तीव्र बनाएको छ ।
१५- अमेरिकाले आफ्नो रणनीतिक पेट्रोलियम भण्डारबाट ५ करोड ३३ लाख ब्यारेल कच्चा तेल बजारमा उपलब्ध गराउने भएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प नेतृत्वको प्रशासनले अमेरिका-इजरायल र इरानबीच बढ्दो तनावका कारण अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य तीव्र बढेपछि यस्तो निर्णय गरेको हो । रिपोर्टका अनुसार उक्त कच्चा तेल ऊर्जा कम्पनीहरूलाई ऋण स्वरूप उपलब्ध गराइनेछ । युद्ध र विश्वव्यापी आपूर्ति संकटका कारण प्रभावित तेल बजारलाई स्थिर बनाउने उद्देश्यले यो कदम चालिएको बताइएको छ ।
गत महिना अमेरिकी ऊर्जा विभागले ९ करोड २५ लाख ब्यारेल तेल उपलब्ध गराएको थियो । तर एक्सन मोबिल, ट्राफिगुरा र म्याराथन पेट्रोलियमसहित ९ ऊर्जा कम्पनीले त्यसको केवल ५८ प्रतिशत मात्र उपयोग गरेका थिए । प्रतिवेदनअनुसार यो निर्णय अमेरिकी ऊर्जा विभागको दीर्घकालीन रणनीतिक योजनाको हिस्सा हो । विभागले युद्धको प्रभाव कम गर्न कुल १७ करोड २० लाख ब्यारेल तेल भण्डारबाट बजारमा ल्याउने योजना बनाइरहेको जनाएको छ । अमेरिका-इरान तनाव र होर्मुज जलडमरूमध्यमा देखिएको संकटका कारण विश्व बजारमा तेल आपूर्तिबारे चिन्ता बढिरहेको छ । ब्रेन्ट क्रुड तेलको मूल्य प्रतिव्यारेल १०४ अमेरिकी डलर नाघिसकेको छ ।
१६- अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले रुग्न रहेका सरकारी उद्योगलाई निजी क्षेत्रसँग साझेदारी गरेर संचालन गर्ने सरकारको नीति रहेको स्पष्ट गरेका छन् । संघीय संसद अन्तर्गतको अर्थ समितिको वैठकमा बोल्दै अर्थमन्त्री वाग्लेले रुग्न रहेका उद्योगको विभिन्न चरणमा अध्ययन भइरहेको र सरकारले आफै संचालन गर्ने भन्दा पनि निजी क्षेत्रसँग सहकार्य गर्दै संचालन गर्ने स्पष्ट गरेका हुन् ।
अर्थमन्त्री वाग्लेले सांसदहरुले बजेटको विषयलाई चासो दिएर अनौपचारिक रुपमा व्यक्तिगत र समूहगत रुपमा समेत भेटघाट गरिरहेको जानकारी दिदै अधिकांश सांसदहरु नीतिगत भन्दा पनि केहि साना–साना बजेटकै कुरा लिएर आउने गरेको बताएका थिए । उनले यस पटक बजेटमा सिधै अर्थ मन्त्रालय प्रवेश नगर्ने र जुन मन्त्रालय अन्तर्गतको योजना हो त्यहि मन्त्रालय अन्तर्गत आउनु पर्छ भन्ने सिद्धान्तको आधारमा अगाडि बढिरहेको सांसदहरुलाई जानकारी गराएका थिए ।
१७- नेकपा एमालेको संसदीय दलको उपनेतामा पदमा अर्याल मनोनित भएकी छन् । एमाले संसदीय दलका नेता रामबहादुर थापा बादलले उपनेतामा पद्मा अर्याललाई मनोयन गरेका हुन् । नेता बादलले यसअघि एमालेको संसदीय दलको प्रमुख सचेतकमा ऐन महर र सचेतकमा निशा घतानीलाई मनोनयन गरेका थिए ।
१८- नेपाली बजारमा आज सुनचाँदीको मुल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार मंगलबार सुनको मुल्य तोलाको ४४ सयले बढेर तोलाको ३ लाख २ हजार ९ सयमा कारोबार भइरहेको छ । यसअघि सोमबार सुन तोलाको २ लाख ९८ हजार ५ सयमा कारोबार भएको थियो । यस्तै, आज चाँदीको मुल्य पनि बढेको छ । महासङ्घका अनुसार आज चाँदी तोलाको ३५५ रुपैयाँले बढेर ५६९५ मा कारोबार भइरहेको छ । यसअघि सोमबार चाँदी तोलाको ५३४० मा कारोबार भएको थियो ।
१९- दक्षिण अफ्रिकाका राष्ट्रपति सिरिल रामाफोसाले आफूमाथि महाभियोग प्रक्रिया सुरु हुन लागे पनि पदबाट राजीनामा नदिने स्पष्ट पारेका छन् । उनले राष्ट्रका नाममा टेलिभिजन सम्बोधन गर्दै केही समूहले राजीनामाको माग गरिरहेको भए पनि धेरै नागरिकले आफू पदमै रहन चाहेको बताएका छन् । उनले संवैधानिक प्रक्रिया पूरा नहुँदासम्म राजीनामा नदिने अडान दोहोर्याएका छन् । राष्ट्रपति रामाफोसाले अहिले राजीनामा दिए आफूले अनुसन्धान प्रतिवेदनलाई सही ठानेको अर्थ लाग्ने बताएका छन् । उनले उक्त प्रतिवेदनमा गम्भीर कमजोरी रहेको दाबी गर्दै आफ्नो कार्यकाल पूरा गर्ने बताएका छन् ।
यो विवाद ‘फाला फाला’ नामक निजी फार्मसँग सम्बन्धित छ । उक्त फार्ममा विदेशी जातका गाईभैंसी पालन गरिन्छ । सन् २०२० मा फार्मबाट करिब पाँच लाख ८० हजार अमेरिकी डलर चोरी भएको आरोप लागेको थियो । उक्त रकम छालाको सोफाभित्र लुकाएर राखिएको बताइएको छ । घटना सार्वजनिक भएको दुई वर्षपछि दक्षिण अफ्रिकाको राज्य सुरक्षा एजेन्सीका पूर्व प्रमुख अर्थर फ्रासरले राष्ट्रपति विरुद्ध उजुरी दिएका थिए । उजुरीमा राष्ट्रपति रामाफोसाले ठूलो रकमबारे सरकारी निकायलाई जानकारी नदिएको र चोरीको घटना प्रहरीमा दर्ता नगरेको आरोप लगाइएको थियो । रामाफोसाले भने उक्त रकम सुडानी व्यापारी मुस्तफा मोहम्मद इब्राहिम हाजिमलाई भैंसी बिक्री गरेर प्राप्त भएको दाबी गरेका थिए । तर घटनापछि कानुनी र नैतिक प्रश्न उठेका थिए ।
विवाद बढेपछि दक्षिण अफ्रिकी संसदले स्वतन्त्र अनुसन्धान समिति गठन गरेको थियो । समितिको प्रारम्भिक प्रतिवेदनमा राष्ट्रपतिले गम्भीर कानुन उल्लंघन गरेको हुन सक्ने उल्लेख गरिएको थियो । त्यसपछि सन् २०२२ मा उनीविरुद्ध महाभियोग प्रक्रिया सुरु गर्ने अवस्था बनेको थियो । यद्यपि पछि दक्षिण अफ्रिकी रिजर्भ बैंक र सार्वजनिक संरक्षक कार्यालयले केही कानुनी आरोपबाट रामाफोसालाई राहत दिएका थिए । उनीहरूको निष्कर्षअनुसार भैंसी बिक्री प्रक्रिया पूरा नभएकाले रकम औपचारिक रूपमा घोषणा गर्न कानुनी बाध्यता नरहेको बताइएको थियो ।
यसबीच दक्षिण अफ्रिकाको संवैधानिक अदालतले संसदले सन् २०२२ मा अनुसन्धान प्रतिवेदन खारेज गर्नु गलत र असंवैधानिक भएको फैसला गरेको छ । अदालतले उक्त प्रतिवेदनलाई औपचारिक महाभियोग समितिमा पठाउन आदेश दिएको छ । अदालतको आदेशपछि संसदकी सभामुख थोको डिडिजाले महाभियोग समिति गठन गरिने घोषणा गरेकी छन् । समितिले सार्वजनिक सुनुवाइ गर्दै ‘फाला फाला’ प्रकरणमा राष्ट्रपतिको भूमिकाबारे थप अनुसन्धान गर्ने जनाइएको छ ।
२०- काठमाडौँ । दिल्ली क्यापिटल्सले जारी आइपिएलमा पञ्जाव किंग्सलाई पराजित गरेको छ । गएराती सम्पन्न खेलमा दिल्लीले पञ्जावलाई ३ विकेटले पराजित गरेको हो । पञ्जावले दिएको २११ रनको लक्ष्य पछाएको दिल्लीले १९ ओभरमा ७ विकेट गुमाउदै लक्ष्य पुरा गरेको थियो । दिल्लीको जितमा कप्तान अक्सर पटेलले ५६ रन बनाए भने डेभिड मिलरले ५१, आशुतोष शर्माले २४, माधव तिवारीले १८ रन बनाएका थिए । त्यस्तै पञ्जावका बलर यश ठाकुर र अर्शदीपले २-२ विकेट लिएका थिए ।
यसअघि टस हारेर पहिला ब्याटिंग गरेको पञ्जावले २० ओभरमा ५ विकेट गुमाउदै २१० रन बनाएको थियो । पञ्जावका लागि कप्तान श्रेयस अय्यरले ५९ रन बनाएका थिए भने प्रियांस आर्याले ५६ र कूपर कोन्नोलीले ३८ रन बनाएका थिए । यो जितपछि दिल्लीको १२ खेलमा १० अंक भएको छ । दिल्लीको अब २ खेल मात्र खेल्न बाँकी रहेकाले दुवै खेल जितेपनि प्लेअफको सम्भावना भने निकै कम रहेको छ । त्यस्तै पञ्जावले भने योसहित लगातार चार खेलमा हार बेहोरेको छ । पञ्जावको ११ खेलमा १३ अंक रहेको छ र चौथो स्थानमा झरेको छ । जारी आइपीएलमा आज गुजरात टाइटन्स र सनराइजर्स हैदरावादबीच खेल हुदैछ ।