काठमाडौँ । आज देश विदेशका प्रमुख २० समाचार यस प्रकार रहेका छन् ।
१- संविधान संशोधनका लागि बहसपत्र तयार गर्न गठित कार्यदलले पूर्वराष्ट्रपतिद्वय डा. रामवरण यादव र विद्यादेवी भण्डारीसँग छुट्टाछुट्टै भेट गरी संविधान संशोधनका विषयमा महत्वपूर्ण सुझाव संकलन गरेको छ । प्रधानमन्त्री वालेन्द्र शाहका राजनीतिक सल्लाहकार अशिम शाहको संयोजकत्वमा गठित कार्यदलले पूर्वराष्ट्रपतिद्वय डा. यादव र भण्डारीको निवासमै पुगेर राष्ट्रिय हित र प्रणालीगत सुधारका विषयमा केन्द्रित भई महत्वपूर्ण छलफल गरेको हो ।
पूर्वराष्ट्रपति डा. रामवरण यादवले जतिसक्दो फराकिलो राष्ट्रिय सहमति कायम गरेर मात्र बहसपत्र तयार पार्न कार्यदललाई सुझाव दिएका छन् । नेपाली जनताको निकै ठूलो संघर्ष, अनवरत बलिदान र संविधानसभाको समय थपेर गहन छलफलका बीच जारी भएको संविधानको मूल मर्मलाई जीवन्त राख्नु आजको आवश्यकता भएको उनले प्रस्ट पारे । उनले संविधानमा व्यवस्था गरिएका संघीयता, लोकतन्त्र, गणतन्त्र, धर्मनिरपेक्षता र समानुपातिक समावेशी जस्ता मुख्य स्तम्भहरूलाई अक्षुण राख्दै नयाँ पुस्ताका बदलिँदा माग र भावनालाई ध्यानमा राखेर अघि बढ्नुपर्नेमा विशेष जोड दिए ।
यसैगरी, पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले पनि संसद्मा झण्डै दुईतिहाइ मत ल्याएको दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले संविधान संशोधनको यो राजनीतिक प्रक्रिया सुरु गर्नु सकारात्मक भएको उल्लेख गर्दै कार्यदलले अपनाएको कार्यशैली र प्रक्रियाको सराहना गरेकी थिइन् । संविधान आफैंमा एउटा राजनीतिक सम्झौताको दस्तावेज भएकाले यसको संशोधन गर्दा पनि बृहत् राष्ट्रिय सहमति कायम गरेर अघि बढ्नु आवश्यक रहेको र विशेष गरी निर्णायक मत बोकेका दलहरूले चाहेमा आपसी सहमतिमा संविधान संशोधनको कार्यलाई सहज रूपमा अगाडि बढाउन सक्ने उनको धारणा छ।
महिला सहभागिता र समावेशीताको सवालमा पूर्वराष्ट्रपति भण्डारीले संविधानमा सुनिश्चित गरिएको महिलाहरूको एकतिहाइ सहभागिताको उपलब्धिलाई रक्षा गर्दै यसलाई अझ बढी व्यावहारिक बनाउनुपर्नेमा जोड दिएकी छन् । हालको समानुपातिक प्रणाली इमानदार र क्षमतावान् कार्यकर्ताका लागि हुनुपर्नेमा यसको दुरुपयोग बढेको र यसले ठूला दलहरूलाई बदनाम गराएकाले अब प्रत्यक्ष निर्वाचन प्रणालीमै महिलाहरूको संख्या स्पष्ट रूपमा निर्धारण गरिनुपर्ने उनको सुझाव छ । पूर्वराष्ट्रपतिद्वयसँगको महत्वपूर्ण छलफलपछि कार्यदलले पूर्वप्रधानमन्त्रीहरूलाई समेत भेटेर संविधान संशोधनका विषयमा सुझाव संकलन गर्ने गृहकार्य अघि बढाएको छ ।

२- समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको कार्यालयले समस्याग्रस्त घोषित पशुपति सेभिङ एण्ड क्रेडिट सहकारी संस्था लिमिटेड का १४० जना ऋणीहरूको नामावली सार्वजनिक गरेको छ । समितिले उपलब्ध ऋण विवरणका आधारमा नामावली सार्वजनिक गरिएको जनाएको छ। यस क्रममा साविकमा ऋण चुक्ता गरिसकेका तर नामावलीमा नाम समावेश भएका व्यक्तिहरूलाई प्रमाणसहित उपस्थित हुन समेत आग्रह गरिएको छ ।

त्यस्तै, ऋण तिर्न बाँकी रहेका ऋणीहरूलाई समितिको कार्यालयमा सम्पर्क गरी यथाशीघ्र ऋण चुक्ता गर्न सूचित गरिएको छ। अन्यथा प्रचलित कानुनअनुसार असुली प्रक्रिया अघि बढाइने समितिले चेतावनी दिएको छ। समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले सहकारीको रकम फिर्ता गराउने तथा बचतकर्ताको हित संरक्षण गर्ने उद्देश्यले ऋणीहरूको विवरण सार्वजनिक गरिएको स्पष्ट पारेको छ ।

३- परराष्ट्रमन्त्री शिशिर खनाल भारतको औपचारिक भ्रमणमा जाने भएका छन् । भारतका विदेशमन्त्री एस. जयशंकरको निमन्त्रणामा मन्त्री खनाल शुक्रबार नयाँ दिल्ली प्रस्थान गर्ने परराष्ट्र मन्त्रालयले जानकारी दिएको छ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने भारत भ्रमणबाट फर्किने दिनमै परराष्ट्र मन्त्री खनालको भारत भ्रमणलाई अर्थपूर्णरूपमा हेरिएको छ । मन्त्री खनाल जेठ २२ देखि २४ गतेसम्म भारत भ्रमणमा रहने परराष्ट्र मन्त्रालयले जनाएको छ ।
भ्रमणका क्रममा मन्त्री खनालले नयाँ दिल्लीमा भारतीय विदेशमन्त्री जयशंकरसँग औपचारिक भेटवार्ता गर्ने कार्यक्रम रहेको छ । भेटमा व्यापार, लगानी, कनेक्टिभिटी, ऊर्जा तथा जनस्तरको सम्बन्धलगायत आपसी हितका विविध विषयमा छलफल हुने जनाइएको छ । दुवै पक्षले नेपाल-भारत सम्बन्धलाई थप सुदृढ बनाउने तथा पारस्परिक सहकार्य विस्तार गर्ने विषयमा विचार आदानप्रदान गर्ने परराष्ट्र मन्त्रलयले बताएको छ ।
४- जल तथा मौसम विज्ञान विभागअन्तर्गत मौसम पूर्वानुमान महाशाखाले देशका विभिन्न तराई क्षेत्रहरूमा अत्यधिक गर्मी र तातो लहरको जोखिम बढ्दै गएको भन्दै विशेष बुलेटिन जारी गरेको छ । महाशाखाका अनुसार जेठ १९ गतेदेखि मधेश, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भूभागका केही स्थानहरूमा अधिकतम तापक्रम ३७ डिग्री सेल्सियस वा सोभन्दा बढी मापन गरिएको छ ।
लुम्बिनी प्रदेशका तराई क्षेत्रका एक–दुई स्थानमा भने तापक्रम ३९ डिग्री सेल्सियसभन्दा माथि पुगेको छ । देशभरको तापक्रम अवस्थाको विश्लेषण गर्दा आगामी तीन दिनसम्म पनि कोशी, मधेश, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भूभागका केही स्थानहरूमा अधिकतम तापक्रम ३८ डिग्री सेल्सियस वा सोभन्दा बढी रहने सम्भावना रहेको महाशाखाले जनाएको छ ।
विशेषगरी मधेश र लुम्बिनी प्रदेशका तराई क्षेत्रका केही स्थानहरूमा आगामी तीन दिनसम्म मध्यम स्तरको तातो लहर चल्न सक्ने भएकाले सर्वसाधारणलाई सतर्क रहन आग्रह गरिएको छ । साथै कोशी, बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशका तराई क्षेत्रका केही स्थानहरूमा तातो दिनको अवस्था रहने सम्भावना भएकाले विभागबाट जारी हुने पछिल्ला मौसम सूचनाहरू नियमित रूपमा हेर्न अनुरोध गरिएको छ । महाशाखाले बर्दिया, बाँके, दाङ, कपिलवस्तु, रुपन्देही, पश्चिम नवलपरासी, पर्सा, बारा, रौतहट, सर्लाही, महोत्तरी, धनुषा, सिराहा र सप्तरी जिल्लाका बासिन्दालाई विशेष सतर्कता अपनाउन आग्रह गरेको छ ।
त्यस्तै कञ्चनपुर, कैलाली, पूर्वी नवलपरासी, चितवन, सुनसरी, मोरङ र झापा जिल्लाका बासिन्दालाई मौसमसम्बन्धी अद्यावधिक सूचनामा नियमित ध्यान दिन भनिएको छ । महाशाखाका अनुसार तातो हावा र तातो लहरका कारण थकान महसुस हुने, शरीर कमजोर हुने, अत्यधिक तिर्खा लाग्ने, टाउको दुख्ने, खुट्टा बाउँडिने, चक्कर लाग्ने, बेहोस हुने, मांसपेशी दुख्ने तथा बान्ता हुनेजस्ता स्वास्थ्य समस्या देखिन सक्छन् ।
यस्ता समस्याबाट बच्न अत्यधिक गर्मी हुने समयमा घरभित्र वा चिसो स्थानमा बस्न, अनावश्यक रूपमा बाहिर ननिस्किन, चर्को घामबाट जोगिन, हल्का तथा सुतीका कपडा लगाउन, बाहिर जाँदा टाउको छोप्न वा टोपी प्रयोग गर्न, प्रशस्त मात्रामा पानी तथा झोल पदार्थ पिउन र स्वास्थ्यमा समस्या देखिए स्वास्थ्यकर्मीसँग तत्काल परामर्श लिन महाशाखाले सुझाव दिएको छ । महाशाखाले दैनिक रूपमा जारी हुने मौसम पूर्वानुमान बुलेटिनमार्फत थप अद्यावधिक जानकारी सार्वजनिक गरिने जनाएको छ। साथै सम्पूर्ण नागरिकलाई आधिकारिक मौसमी सूचनाहरू नियमित रूपमा पछ्याउन अनुरोध गरेको छ ।
५- टिकटकर तुलसा अधिकारी पुर्पक्षका लागि कारागार चलान भएकी छन् । ललितपुर जिल्ला अदालतका न्यायाधीश टेकनाथ गौतमको इजलासले अधिकारीको आदेशमा अधिकारीलाई पुर्पक्षका लागि कारगार चलान गरिएको हो । थुनछेक बहसका लागि प्रहरीले अधिकारीलाई बिहीबार अदालत उपस्थित गराएको थियो । उनलाई सुन्धारास्थित जगन्नाथ देवल कारागार पठाइएको छ । कुमार चिमोरियाको जाहेरीपछि प्रहरीले अधिकारीविरुद्ध रेड कर्नर नोटिस जारी गरेर इन्टरपोलको सहयोगमा पक्राउ गरेर नेपाल ल्याएको थियो ।
६- नापी विभागले ‘मेरोकित्ता’ मोबाइल एप सार्वजनिक गरेको छ। भूमि व्यवस्था, सहकारी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री प्रतिभा रावलको उपस्थितिमा एप सार्वजनिक गरिएको हो। उक्त एपमार्फत नागरिकले जग्गासम्बन्धी सेवाहरु घरमै बसेर प्राप्त गर्न सक्ने भएका छन् । नापी विभागका अनुसार एप एन्ड्रोइड र आईओएस दुवै प्लेटफर्ममा उपलब्ध रहेको छ भने प्ले स्टोर र एप स्टोरबाट डाउनलोड गर्न सकिने व्यवस्था मिलाइएको छ ।
एपमार्फत नक्सा प्रिन्ट, फिल्डबुक उतार, प्लट रजिस्टर उतार तथा फिल्ड रेखांकनका लागि अनलाइन आवेदन दिन सकिनेछ। आवेदन दर्तापछि प्रणालीबाट ओटीपी उपलब्ध हुने र सेवाग्राहीले मोबाइल नम्बर तथा ओटीपी प्रयोग गरी आफ्नो आवेदनको अवस्था नियमित रूपमा हेर्न सक्नेछन् । यस्तै, ई- सेवा, खल्ती र कनेक्ट आईपीएस मार्फत राजस्व तिर्न सकिने सुविधा पनि एपमा समावेश गरिएको छ। फिल्ड रेखांकन सेवाका लागि आवश्यक राजस्वसमेत अनलाइनबाटै भुक्तानी गर्न सकिने नापी विभागले जनाएको छ ।
एपमार्फत सम्बन्धित नापी कार्यालयका कार्यालय प्रमुख तथा सूचना अधिकारीको सम्पर्क नम्बरसमेत प्राप्त गर्न सकिने व्यवस्था गरिएको छ। ‘मेरोकित्ता सेवा मोबाइल एपसँगै वेब संस्करणमा पनि उपलब्ध रहेको विभागले जनाएको छ । मन्त्री प्रतिभा रावलले सूचना प्रविधिको प्रयोगमार्फत सार्वजनिक सेवामा नागरिकको पहुँच विस्तार गर्नु सरकारको प्राथमिकता रहेको बताइन्। उनले जग्गासम्बन्धी सेवा लिन सेवाग्राहीले कार्यालय धाउनुपर्ने बाध्यता क्रमशः अन्त्य हुँदै गएको उल्लेख गर्दै ‘मेरोकित्ता’ एपले सेवा प्रवाहलाई थप सहज, छरितो, पारदर्शी र प्रभावकारी बनाउने विश्वास व्यक्त गरिन्। मन्त्री रावलले डिजिटल सुशासनलाई सुदृढ बनाउन यस्ता प्रविधिमैत्री सेवाहरूलाई थप विस्तार गर्दै लैजाने प्रतिबद्धता समेत व्यक्त गरिन् ।
७- नेपाल क्रिकेट संघ (क्यान) ले आज भएको एसीसी महिला प्रिमियर कप अन्तर्गत नेपाल र भुटानबीचको खेलमा भुटानी ब्याटरलाई टाइम आउट दिएको विषयप्रति दुख व्यक्त गर्दै भुटान क्रिकेटसँग माफी मागेको छ । क्यानका सचिव पारस खड्काले विज्ञप्ति जारी गर्दै टाइम आउटको घटना क्रिकेटको मूल भावना र मूल्यसँग मेल नखाने भन्दै भुटान क्रिकेट संघ, सम्बन्धित खेलाडी तथा सबै सरोकारवालाप्रति पनि संघले क्षमायाचना गरेका हुन् ।
आज भएको खेलमा ढिलो गरि मैदानमा आएकी भुटानी ब्याटर रित्शी छोडेनविरुद्ध नेपालको अपिलपछि आउट दिइएको थियो । महिला राष्ट्रिय टोलीको उक्त व्यवहारप्रति गहिरो खेद व्यक्त गर्दै सचिव खड्काले नियमअनुसार आउट दिइए पनि खेलको भावना केवल नियममा मात्र सीमित नहुने र स्पोर्ट्सम्यानसिप सधैं केन्द्रमा रहनुपर्ने उल्लेख गरेका छन् । विकासोन्मुख क्रिकेट राष्ट्रका रूपमा नेपालले खेल भावना, आपसी सम्मान र निष्पक्ष खेललाई उच्च प्राथमिकतामा राख्ने जनाउदै खड्काले यो घटनाले ती मूल्यहरू पूरा गर्न नसकेको स्वीकार गर्दै यसले पारेको असन्तुष्टिप्रति पनि दुःख व्यक्त गरेका छन् । साथै उनले भविष्यमा खेलको मैदानभित्र र बाहिर दुवै ठाउँमा उच्च इमानदारी र क्रिकेटको भावना कायम राख्ने प्रतिबद्धता दोहोर्याएका छन् ।
८- देशभरका समुदायिक विद्यालयमा कार्यरत कर्मचारीहरुले तलब वृद्धिसहितका माग राख्दै आन्दोलन गर्ने चेतावनी दिएका छन् । नेपाल विद्यालय कर्मचारी परिषदले बजेटमा सबै राष्ट्र सेवक कर्मचारीको तलब १० प्रतिशत, तलबको १० प्रतिशत प्रोत्साहन भत्ता र ५ हजार महंगी भत्ता तोकिदा नेपालभरका सामुदायिक विद्यालयमा कार्यरत कर्मचारीको बेवास्ता गरिएको भन्दै सरकारको ध्यानाकर्षण गस्राएको छ । परिषदले विद्यालय कर्मचारीको दरवन्दी, सेवा-सर्त सम्बन्धी स्पष्ट कानुनी व्यवस्था सहितको संघिय शिक्षा ऐन जारी गर्न, उक्त ऐनमा विद्यालय कर्मचारीको तलब भत्ता सेवा तथा सुविधाहरु निजामति सरह हुनेगरी संघीय बजेटबाट व्यवस्था गर्न, ऐन जारी नहुदाँ सम्मका लागी हाल विद्यालय कर्मचारीहरुलाई संघिय सरकारवाट प्राप्त हुदै अइरहेको पारिश्रमिक (विद्यालय कर्मचारीलाई मासिक १५००० र विद्यालय सहयोगीलाई मासिक १००००) वृद्धि गरि आ.व. २०८३।०८४ देखिनै लागु हुनेगरी तलव भत्ता विद्यालय कर्मचारी (लेखापाल) को ना.सु. वा सो सरह र सहयोगी कर्मचारीको सहयोगी प्रथम स्तर सरह हुनेगरी संघिय सरकारवाट व्यस्थापन गर्न माग गरेको छ ।
त्यस्तै विद्यालयमा राष्ट्रिय मापदण्ड अनुसार विद्यालमा विद्यालय कर्मचारीको दरवन्दी कायमगरी हाल कार्यरत कर्मचारीहरुलाई अनुभवका आधारमा दरवन्दीमा राखी स्थायीको लागी व्यवस्था गर्न, विद्यालय कर्मचारीको पदोन्नति तथा स्तरवृद्धि प्रणाली लागू गर्न, विद्यालय कर्मचारीलाई सामाजिक सुरक्षा, स्वास्थ्य बीमा तथा निवृत्तिभरणको व्यवस्था गर्न, कर्मचारीहरूको क्षमता अभिवृद्धिका लागि नियमित तालिम कार्यक्रम सञ्चालन गर्न र ६० वर्ष पुगेर अवकास भएका तथा सेवामै रहेका कर्मचारीहरुलाई सेवावाट हटाउदा सम्मानजनक सेवा सुविधाको व्यवस्था गर्न माग गरेको छ । परिषदले मागहरू सम्बोधन भएमा देशभरका विद्यालय कर्मचारीहरूको मनोबल उच्च भई विद्यालय प्रशासनलाई थप प्रभावकारी बनाउन महत्वुर्ण भूमिका खेल्ने तथा सम्वोधन नभएमा दोस्रो चरणका काठमाडौँ केन्दित सशक्त आन्दोलन गर्ने बताएको छ ।
९- नेपालले मलेसियालाई १६७ रनको फराकिलो अन्तरले पराजित गरेको छ । एशियन गेम्स अन्तर्गत क्रिकेटतर्फको छनौट खेलमा नेपालले दिएको २७६ रनको विशाल लक्ष्य पछाएको मलेसियाले २० ओभरमा ९ विकेट गुमाउदै १०८ रन मात्र बनाएको थियो । मलेसियाका लागि कप्तान सयेद अजिजले सर्बाधिक ५४ रन बनाएका थिए । त्यस्तै नेपाली बलर शेर मल्लले सर्बाधिक ३ विकेट लिएका थिए । यसअघि टस हारेर पहिला ब्याटिंग गरेको नेपालले २० ओभरमा ७ विकेट गुमाउदै २७५ रन बनाएको थियो । नेपालका लागि ओपनर कुशल भुर्तेलले विस्फोटक ब्याटिंग गर्दै ५४ बलमा १२६ रनको शतकीय पारी खेलेका थिए । कुशलको यो टी-२० खेलमा लगातार दोस्रो शतक हो ।
त्यस्तै आरिफ सेखले पनि आक्रमण ब्याटिंग गर्दै २४ बलमा ६८ रन बनाएका थिए । त्यस्तै कप्तान दिपेन्द्र सिंह ऐरीले ११ बलमा ३१ रन बनाए भने सन्दीप जोराले १५ रन बनाएका थिए । त्यस्तै मलेसियाका बलर विरनदीप सिंहले ३ विकेट लिएभने सयेद अजिज र विजय उन्नीले २-२ विकेट लिएका थिए । यो जितपछि नेपाल समुह विजेता हुदै सेमिफाइनलमा पुगेको छ । त्यस्तै हारका बाबजुत मलेसिया उपविजेता हुदै सेमिफाइनल खेल्ने छ । नेपाल र मलेसिया दुवै एशियन गेम्समा यसअघि नै छनौट भैसकेका छन् । अब नेपालले सेमिफाइनलमा कुन देशसँग खेल्छ भन्ने समुह बि का समुह चरणका खेलपछि टुंगो लाग्ने छ ।
१०- नेप्से आज दोहोरो अंकले घटेको छ । आज विहिबार नेप्से १३.४६ अंकले घटेर २७६६.७८ विन्दुमा पुगेर रोकिएको छ । आज ३५३ कम्पनिका एक करोड ६ लाख १७ हजार ४८३ कित्ता शेयर ४ अर्ब ७० करोड ३३ लाख २६ हजार ९४४ मा कारोबार भएको थियो । आज म्युचुअल फण्ड बाहेक सबै क्षेत्रको शेयर मुल्य घटेको छ । आज, सबैभन्दा बढी कालिन्चोक हाइड्रोको शेयर १४.९९ प्रतिशतले बढेको छ भने न्यादी हाइड्रोको शेयर ९.१६ प्रतिशतले बढेको छ । त्यस्तै आज सबै भन्दा बढी सिद्धार्थ बैंकको डिभेन्चरको शेयर १०.४८ प्रतिशतले घटेको छ । त्यस्तै आज सबै भन्दा बढी एभरेष्ट बैंकको ३४ करोड बराबर कारोबार भएको छ भने अन्खु खोला जलविद्युतको ३२ करोड ५ लाख बराबरको कारोबार भएको छ ।
११- राप्रपा महामन्त्री डा. धवलशमशेर राणाले पार्टी छोडेर नयाँ राष्ट्रवादी पार्टी बनाउने घोषणा गरेका छन् । काठमाडौँमा आयोजित कार्यक्रममा राणाले राप्रपामा बस्न नसकेको भन्दै पार्टी छोडेर नयाँ पार्टी बनाउन लागेको स्पष्ट गरेका हुन् । उनले पछिल्लो चार बर्ष राप्रपामा आफ्नो राजनीतिक जीवनमै सबै भन्दा पिडादयाक समय भएको बताए । उनले राप्रपाका सबै नेता र कार्यकर्तालाई आफ्ना एजेण्डा राप्रपाबाटै पुरा हुन्छन भने त्यतै बस्न र त्यसो हुन्न भन्ने लाग्छ भने नयाँ पार्टीमा आउन आव्हान गरेका छन् ।
राणाले आफुले दुर्गा प्रसाईको अभियानसँग कुरा धेरै अगाडी बढेको भन्दै सबै राष्ट्रवादी शक्तिलाई समेट्न ठुलो छाती बनाउने बताए । उनले देशभर राप्रपा छोडेर आफ्नो पार्टीमा जोडिने क्रम शुरु भएको बताउदै यसको जानकारी आफुहरुले सुचना दिदै जाने स्पष्ट गरे । उनले नयाँ शक्ति राजनीतिक दल नै भएकोले यो कुनै राजावादी र हिन्दुवादी अभियान मात्र नभएको बताउदै पार्टीमा युवा र महिलाको पार्टी हुने र केन्द्रीय समितिमा ६० प्रतिशत युवा र महिला हुने बताए । उनले आजबाट आफुहरु राप्रपाबाट अलग भएको घोषणा गर्दै नयाँ पार्टी बनाउन जुटेको र यो अभियान देशमा राजासहितको हिन्दु सनातनी धर्म बोकेको व्यवस्था ल्याउन अगाडी बढेको स्पष्ट गरे ।
१२- कुशल भुर्तेलले टी- २० क्रिकेटमा लगातार दोस्रो शतक प्रहार गरेका छन् । कुशलले आज जारी मलेसियाविरुद्धको एशियन गेम्स अन्तर्गतको खेलमा शतक प्रहार गरेका हुन् । उनले ४४ बलमा १० चौका र ७ छक्का प्रहार गर्दै शतक प्रहार गरेका हुन् । यो कुशलको टी- २० क्रिकेटमा लगातार दोस्रो शतक हो भने कुल तेस्रो शतक हो । उनले यसअघि यसै प्रतियोगिताको पहिलो खेलमा चीनविरुद्ध १२९ रनको शतकीय पारी खेलेका थिए ।
१३- अमेरिकी मध्यस्थतामा इजरायल र लेबनानबीच युद्धविराममा सहमति भएको केही घण्टामै दक्षिणी लेबनानमा इजरायली ड्रोन आक्रमण भएको छ । आक्रमणमा केही व्यक्ति घाइते भएका छन् । लेबनानको राष्ट्रिय समाचार एजेन्सीका अनुसार इजरायली ड्रोनले दक्षिणी लेबनानको जेफ्ता–कफरवा सडकमा गुडिरहेको एक सवारीसाधनलाई निशाना बनाएको थियो ।
आक्रमणमा घाइते भएकाहरूको संख्या र स्वास्थ्य अवस्थाबारे भने तत्काल जानकारी सार्वजनिक गरिएको छैन । यसैबीच, दक्षिणी लेबनानको नबातियेह जिल्लामा पनि इजरायली ड्रोनले अर्को आक्रमण गरेको बताइएको छ । कफर रेमान र हब्बुश नगरबीचको सडक क्षेत्रमा आक्रमण भएको हो । अल जजिरा अरबीका अनुसार ड्रोनले कफर रेमान र हब्बुशलाई जोड्ने सडकलाई लक्षित गरेको थियो । आक्रमणमा कुनै सवारीसाधनलाई निशाना बनाइएको थियो वा थिएन भन्ने कुरा स्पष्ट हुन सकेको छैन । घटनाबाट भएको क्षति तथा सम्भावित मानवीय हताहतबारे थप विवरण आउन बाँकी रहेको छ । युद्धविराम सहमतिपछि भएको यो आक्रमणले क्षेत्रीय तनाव पुनः बढ्ने आशंका उत्पन्न गरेको छ ।
१४- माउन्ट एभरेस्ट पावर डेभलपमेन्ट लिमिटेडले साधारण सर्वसाधारणका लागि प्राथमिक सेयर (आइपिओ) निष्कासन गर्ने भएको छ । कम्पनीले आगामी असार ३ गतेदेखि १४ लाख २७ हजार ६ सय कित्ता सेयर निष्कासन गर्न लागेको हो । प्रति कित्ता १०० रुपैयाँ अंकित मूल्य रहेको यो आईपीओको प्रारम्भिक बन्द मिति असार ८ गते तोकिएको छ । तर पूर्ण आवेदन नपरेमा यो अवधि असार १७ गतेसम्म बढाइनेछ । कम्पनीको जारी पुँजी ८६ करोड रुपैयाँ रहेको छ ।
यसको ३० प्रतिशत अर्थात २५ लाख ८० हजार कित्ता सेयर सर्वसाधारणका लागि छुट्याइएको हो । यसअन्तर्गत १० प्रतिशत अर्थात ८ लाख ६० हजार कित्ता सेयर सोलुखुम्बु जिल्लाका आयोजना प्रभावित स्थानीयका लागि वितरण भइसकेको छ । बाँकी २० प्रतिशतमध्ये १० प्रतिशत अर्थात १ लाख ७२ हजार कित्ता सेयर वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि छुट्याइएको छ । त्यस्तै, कुल निष्कासनको २ प्रतिशत अर्थात ३४ हजार ४ सय कित्ता कम्पनीका कर्मचारीका लागि र ५ प्रतिशत अर्थात ८६ हजार कित्ता सामूहिक लगानी कोषका लागि सुरक्षित गरिएको छ । अब बाँकी १४ लाख २७ हजार ६ सय कित्ता सेयर सामान्य सर्वसाधारणका लागि निष्कासन गरिने भएको हो ।
यस आईपीओका लागि ग्लोबल आइएमई क्यापिटल लिमिटेडलाई निष्कासन तथा बिक्री प्रबन्धक तोकिएको छ । लगानीकर्ताले न्यूनतम १० कित्ता र अधिकतम १० हजार कित्तासम्म आवेदन दिन सक्नेछन् । क्रेडिट रेटिङ नेपाल लिमिटेडले कम्पनीको दीर्घकालीन तथा बैंक सुविधालाई ‘सीएआरई एनपी बीबी प्लस’ र अल्पकालीन बैंक सुविधालाई ‘सीएआरई एनपी ए फोर प्लस’ रेटिङ दिएको छ, जसले मध्यम जोखिम जनाउँछ । माउन्ट एभरेस्ट पावर डेभलपमेन्ट लिमिटेड सन् २०१४ नोभेम्बर १६ मा स्थापना भएको सार्वजनिक लिमिटेड कम्पनी हो । यसले सोलुखुम्बु जिल्लामा १२ मेगावाट क्षमताको दूधकुण्ड खोला जलविद्युत् आयोजना सन् २०२४ जुलाई ३१ देखि सञ्चालन गर्दै आएको छ ।
१५- बलिउड अभिनेता आमिर खान र उनकी प्रेमिका गौरी स्प्रैट छिट्टै विवाह बन्धनमा बाँधिने भएका छन् । हिन्दुस्तान टाइम्सको रिपोर्ट अनुसार दुवैले जुलाई ५ मा एक निजी समारोहमा विवाह गर्ने तयारी गरेका छन् । विवाह भव्य कार्यक्रम वा ठूलो रिसेप्सनबिना सानो पारिवारिक समारोहमै सीमित रहने बताइएको छ । उनीहरूले सानो हस्ताक्षर समारोहमार्फत आफ्नो सम्बन्धलाई औपचारिक बनाउनेछन् । आमिर खानले सन् २०२५ मा आफ्नो ६०औँ जन्मदिनको अवसरमा गौरीसँगको सम्बन्ध सार्वजनिक रूपमा स्वीकार गरेका थिए ।
यो विवाह आमिर खानको तेस्रो विवाह हुनेछ । यसअघि उनले सन् १९८६ मा फिल्म निर्माता रीना दत्तासँग विवाह गरेका थिए । सन् २००२ मा सम्बन्धविच्छेद भएपछि उनले सन् २००५ मा निर्देशक किरण रावसँग दोस्रो विवाह गरेका थिए । सन् २०२१ मा आमिर र किरणबीच सम्बन्धविच्छेद भएको थियो । मिडिया रिपोर्ट अनुसार आमिर र गौरी पछिल्लो एक वर्षभन्दा बढी समयदेखि लिभ–इन सम्बन्धमा बस्दै आएका छन् । दुवै एकैसाथ सुखी र स्थिर जीवन बिताइरहेका छन् । अब उनीहरूले परिवारको उपस्थितिमा कानुनी रूपमा सम्बन्धलाई अघि बढाउने निर्णय गरेका छन् । विवाह कार्यक्रममा केवल परिवारका सदस्य र नजिकका साथीहरू मात्र सहभागी हुनेछन् ।
गौरी स्प्रैट बैंगलोरकी सैलुन व्यवसायी तथा फेसन प्रोफेशनल हुन् । उनी मिश्रित सांस्कृतिक पृष्ठभूमिबाट आएकी हुन् । उनका बुबा तमिल–ब्रिटिस मूलका र आमा पंजाबी–आयरिस मूलकी हुन् । उनी १९२० को दशकमा भारतको स्वतन्त्रता आन्दोलनसँग जोडिएका ब्रिटिस कम्युनिस्ट फिलिप स्प्रैटकी नातिनी पनि हुन् । गौरीले लन्डन विश्वविद्यालय अफ द आर्ट्सबाट फेसन र स्टाइलिङ अध्ययन गरेकी हुन् । हाल उनी मुम्बईमा ‘बीब्लन्ट’ सैलुन सञ्चालन गरिरहेकी छिन् । उनी आमिर खान प्रोडक्सनसँग पनि काम गरिरहेकी बताइन्छ । आमिर खान र गौरी एकअर्कालाई झण्डै २५ वर्षदेखि चिन्ने साथी हुन् । पछि उनीहरूबीच प्रेम सम्बन्ध विकसित भएको हो ।
सम्बन्ध सार्वजनिक भएपछि गौरीलाई विभिन्न सार्वजनिक कार्यक्रममा आमिरसँग देखिँदै आएको छ । आमिरले एक पुरानो अन्तर्वार्तामा गौरीसँगको सम्बन्धले आफूलाई पूर्ण महसुस गराएको बताएका थिए । यसअघि आमिरले रीना दत्ता र किरण रावसँगको सम्बन्धलाई पनि गहिरो भएको तर समयसँगै अन्त्य भएको स्वीकार गरेका थिए । रीना दत्तासँग उनको पहिलो विवाह १६ वर्ष टिकेको थियो भने किरण रावसँगको दोस्रो विवाह १५ वर्षपछि २०२१ मा टुंगिएको थियो । दुवै सम्बन्धबाट उनका तीन सन्तान छन् ।
१६- रोल्पाको माडी गाउँपालिका–०२ घर्तिगाउँस्थित सहिद मार्गको कालापहर क्षेत्रमा जीप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । अस्थायी नम्बर प्लेट भएको बोलेरो गाडी सडकबाट करिब ५०० देखि ६०० मिटर तल खसेर दुर्घटना भएको प्रहरीले जनाएको छ । प्रहरीले घटनास्थलमा दुई पुरुष र एक महिलाको शव फेला परेको जनाएको छ भने मृतकहरूको पहिचान खुल्न सकेको छैन । जस्तापाता र प्लास्टिकका पाइप बोकेको उक्त गाडी दुर्घटनापछि प्रहरी उद्धार तथा अनुसन्धानमा खटिएको जनाएको छ ।
१७- नेपाली बजारमा आज सुनचाँदीको सामान्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार विहिबार सुनको मुल्य तोलाको २ सयले घटेर तोलाको ३ लाख ११ हजार १ सयमा कारोबार भइरहेको छ । यसअघि बुधबार सुन तोलाको ३ लाख ११ हजार ३ सयमा कारोबार भएको थियो । यस्तै, आज चाँदीको मुल्य पनि घटेको छ । महासङ्घका अनुसार आज चाँदी तोलाको ८५ रुपैयाँले घटेर तोलाको ५२८५ मा कारोबार भइरहेको छ । यसअघि बुधबार चाँदी तोलाको ५३७० मा कारोबार भएको थियो ।
१८- सगरमाथाको हिउँमा सात दिनसम्म हराएका दावा शेर्पा आज बिहान जीवितै फेला परेका छन् । उनी खुम्बु आइसफल क्षेत्र नजिक आफैँ घस्रिँदै आधार शिविरतर्फ आउँदै गरेको अवस्थामा उद्धारकर्ताले भेटेका हुन् । बिहान गरिएको खोजीका क्रममा उनको शरीर अत्यन्त कमजोर अवस्थामा रहेको र हातका औँलामा चिसोको असर देखिएको बताइएको छ । लगातार सात दिनसम्म माइनस तापक्रममा उनी कसरी बाँचे भन्ने विषयलाई चमत्कारका रूपमा लिइएको छ । हिजो गरिएको हेलिकप्टर खोजीमा समेत उनी फेला परेका थिएनन् । यो घटनापछि सगरमाथा क्षेत्रमा सुरक्षा र उद्धार व्यवस्थाबारे पुनः प्रश्न उठेका छन् ।
१९- नेपालले मलेसियामा जारी एसीसी महिला प्रिमियर कपमा लगातार दोस्रो जित हासिल गरको छ । विहिबार सम्पन्न खेलमा नेपालले भुटानलाई ५१ रनले पराजित गरेको हो । नेपालले दिएको ११४ रनको लक्ष्य पछाएको भुटानले २० ओभरमा ८ विकेट गुमाउदै ६२ रन मात्र बनाएको थियो । यसअघि नेपालले पहिला ब्याटिंग गर्दै २० ओभरमा अल आउट हुदै ११३ रन बनाएको थियो । नेपालले यसअघि बुधबार कतारलाई पराजित गरेको थियो । समुह डी मा रहेको नेपालले लगातार दोस्रो जित हासिल गरेको छ । त्यस्तै भुटानले भने लगातार दोस्रो हार बेहोरेको छ । अब नेपालले अर्को खेल शनिबार हङकङसँग खेल्ने तालिका रहेको छ ।
२०- अफ्रिकी देश कङ्गोमा फैलिएको इबोला भाइरसको प्रकोपप्रति विश्व स्वास्थ्य सङ्गठनले गम्भीर चिन्ता व्यक्त गरेको छ । सङ्गठनका महानिर्देशक टेड्रोस एड्हानोम घेब्रेयेससले परीक्षण तथा प्रयोगशाला सुविधामा सुधार भए पनि संक्रमण नियन्त्रणको प्रयास अझै पर्याप्त नभएको बताएका छन् । उनका अनुसार इबोलाको प्रकोप धेरै अघि बढिसकेको अवस्थामा स्वास्थ्य निकायहरू त्यसलाई नियन्त्रणमा ल्याउन संघर्ष गरिरहेका छन् । कङ्गोको पूर्वी क्षेत्रमा सुरक्षा अवस्था बिग्रिँदा स्वास्थ्य संकट झन् जटिल बनेको छ । नर्थ किभु प्रान्तको बेनी क्षेत्रमा इस्लामिक स्टेटसँग आबद्ध उग्रवादी समूह एलाइड डेमोक्रेटिक फोर्सेजले गरेको आक्रमणमा १६ जनाको मृत्यु भएको छ ।
सुरक्षा निकायका अनुसार कङ्गो र युगान्डाको संयुक्त सैन्य कारबाहीको प्रतिशोधस्वरूप उक्त आक्रमण गरिएको हो। यसअघि पनि उग्रवादीहरूले सीमावर्ती गाउँहरूमा आक्रमण गरी दर्जनौँ मानिसको ज्यान लिएका थिए। लगातारको हिंसा र असुरक्षाका कारण स्वास्थ्यकर्मीहरू प्रभावित क्षेत्रमा पुग्न कठिनाइ भोगिरहेका छन् । मे महिनाको मध्यतिर घोषणा गरिएको यो प्रकोपपछि कङ्गोमा हालसम्म इबोलाका ३४४ संक्रमित फेला परिसकेका छन् । तीमध्ये ६० जनाको मृत्यु भएको छ । छिमेकी देश युगान्डामा पनि संक्रमण फैलिएको छ, जहाँ १५ संक्रमित पुष्टि भएका छन् भने एक जनाको मृत्यु भएको छ । शंकास्पद बिरामीको संख्या केही घटे पनि विज्ञहरूले वास्तविक अवस्था तथ्यांकले देखाएभन्दा गम्भीर हुन सक्ने चेतावनी दिएका छन् । हालै सबैभन्दा बढी प्रभावित क्षेत्रको भ्रमण गरेर फर्किएका टेड्रोसले प्रयोगशाला क्षमता विस्तार गरिएको र संक्रमण पहिचान गर्ने प्रक्रिया पहिलेभन्दा छिटो भएको बताएका छन् । उनले त्यहाँ देखिएको प्रगतिले आशा जगाएको भए पनि चुनौतीहरू अझै ठूलो रहेको उल्लेख गरे ।
उनले इबोलाको डरका कारण कङ्गोसँग आवतजावतमा प्रतिबन्ध लगाएका देशहरूलाई ती प्रतिबन्ध हटाउन पनि आग्रह गरेका छन् । उनका अनुसार यस्ता प्रतिबन्धले औषधि, स्वास्थ्य सामग्री र राहत कार्यमा असर पुर्याइरहेको छ । विज्ञहरूका अनुसार इबोला नियन्त्रणका लागि संक्रमित व्यक्तिको सम्पर्कमा आएका मानिसहरूको पहिचान र निगरानी अत्यन्त महत्वपूर्ण हुन्छ । विश्व स्वास्थ्य सङ्गठनका अनुसार हाल केवल ४५ प्रतिशत सम्पर्कहरूको मात्र निगरानी भइरहेको छ, जबकि संक्रमण नियन्त्रणका लागि यो दर ९० प्रतिशतभन्दा माथि हुनुपर्छ । असुरक्षा, विस्थापन र जनसंख्याको निरन्तर आवागमनका कारण यो काम चुनौतीपूर्ण बनेको छ ।
यसपटक फैलिएको इबोला भाइरस ‘बुन्डिबुग्यो’ प्रकारको भएको बताइएको छ, जसका लागि हालसम्म स्वीकृत खोप वा प्रभावकारी औषधि उपलब्ध छैन । विज्ञहरूका अनुसार सम्भावित खोप विकास गरी प्रभावित क्षेत्रमा पुर्याउन अझै केही महिना लाग्न सक्छ। यद्यपि हालसम्म कम्तीमा पाँच जना बिरामी निको भएको जानकारी सार्वजनिक भएकाले केही आशा कायम रहेको छ । स्वास्थ्य अधिकारीहरूका लागि अर्को ठूलो समस्या स्थानीय समुदायमा फैलिएका भ्रम र गलत धारणाहरू हुन् । धेरै मानिसहरूले अझै इबोला भाइरसको अस्तित्वमै विश्वास नगरेकाले संक्रमितहरू समयमै उपचारका लागि नआउने गरेका छन्। केही क्षेत्रमा स्थानीय बासिन्दाले स्वास्थ्य केन्द्रमाथि आक्रमणसमेत गरेका छन् भने आफन्तको शव फिर्ता लैजान खोजेका घटनाहरू पनि भएका छन्। यसले संक्रमण फैलिने जोखिम थप बढाएको स्वास्थ्य अधिकारीहरूले बताएका छन् ।