काठमाडौं । काठमाडौंको कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय परिसरमा नर्मिाण गरिएको क्रिकेट मैदान विवादमा परेको छ ।
त्रिभुवन विश्वविद्यालयले गत वैशाख ४ गते सार्वजनिक सूचना जारी गर्दै आफ्नो स्वामित्वमा रहेको जग्गा अतिक्रमणमुक्त बनाउन ३५ दिनको समय दिएको हो । सोही सूचना अनुसार, विश्वविद्यालयले १८ वटा सङ्घ संस्थालाई छुट्टाछुट्टै पत्राचार गरी जग्गा खाली गर्न निर्देशन दिएको छ ।
यस सूचीमा नेपाल क्रिकेट सङ्घ (क्यान) पनि परेको छ । त्रिवि र क्यानबीचको सम्झौता यही वैशाख अन्तिममा सकिँदै छ । यस पटक सम्झौता नवीकरण गर्ने पक्षमा विश्वविद्यालय देखिएको छैन ।
विश्वविद्यालयका पदाधिकारीका अनुसार, क्रिकेट लगायतका ठूला खेल गतिविधिका कारण महिनौँसम्म अध्ययन र अनुसन्धान प्रभावित भएको गुनासो छ ।
तर, क्यानले भने अहिलेसम्म कुनै आधिकारिक पत्र प्राप्त नभएको जनाएको छ । क्यानका प्रवक्ता छुम्बी लामाका अनुसार सञ्चारमाध्यममा समाचार आए पनि आधिकारिक जानकारी नआएसम्म कुनै निर्णय नलिइने क्यानको तयारी छ ।

यसैबीच, सरकारले यसै मैदानलाई अन्तर्राष्ट्रियस्तरको क्रिकेट रङ्गशालामा रूपान्तरण गर्ने गुरुयोजना स्वीकृत गरिसकेको छ । उक्त योजना कार्यान्वयन गर्न करिब १० अर्ब रुपैयाँ खर्च लाग्ने अनुमान गरिएको छ ।

अघिल्ला सरकारहरू, विशेष गरी केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वमा पनि रङ्गशाला निर्माणका प्रयासहरू अघि बढाइएको थियो । तर, विश्वविद्यालयको पछिल्लो निर्णयले यो योजनामा अन्यौलता सृजना गरेको छ ।

त्रिविको जग्गा खोजबिन समितिको प्रतिवेदन २०८१ अनुसार, कीर्तिपुर क्षेत्रमा मात्रै करिब एक हजार रोपनी जग्गा अतिक्रमणमा परेको उल्लेख गरिएको छ ।
अतिक्रमणमा संलग्नहरूलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोग, केन्द्रीय अनुसन्धान ब्युरो र जिल्ला प्रशासन कार्यालयमार्फत कारबाही गर्न सिफारिस गरिएको छ ।