तनहुँ, श्रावण १५ – म्याग्दे गाउँपालिकाको प्रकोप व्यवस्थापन कोष खातामा म्याग्दे काठमाडौँ सम्पर्क समाजले ४५ हजार सहयोग गरेको छ । मंगलवार समाजका अध्यक्ष माधव घिमिरेले गाउँपालिका अध्यक्ष मायादेवी राना आलेलाई सो रकम हस्तान्तरण गरेका थिए । गत असाढ २८ र २९ गतेको अविरल वर्षा तथा त्यसपछि विभिन्न मितिमा आएको वाढी तथा पहिरोबाट विस्थापित भएका परिवारलाई सहयोग गर्नका लागि समाजले गरेको सहयोग सकरात्मक रहेको गाउपालिका अध्यक्ष आलेले बताईन।
पालिकाले विभिन्न संघसस्थाले गर्ने सहयोगका कार्यक्रमलाई एकद्वार प्रणाली मार्फत अगाडि बढाएको बताउदै अध्यक्ष आलेले भनिन् “सहयोग गरेकोमा म्याग्दे काठमाडौँ सम्पर्क समाजलाई धन्यवाद छ ।”म्याग्दे काठमाडौँ सम्पर्क समाजका अध्यक्ष माधव घिमिरेले म्याग्देबाट काठमाडौँ तथा अन्य स्थानमा बसेका व्यक्तिहरुबाट संकलित रकम प्रकोप व्यवस्थापन कोष खातामा सहयोग गर्न पाएकोमा खुसी व्यक्त गरे ।
गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत हरिराम नागिलाले पहिलो चरणमा ७१ विस्थापित परिवारलाई राहत स्वरुप नगद ५ हजार र वन्दोवस्ति लगायत दैनीक उपभोग्य सामाग्रीहरु हस्तान्तरण गरिसकिएको जानकारी दिए । पालिकाले सात वटै वडा कार्यालय मार्फत क्षतिको विवरण संकलन गरिरहेको पनि प्रमुख प्रशासकीय अधिकृत नागिलाले बताए ।