काठमाडौं । ‘बिचुटेन डाटा भोल्ट’ले नेपालको पहिलो टियर आईभी हाइपरस्केल डाटा सेन्टर निर्माण गर्ने घोषणा गरेको छ । नेपालको डिजिटल पूर्वाधारलाई विश्वस्तरीय बनाउन र देशको डाटा सुरक्षालाई मजबुत पार्ने उद्देश्यले यस्तो घोषणा गरेको जनाइएको छ ।
यस पहलले नेपाललाई दक्षिण एसियाकै एक विश्वसनीय डिजिटल हबको रूपमा स्थापित गर्ने लक्ष्य राखेको उल्लेख छ ।
नेपाली उद्यमीहरू नवीन अग्रवाल, मीन अग्रवाल (फेयर ग्रुप), अनुज कियाल (कियाल ग्रुप), विशाल कुमार जाटिया र शरद गोयलको नेतृत्वमा रहेको यस स्वदेशी कम्पनीले नेपालको आफ्नै डिजिटल र एआई सार्वभौमिकता र सुरक्षित डिजिटल भविष्य निर्माण गर्ने संकल्प लिएको छ ।
कम्पनीका अनुसार, यो नेपालकै पहिलो टियर आईभी प्रमाणित डाटा सेन्टर हुनेछ, जसले ९९.९९५ प्रतिशत ‘अपटाइम’को ग्यारेन्टी दिनेछ । “यसको अर्थ वर्षभरिमा प्राविधिक अवरोध २६ मिनेटभन्दा कम हुनेछ, जसले बैंकिङ र दूरसञ्चार जस्ता संवेदनशील क्षेत्रका लागि उच्चतम विश्वसनीयता प्रदान गर्नेछ,” प्रेस विज्ञप्तिमा उल्लेख छ ।
यो परियोजना काठमाडौं र वीरगन्ज गरी दुई रणनीतिक स्थानहरूमा रहनेछ । सुरुमा २४० किलोवाट क्षमताबाट सुरु भई सन् २०३० सम्ममा ५ मेगावाटसम्म विस्तार गर्ने योजना रहेको कम्पनीले जनाएको छ ।

‘डाटा नै कृत्रिम बौद्धिकता (एआई) र डिजिटल रूपान्तरणको आधार हो’ भन्ने मान्यताका साथ यसले नेपालको डाटा नेपालभित्रै सुरक्षित राख्ने सुनिश्चित गर्ने कम्पनीले बताएको छ । यसबाट विदेशी सर्भरमाथिको निर्भरता कम भई राष्ट्रिय सुरक्षा र साइबर प्रतिरोध क्षमता बलियो हुने अपेक्षा गरिएको छ ।
