काठमाडौं –उच्च शिक्षा अध्ययनका लागि विदेश जान चाहने विद्यार्थीहरुलाई लक्षित गर्दै ४ दिने १२ औं राष्ट्रिय शैक्षिक परामर्श (ईक्यान) मेला बिहीबारदेखि राजधानीमा सुरु भएको छ ।
एकै स्थानमा विश्वका उत्कृष्ट गन्तव्य मुलुकहरुको शिक्षा प्रणाली र अवसरको विषयमा जानकारी दिनका लागि मेलाको आयोजना गरिएको हो ।
६ गतेसम्म चल्ने मेलाको बिहीबार एक समारोहका बिच परराष्ट्र मन्त्री प्रदीप कुमार ज्ञवालीले उद्घाटन गरेका थिए ।
उनले गुणस्तरीय उच्च शिक्षा खोजिरहेका नेपाली विद्यार्थीहरुका लागि मेला ज्यादै उपयोगी हुने बताएका छन् ।
उच्च शिक्षामा नेपालको राम्रो सम्भावना भएको र नेपालका बुद्धिज्म, हिमालय लगायतका विषयवस्तुहरु विश्वविद्यालयीय शिक्षामा अन्तराष्ट्रियकरण गरी नेपाललाई शैक्षिक गन्तव्य बनाउनुपर्ने बताए ।
मन्त्री ज्ञवालीले ईक्यानले शैक्षिक परामर्शको क्षेत्रमा महत्वपूर्ण कार्य गरिरहेको सन्दर्भमा विद्यार्थीलाई दिने परामर्शमा विदेशमा ज्ञान हासिल गरेर स्वदेशमै फर्कने र देश विकासमा सघाउ पुर्याउन सक्ने गरी परामर्श दिनुपर्नेमा जोड दिए ।
कार्यक्रममा श्रीलंकाली राजदूत स्वर्ण परेरा, भारतीय तथा रसियन राजदूतावासका प्रतिनिधि, नेपाल चेम्बर अफ कमर्शका उपाध्यक्ष नरेश श्रेष्ठ, प्रभु बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक शेरचन, हिसानका अध्यक्ष रमेश सिलवाल, अभिभावक संघ नेपालका अध्यक्ष सुभाष भण्डारी, नेपाल पत्रकार महासंघका उपाध्यक्ष दिलिप थापा लगायतको सहभागिता रहेको थियो ।
२२६ भन्दा वढि स्टल रहेको मेलामा १०० भन्दा बढी स्वदेशी परामर्शदातृ संस्थाहरुको सहभागिता रहेको छ भने अष्ट्रेलिया, यूरोप, जापान, अमेरिका, क्यानाडा, कोरिया, मलेशिया, फिलिपिन्स, भारत लगायत देशका परामर्शदातृहरु सहित विभिन्न १७ वटा पेभिलियनहरु रहेको जनाइएको छ ।
विदेशका विभिन्न विश्वविद्यालयहरुका बारेमा जान्न उत्सुक विद्यार्थीहरुका लागि लक्षित यस मेलामा प्रवेश निःशूल्क गरिएको छ ।
FACEBOOK COMMENTS