संविधान जोगाउन गठबन्धनले जित्नुपर्छ : अध्यक्ष केसी
कर्पोरट खबर
6:30 pm, मंगलबार, असोज २५, २०७९
काठमाडौँ । राष्ट्रिय जनमोर्चाका अध्यक्ष एवं बागलुङ–१ का प्रतिनिधिसभा सदस्य उम्मेदवार चित्रबहादुर केसीले आसन्न सङ्घ र प्रदेशको चुनाव सत्तारुढ गठबन्धनले जित्नुपर्नेमा जोड दिएका छन् ।
गठबन्धन दलद्वारा मंगलबार बागलुङ सदरमुकाममा आयोजित पत्रकार भेटघाटमा बोल्दै उनले चुनावमा अग्रगमनकारी शक्तिले जित्ने की परिवर्तन विरोधीले भन्ने विषय गम्भीर प्रश्न बनेर आएको उल्लेख गरे । “अहिलेको चुनाव अग्रगमन र प्रतिगमनबिचको लडाइँ हो, संविधान र गणतन्त्र जोगाउन अग्रगमनले जित्नैपर्छ, यो जीवनमरणको प्रश्न हो”, उनले भने, “राष्ट्रियता, सार्वभौमिकता र अखण्डताको रक्षाका लागि गठबन्धनका उम्मेदवारलाई जिताउनुस् ।”
उनले संविधानका उपलब्धिको रक्षा गर्ने सर्तमा भिन्न विचार र कार्यशैली भएका दलहरूबिचमा संयुक्त चुनावी मोर्चा बनेको धारणा राखे । “ठूल्ठूला राजनीतिक परिवर्तन प्रजातान्त्रिक र वाम शक्ति मिलेर नै सम्भव भएको हो”, उनले भने, “अन्तर्विरोध हुँदाहुँदै पनि साझा मुद्दामा दलहरूबिच संयुक्त मोर्चा र कार्यगत एकता हुन्छ ।”
अध्यक्ष केसीले चुनाव जितेर संसद्मा गएपछि आफूले आधारभूत तहका जनताको आवाजको प्रतिनिधित्व गर्ने बताए । विसं २०५६ र २०६४ को चुनावमा बागलुङ–२ बाट चुनाव जितेका केसी अहिलेको चुनावमा सत्तारुढ गठबन्धनको साझा उम्मेदवारका रूपमा चुनावी मैदानमा छन् ।
FACEBOOK COMMENTS