काठमाडौं । साढे ३ वर्षमा सम्पन्न गर्ने गरी शिलान्यास भएको नागढुंगा सुरुङमार्ग आयोजना सम्झौता अवधिमै सम्पन्न नहुने देखिएको छ । आयोजनाको सम्झौता अवधि सकिन ६ महीना बाँकी हुँदा यसको समग्र प्रगति ६५ दशमलव ३० प्रतिशत पुगेको छ ।
२०७६ कात्तिक ४ गते तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले उक्त सुरुङमार्गको शिलान्यास गरेका थिए । शिलान्यासपछि आयोजनाका लागि आवश्यक निर्माण उपकरण, विस्फोटक सामग्रीको उपलब्धताका साथै मुआब्जालगायत समस्याले सुरुङमार्ग निर्माण शुरू गर्नै ढिलो भएको थियो । त्यहीबीचमा देखिएको कोरोना महामारीका कारण थप ढिलो हुँदा तोकिएको अवधिमा आयोजना सम्पन्न हुन नसकेको सडक विभागको भनाइ छ ।
निर्धारित समयमै सम्पन्न नहुने भएसँगै सडक विभागले आयोजनाको म्याद ८६ दिन थप गरिसकेको छ । ४२ महीनामा सम्पन्न गर्ने गरी जापानी कम्पनी हाज्मारआन्दो कर्पोरेशनले सुरुङमार्ग बनाउने जिम्मा लिएको थियो । यसअनुसार आउँदो वैशाखसम्ममा सुरुङमार्ग बनिसक्नुपर्नेमा अझै थप समय लाग्ने भएको छ ।
आयोजनाका निर्देशक रामहरि पोखरेलले आयोजनाको म्याद ८६ दिन थपिएको जानकारी दिए । यद्यपि निर्माण कम्पनी हाज्मारआन्दोले अझै ६र७ महीना म्याद बढाउन विभागसँग माग गरेको छ । तर, निर्माण कम्पनीले मागेअनुसार नै म्याद भने नथपिने पोखरेलले जानकारी दिएको आजको आर्थिक अभियान दैनिकमा समाचार छ ।
FACEBOOK COMMENTS