काठमाडौँ । प्रतिनिधिसभा सदस्य निर्वाचनमा नेपाली काँग्रेसका बद्री पाण्डेले चार हजारभन्दा बढी मतले अग्रता कायम गरेका छन् । बुधवार बेलुकी ६ः३० बजेबाट सुरु भएको मतगणना अहिले पनि जारी छ ।
मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार २९ हजार मतगणना गर्दा काँग्रेस उम्मेदवार पाण्डेले १७ हजार आठ सय ५५ मत प्राप्त गरेका छन् । उनका निकटतम् प्रतिद्वन्द्वी नेकपा (एमाले)का उम्मेदवार कर्णबहादुर थापाले १३ हजार दुई सय ९७ मत प्राप्त गरेका छन् ।
प्रदेशसभा १ मा एकीकृत समाजवादीका उम्मेदवार नरेश शाहीले नौ हजार तीन सय ३० मत प्राप्त गरेका छन् । उनका निकटतम् प्रतिद्वन्द्वी एमाले उम्मेदवार बलदेव रेग्मीले आठ हजार एक मत प्राप्त गरेका छन् । माओवादी केन्द्रका कर्णबहादुर विकले एक हजार ३० मत पाएका छन् ।
प्रदेशसभा १ मा स्वामीकार्तिक खापर, जगन्नाथ गाउँपालिका र बुढीनन्दा नगरपालिकाको मतगणना सकिएको छ भने हिमाली गाउँपालिकाको मतगणना अन्तिम चरणमा पुगेको छ ।
यसै गरी प्रदेशसभा २ मा काँग्रेसका उम्मेदवार पदमबहादुर शाहीले १० हजार नौ सय ७७ मत प्राप्त गरेका छन् । उनका निकटतम् प्रतिद्वन्द्वी एमालेका उम्मेदवार लालबहादुर थापाले आठ हजार छ सय ४० मत प्राप्त गरेका छन्। एमालेका उम्मेदवार थापा विसं २०७४ को प्रतिनिधिसभा सदस्य छन् । राष्ट्रिय प्रजातन्त्र पार्टीका हिमाल शाहीले ७० र स्वतन्त्र उम्मेदवार जनक रावलले १६ मत पाएका छन् ।
FACEBOOK COMMENTS