काठमाण्डौँ । दोलखाबाट प्रतिनिधिसभा सदस्यमा नेकपा माओवादी केन्द्रका पोलिटब्यूरो सदस्य गङ्गा कार्की निर्वाचित भएका छन् ।
नेता कार्कीले ३६ हजार सात सय ९९ मत प्राप्त गर्नुभयो भने उनका प्रतिस्पर्धी नेकपा एमालेका बालकृष्ण शिवाकोटीले ३६ हजार चार सय ८२ मत प्राप्त गरे ।
सत्ता गठबन्धनका तर्फबाट उम्मेदवार बन्नुभएका ५७ वर्षे कार्की दोलखाको जुँगु गाविस–७ फाल्टुकमा विसं २०२२ मा पिता टेकबहादुर कार्की र माता अमृतकुमारी कार्कीको कोखबाट पहिलो सन्तानका रुपमा जन्मिनुभएको थियो । पार्टीमा उनी ‘विश्व’ उपनामले परिचित छन् ।
उनका जेठो छोरा विश्वास कार्की स्थानीय तहको निर्वाचनमा गौरीशङ्कर गाउँपालिकाको अध्यक्षमा निर्वाचित भएका छन् । उनको राजनीतिक जीवन २०४२ सालबाट सुरु भएको हो । उनले विसं २०४८ सालमा नेकपा एकता केन्द्रको जिल्ला सचिव भएर काम गर्नुभएको थियो भने विसं २०४८ मा एकता केन्द्रको क्षेत्रीय ब्यूरो सदस्य पनि हुनु भएको थियो ।
कार्कीले जनयुद्धको अवधिमा विसं २०५४ मा सोलु ओखलढुङ्गाको जिल्ला सचिव, २०५५ देखि साढे तीन वर्ष भोजपुर, सङ्खुवासभा, तेह्रथुम, ताप्लेजुङ र धनुषाको जिल्ला सचिव र इञ्चार्जको जिम्मेवारी पनि निर्वाह गरेका थिए ।
प्रदेशसभा १ मा कांग्रेस र प्रदेशसभा २ मा एमाले
दोलखा प्रदेशसभा १ मा नेपाली कांग्रेसका कुन्दनराज काफ्ले निर्वाचित भए । सत्ता गठबन्धनका उम्मेदवार काफ्लेले २३ हजार तीन सय ३१ मत प्राप्त गरे । उनी नेपाली कांग्रेसको केन्द्रीय सदस्य छन् । उनका प्रतिस्पर्धी एमालेका नरबहादुर श्रेष्ठले १५ हजार तीन सय ५६ मत प्राप्त गरेका थिए । उनी नेकपा एमालेका दोलखाका अध्यक्ष छन् ।
प्रदेशसभा २ मा एमालेका भरतबहादुर केसी निर्वाचित भएका छन् । उनले १९ हजार चार सय १४ मत प्राप्त गरे । उनी यसअघि भीमेश्वर नगरपालिकाको प्रमुख थिए । केसीका प्रतिस्पर्धी नेपाली कांग्रेसका बर्मा लामाले १७ हजार पाँच सय ९५ मत प्राप्त गरे । उनी नेपाली कांग्रेस दोलखाका सभापति छन् ।
दोलखामा कूल ८५ हजार तीन सय ८८ मत खसेको थियोे । जिल्लामा जम्मा ९४ मतदानस्थल र एक सय ९५ मतदान केन्द्र थिए । जिल्लामा कूल एक लाख ६१ हजार चार सय ५० मतदाता रहेका थिए ।
प्रतिनिसभा र प्रदेशसभा निर्वाचनमा १४ राजनीतिक दलका र सात स्वतन्त्र गरी २१ उम्मेदवार चुनावी मैदानमा सहभागी भएका थिए ।
एक प्रतिनिधिसभा निर्वाचन क्षेत्र रहेको जिल्लामा नेकपा माओवादी केन्द्र र दुई प्रदेशसभामा नेपाली कांग्रेस र नेकपा ९एमाले० एक÷एक क्षेत्रमा विजयी भएका छन् ।
समानुपातिकमा एमाले अगाडि
दोलखामा प्रतिनिधिसभा समानुपातिकतर्फ ६५ हजार तीन सय ६२ मतगणना हुँदा नेकपा एमालेले २३ हजार चार सय ४० मत प्राप्त गरी पहिलो स्थानमा छ ।
दोस्रो स्थानमा रहेको नेपाली कांग्रेसले २१ हजार एक सय २३ मत प्राप्त गरेको छ भने नेकपा माओवादी केन्द्रले नौ हजार दुई सय ५१ मत प्राप्त गरेको छ ।
नेकपा एकीकृत समाजवादीले दुई हजार ६२, राष्ट्रिय प्रजातन्त्र पार्टीले एक हजार पाँच सय २० र राष्ट्रिय स्वतन्त्र पार्टीले तीन हजार आठ सय ४८ मत प्राप्त गरेको छ ।
FACEBOOK COMMENTS