काठमाडौँ । बिरामीको सेवामा सधैँ तत्पर रहने चिकित्सकलाई यति बेला चुनावी रन्को लागेको छ । नेपाल चिकित्सक सङ्घको नयाँ नेतृत्वका लागि सोमबार उम्मेदवारी दर्ता भएको छ ।
आज विभिन्न पदमा ४१ जनाको उम्मेदवारी दर्ता गराएको प्रमुख निर्वाचन अधिकृत डा. धनबहादुर राना मगरले जानकारी दिए । उनका अनुसार अध्यक्षमा डा. सन्तोष पौडेल, डा.शिवजीविक्रम सिलवाल र डा. अनिलविक्रम कार्की तथा महासचिवमा डा सञ्जीव तिवारी, डा. रक्षा श्रेष्ठ र डा. अमृत भुसालको उम्मेदवारी परेको छ ।
एक अध्यक्ष, एक वरिष्ठ उपाध्यक्ष, प्रत्येक प्रदेशबाट एक एक जनाको दरले सातजना उपाध्यक्ष, महासचिव एक, कोषाध्यक्ष एक, सहसचिव एक, सहकोषाध्यक्ष एक र छजना सदस्य गरी १९ जनाको पदाधिकारीको निर्वाचन हुँदै छ । त्यसै गरी, सङ्घ परिषद् सदस्य ६० जनाको समेत निर्वाचन हुँदै छ ।
उनका अनुसार वरिष्ठ उपाध्यक्ष, लुम्बिनी र कर्णाली प्रदेश उपाध्यक्ष, सहसचिव र सहकोषाध्यक्षमा एक जना मात्र उम्मेदवारको मनोनयन परेको छ । उपत्यकाबाहिर माघ ६ र ७ गते र काठमाडौँ उपत्यकामा माघ १९, २० र २१ गते निर्वाचन हुँदै छ । चिकित्सकको समय व्यवस्थापन गर्नका लागि उपत्यकाबाहिर दुई दिन र उपत्यकामा तीन दिन निर्वाचनको मिति तय गरिएको उनले बताए ।
निर्वाचनमा मतदाता १२ हजार आठ सय ३४ जना रहेका थिए । उपत्यकाबाहिर मतपत्र र उपत्यकामा विद्युतीय मतदान गर्ने तयारी भइरहेको प्रमुख निर्वाचन अधिकृत डा राना मगरले जानकारी दिए ।
FACEBOOK COMMENTS