काठमाडौँ । भाषासेवी, धर्मसेवी, उद्यमी, राजनीतिज्ञ एवं समाजसेवी स्वर्गिय लक्ष्मीदास मानन्धरको जीवनी पुस्तक ‘परिवर्तनका संवाहक लक्ष्मीदास’ लोकार्पण गरिएको छ ।
शनिबार पुस्तकको लोकार्पण गर्दै पूर्व प्रधानमन्त्री माधव कुमार नेपालले स्वर्गिय लक्ष्मीदास मानन्धर पुस्तकमा राजनीतिक पाटो छुटेको महशुस भएको बताए । उनले सो पुस्तक खुला पुस्तकका रुपमा रहेको भन्दै लक्ष्मीदास बहुप्रतिभाशाली र प्रेरणादायी व्यक्तित्व रहेको जिकिर गरे । पुस्ताबाट अनेकौं शिक्षा लिन सक्ने भन्दै उद्यमी, समाजसेवी, भाषासेवी, धर्मसेवी लगायत सबैले उनबाट धेरै कुरा सिक्न सक्ने उल्लेख गरे ।
स्वर्गिय मानन्धरका छोरा नारायणदास मानन्धरले उद्योग व्यापार क्षेत्रका अग्रणी पुस्ताका व्यक्तित्व लक्ष्मीदास मानन्धरको जीवनले समाजसेवी र कर्म योगी बन्न प्रेरित गर्ने बताए । उनले आफ्नो बुवाको वार्षिक पुण्य तिथिको अवसरमा जीवनी पुस्तक लोकार्पण गरिएको जानकारी दिए ।
जनकवि दुर्गालाल श्रेष्ठले कविता रचनामार्फत लक्ष्मीदास मानन्धरले भाषा, धर्म, व्यापार, समाजसेवाको क्षेत्रमा अतुलनिय योगदान पुर्याउनु भएको उल्लेख गर्नुहुँदै उहाँ अनुकरणिय व्यक्ति रहेको बताए ।
पुस्तकका लेखक लक्ष्मण अधिकारीले लगनशीलता र कर्मशीलताले लक्ष्मीदास सफल उद्योगपति व्यवसायी एवं समाजसेवी बनेको र परिवर्तनमा उनको योगदान अतुलनीय रहेको बताए ।
कार्यक्रममा धर्मोदय सभाका अध्यक्ष एवं उद्योगपति पद्म ज्योती, पूर्व मन्त्रीहरु जीवनराम श्रेष्ठ, तिर्थराम डङ्गोल, साल्ट ट्रेडिङका सञ्चालक प्रदिपलाल श्रेष्ठ, चेम्बरका उपाध्यक्ष लगायतको उपस्थिति रहेको थियो ।
FACEBOOK COMMENTS