काठमाडौँ । यस वर्षको ‘ भ्यालेन्टाइन डे’(प्रणय दिवस)का अवसरमा प्रेमिल कवि तथा गीतकार वसन्त चौधरीको एकल कविता वाचन कार्यक्रम आयोजना हुने भएको छ ।
फागुन २ गते दिउँसो ३ः४५ बजेदेखि काठमाडौँको मण्डला थिएटरमा प्रेमसँग सम्बन्धित कवितासहित कवि तथा साहित्यसहित चौधरीको एकल वाचन हुनेछ । ‘कवितासँग वसन्त’ नाम दिइएको एकल कविता वाचनको थिम ‘लभ इज इन दि एयर’ राखिएको छ । भ्यालेन्टाइन डेलाई विशेष बनाउन प्रेमका कविता तथा रचना प्रस्तुत गर्दै एकल कविता वाचन कार्यक्रम आयोजना गरिनु नेपाली साहित्यमै उल्लेख्य काम भएको चौधरीले बताएका छन् ।
एकल कविता वाचन कार्यक्रममा कवि चौधरीले एकदर्जन बढी प्रेमिल कविताहरु प्रस्तुत गर्नेछन् । सो अवसरमा चौधरीका दुईवटा पुस्तक ‘मेरा गीत’(गीतहरुको संग्रह) तथा ‘जीवनमन्त्र–२’(सुक्ति संग्रह) समेत लोकार्पित गरिनेछन् ।
सो कार्यक्रममा सहभागिताका लागि ९८१९१४०४९० मा सम्पर्क गरी आफ्नो स्थान सुरक्षित गर्नुपर्नेछ ।
उनले नेपाली भाषाका साथै हिन्दी भाषामा समेत सशक्त सिर्जनाहरु सार्वजनिक गरिसकेका छन् । केही समयअघि उनका ८५ वटा कविताहरुको संग्रह ‘तिमीबिनाको म’ सार्वजनिक भएको थियो । यसमा संग्रहित अधिकांश रचना प्रेमसँग सम्बन्धित छन् । त्यसअघि हिन्दी काव्य संग्रह ‘अनेक पल और मैं’ सार्वजनिक भएको थियो । ‘मेघा’देखि ‘तिमीबिनाको म’सम्म उनका एकदर्जन कृतिहरु प्रकाशित छन् ।
चौधरीका कविता समकालीन मनुष्यका सुखदुःख, हास्य एवम् रोदन अर्थात प्रेमानूभूतिसँग सम्बन्धित हुन्छन् । उनले कवितामा प्रयोग गर्ने बिम्ब र प्रतीक अनौठा हुने गरेका छन् ।
FACEBOOK COMMENTS