गाेरखा । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मंगलबार गोरखा पुगेर २० किलोमिटर लामो सडक शिलान्यास गरेका छन्।
पालुङटार नगरपालिकास्थ्ति पन्थहिटी–कटहरे–हर्मी–साहिलटार सडकस्तरोन्नति योजनाको शिलान्यासका क्रममा उनले स्थानीयलाई सम्बोधन पनि गरे।
सम्बोधनका क्रममा प्रचण्डले संसदबाट विश्वासको मत पाइसकेपछि अब राजनीतिक वातावरणले लय पक्रिएको दाबी गरेका छन्।
‘हिजोबाट फेरि राजनीतिक वातावरणले लय पक्रिएको छ,’ प्रचण्डले गोरबासीमाझ भने,‘सदनमा भएका ११ पार्टीले विश्वासको मत दिएपछि सरकारलाई पूर्णता दिने प्रयत्नमा छौँ।’
उनले आफू नेतृत्वको सरकार पुनर्गठन तयारी भइरहेको पनि जानकारी दिए। प्रचण्डले प्रदेश सरकारमा आलोपालो तयारी भएको पनि खुलाए।
‘सरकार गठन पुनर्गठन गर्ने कुरामा छलफल भइरहेको छ, प्रदेश सरकारलाई आलोपालो प्रणालीबाट पूर्णता दिने विषयमा छलफल हुँदैछ,’ उनले भने,‘जनताको विकास निर्माण समृद्धिको आकांक्षा सम्बोधन गर्न एकीकृत रूपमा काम अघि बढाउन, केन्द्र, प्रदेश र स्थानीय तहको समन्वय गर्न बृहत्तर बैठक राख्दै छु, त्यसमा देशभरको विकासलाई कसरी गति दिने गम्भीर छलफल हुन्छ।’
पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले मंगलबार शिलान्यास गरिएको सडक गोरखा र लम्जुङलाई जोड्ने रणनीतिक सडक भएको बताए । ‘मेरो लागि सबै भन्दा खुसीको क्षण हो । म आफै अर्थमन्त्री हुँदा यो वाटो स्तरोन्नतीको कार्य सुरु गरेको थिएँ,’ उनले भने, ‘तर बारम्बार पहल गर्दा पनि यसले पूर्णता पाउन सकेको थिएन ।’
कार्यक्रममा उपप्रधानमन्त्री तथा भौतिक पूर्वाधार बिकासमन्त्री नारायणकाजी श्रेष्ठले जनताको भावना अनुसार काम गर्न सरकार प्रतिवद्ध भएको बताए । ‘यो सडकको शिलान्यास मात्र होइन, जनतासँग गरिएका प्रतिवद्धता पूरा गर्ने कार्यको उद्घाटन पनि हो’, उनले भने, ‘अब सरकारले दृढताका साथ बिकास निर्माणका काम अघि बढाउँछ ।’
प्रधानमन्त्री प्रचण्डसँगै पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई र उपप्रधानमन्त्री एवम् भौतिक पूर्वाधार तथा यातायात मन्त्री नारायणकाजी श्रेष्ठ गोरखा पुगेका थिए।
भारतीय एक्जिम बैंकसँगको विकास साझेदारीमा निर्माण हुने योजनाको लागत ८० करोड रुपैयाँ छ।
FACEBOOK COMMENTS