काठमाडाैं । स्यानिटरी प्याडको निर्यात बढेको छ। भन्सार विभागको पछिल्लो तथ्यांकले स्यानिटरी प्याडको निर्यात बढेको देखाएको हो।
चालु आर्थिक वर्ष २०७९/८० को नौ महिना (साउनदेखि चैतसम्म) मा चार गुणाले स्यानिटरी प्याडको निर्यात बढेको छ।
गत आर्थिक वर्ष २०७८/७९ को सोही अवधिमा ७० लाख ६५ हजार चार सय ८४ वटा प्याड निर्यात भएको छ। सो संख्याको प्याड निर्यातबाट एक करोड ९८ लाख ९४ हजार रूपैयाँ भित्रिएको छ।
यस्तो निर्यात यो वर्षको साउनदेखि चैतसम्ममा तीन करोड चार लाख २८ हजार चार सय ९६ वटा भएको छ। त्यसबाट ८ करोड ४७ लाख रूपैयाँ विदेशी मुद्रा भित्रिएको छ।
यो समयमा आयात पनि घटेको छ।
यो वर्षको साउनदेखि चैतसम्ममा ६६ करोड ३९ लाख ६३ हजार रूपैयाँ मूल्य बराबरको सात करोड २७ लाख ७८ हजार ८ सय ७७ वटा आयात भएको छ।
यो गत वर्षको सोही अवधिका तुलनामा ३३ प्रतिशतले कम हो।
गत वर्ष साउनदेखि चैतसम्ममा ९३ करोड ८ लाख १७ हजार मूल्य बराबरको १० करोड ८६ लाख ३१ हजार ६ सय ८७ वटा स्यानिटरी प्याड आयात भएको थियो।
चालु आर्थिक वर्षको बजेटमार्फत आयातित प्याडलाई १.५ प्रतिशत कर लगाएर आयातलाई नै प्रोत्साहन गरिएको छ। तर पनि विभागको तथ्यांक हेर्दा आयात घट्न गई निर्यात बढेको छ।
नेपालमा उत्पादित स्यानिटरी प्याड विदेशीभन्दा राम्रो गुणस्तरको भएकाले निर्यात बढेको स्यानिटरी तथा बेबी डाइपर उत्पादन संघका अध्यक्ष तथा एजी हेल्थ इन्डस्ट्रीका निर्देशक डोलप्रसाद अधिकारी बताउँछन्।
अधिकारीले ‘सगुन’ ब्रान्डको प्याड उत्पादन गरेर बिक्री वितरण गर्दै आएका छन्। ‘हाम्रो उत्पादन गुणस्तरको छ। यहाँ भन्दा भारतमा महँगोमा बिक्री हुन्छ,’ उनले भने।
उनका अनुसार यहाँ साना–ठूला गरेर ४० वटा स्यानिटरी प्याडका उद्योग छन्। ती उद्योगको कुल लगानी ६ अर्ब रूपैयाँ छ।
सञ्चालित उद्योगले ६ हजारले रोजगारी दिएका छन् भने रोजगारी पाउनेमा ८० प्रतिशत महिला छन्।
प्याड उत्पादनमा देश आत्मनिर्भर भएकाले बाहिबाट ल्याउन पर्ने आवश्यकता नरहेको उनको भनाइ छ।
‘यहाँका उद्योगबाट वार्षिक ९० हजार करोड वटा प्याड बनाउन सकिन्छ। खपतका तुलनामा उत्पादन धेरै छ,’ उनले भने, ‘यो अवस्था हुँदाहुँदै राज्यले स्वदेशी उद्योगलाई धराशायी बनाई विदेशी उद्योगलाई प्रोत्साहन गर्ने नीति लिएको छ।’
उनका अनुसार हाल सञ्चालित उद्योगबाट वार्षिक ७ देखि ८ लाख वटा प्याड उत्पादन भइरहेको छ। त्यसको ५५ प्रतिशत बाहिर निर्यात हुन्छ भने बाँकी यहाँ खपत हुन्छ।
सरकारले बाहिरबाट आउने प्याडको भन्सार दर बढाए अझै निर्यात बढ्ने उनी बताउँछन्।
स्वदेशी उद्योगलाई प्रोत्साहन गर्ने, आयातितलाई निरूत्साहित गर्ने सरकारको नारा भए पनि बजेट आउँदा नीति कार्यान्वयनमा आउने नगरेको उनले बताए।
सातदेखि नौ प्रकारका कच्चा पदार्थ प्रयोग गरी यहाँका उद्योगीले स्यानिटरी प्याड उत्पादन गर्दै आएका छन्। त्यसमा समग्रमा १० देखि १५ प्रतिशत भन्सार तिरिरहेको उद्योगीको भनाइ छ।
भन्सार विभागको तथ्यांक अनुसार चीन, भारत, जापान, नेदरल्याण्ड, पाकिस्तान, थाइल्याण्ड, अमेरिका लगायत देशबाट स्यानिटरी प्याड आयात हुन्छ।
FACEBOOK COMMENTS