काठमाडौं । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री रमेश रिजालसँग भारतको पेट्रोलियम तथा प्राकृतिक ग्याँस मन्त्रालयका सहसचिव ईसा श्रीवास्तवको टोलीले भेटवार्ता गरेको छ।
पेट्रोलियम तथा ग्याससम्बन्धी नेपाल-भारत संयुक्त कार्य समूहको सहसचिव स्तरीय चौथो बैठकमा भाग लिन काठमाडौं आएको टोलीले आज बैठकपश्चात उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयमा मन्त्री रिजालसँग भेटवार्ता गरेको हो।
पेट्रोलियम तथा ग्याससम्बन्धी नेपाल-भारत संयुक्त कार्य समूहको बैठकमा नेपालको तर्फबाट उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका सहसचिव राधिका अर्यालले नेतृत्व गरेकी थिइन्। बैठकमा पेट्रोलियम पदार्थको क्षेत्रमा पूर्वाधार विकास, प्राकृतिक ग्यासको क्षेत्रमा थप अध्ययन गर्ने लगायतका अन्य विविध विषयहरुमा छलफल भएको थियो।
मन्त्री रिजालसँगको भेटमा भारतको पेट्रोलियम तथा प्राकृतिक ग्यास मन्त्रालयका सहसचिव ईसा श्रीवास्तवले बैठकमा छलफल भएका विषयहरुमा थप प्रकाश पारेका थिए।
FACEBOOK COMMENTS