काठमाडौं । परराष्ट्रमन्त्री एनपी साउद र भारतीय समकक्षी एस जयशंकरबीच भेटवार्ता भएको छ ।
भारतीय विदेशमन्त्री जयशंकरले फेसबुकमा फोटो पोस्ट गर्दै नेपालका परराष्ट्रमन्त्रीसँग भेट भएको जानकारी गराएका छन् । उनले दुई मन्त्रीहरुबीच आआफ्नो नेतृत्वले तय गरेको एजेण्डा कार्यान्वयनमा सहकार्य गर्ने सहमति भएको उल्लेख गरेका छन् ।
बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गाल खाडीको प्रयास (बिम्स्टेक) सदस्य राष्ट्रका परराष्ट्र (विदेश) मन्त्रीहरुबीचको छलफलका क्रममा थाइल्याण्डको बैंककमा उनीहरुबीच साइडलाइन भेटवार्ता भएको हो
बैंककमा सोमबार बिम्स्टेक सदस्य मुलुकका विदेशमन्त्रीहरुबीच आपसी सहयोगलाई सुदृढ पार्ने उपायहरूबारे छलफल भएको छ । छलफलका क्रममा ऊर्जा सहयोग, प्रसारण लाइन विस्तार, जलवायु परिवर्तन, स्वास्थ्य र खाद्य सुरक्षा, तथा प्रविधिसहितका क्षेत्रहरूमा कुरा भएको परराष्ट्रमन्त्री एनपी साउदले जानकारी दिए ।
‘बैंककमा हामी बिम्स्टेक सदस्य राष्ट्रका विदेशमन्त्रीहरूले आपसी सहयोगलाई सुदृढ पार्ने उपायहरूमा फलदायी छलफल गरेका छौँ,’ उनले भने, ‘ऊर्जा, प्रसारण लाइन विस्तार, जलवायु परिवर्तन, स्वास्थ्य र खाद्य सुरक्षा, र प्रविधि हाम्रो छलफलका प्रमुख क्षेत्रहरू थिए ।’
बिम्स्टेक राष्ट्रका परराष्ट्रमन्त्रीस्तरीय ‘रिट्रिट’मा सहभागी हुन परराष्ट्रमन्त्री साउद आइतबार बैंकक गएका छन् । बिम्स्टेकमा नेपाल, भारत, भुटान, बंगलादेश, श्रीलंका, थाइल्याण्ड र म्यानमार सदस्य छन्।
परराष्ट्रमन्त्री साउद साउन २ गते मंगलबार थाइ स्माइल एयरवेजकै जहाजबाट स्वदेश फर्किने कार्यक्रम छ ।
FACEBOOK COMMENTS