काठमाडौं । सामाखुसीमा बाढी आउँदा नालामा खसेर बेपत्ता भएका बालक अझै फेला पर्न सकेका छैनन् ।
आइतबार साँझ करिब साढे ५ बजे काठमाडौं महानगरपालिका–३ रानीबारीस्थित एनसिएमटी अगाडि नालामा खसेर १२ वर्षीय साजन आलेमगर बेपत्ता भएका थिए। तर उनी अझै फेला पर्न सकेका छैनन् ।
रानीबारीस्थित घर भई पानीपोखरीको भानुभक्त मेमोरियल स्कुलमा कक्षा ६ मा पढ्ने साजन अहिलेसम्म फेला परेका छैनन् ।
जिल्ला प्रहरी परिसर काठमाडौंका डिएसपी अनिल अधिकारीका अनुसार बालकको खोजी जारी नै छ ।
‘फेला परेका छैनन् । खोजी भइरहेको छ,’ उनले भने, ‘कतिपय छोपिएका ठाउँहरू छन् । त्यहाँ भित्रभित्र पनि हेरिरहेका छौं ।’
यस्तै, उनको खोजी गर्न काठमाडौं प्रहरीले जिल्ला प्रहरी कार्यालय मकवानपुरलाई पनि पत्राचार गरेको छ।
मकवानपुरले पनि बागमती वरिपरिका प्रहरी युनिटलाई खबर गरेको जिल्ला प्रहरी कार्यालयका डिएसपी टेक कार्कीले बताए।
‘काठमाडौंबाट बालक खसेको भनेर हामीलाई खबर भएको छ। बागमती नजिकका चौकीहरूलाई खबर गरिएको छ,’ डिएसपी कार्कीले भने, ‘बागमती नजिकका युनिटहरूले खोजी गर्छन्।’
इलाका प्रहरी कार्यालय ठिंगन र फापरबारीलाई खबर गरेको उनले बताए।
काठमाडौंमा सशस्त्र प्रहरी बलको टोलीले पनि खोजी गरिरहेको छ।
FACEBOOK COMMENTS