काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले वित्तीय विवरण अद्यावधिक नगर्ने नेप्सेमा सूचीकृत संगठित संस्थाहरूलाई कारबाही गर्ने चेतावनी दिएको छ ।
आज एक सूचना जारी गर्दै नेप्सेले धितोपत्र सूचीकरण नियमावली, २०७५ मा भएको व्यवस्था अनुसार समयमै विवरण अद्यावधिक नगर्ने संस्थाहरूलाई कारबाही गर्ने चेतावनी दिएको हो ।
केही संगठित संस्थाहरूले त्रैमासिक वित्तीय विवरण अद्यावधि नगरेको र अबको तीन दिनभित्र नगरे धितोपत्र सूचीकरण नियमावली, २०७५ को विनियम १६ बमोजिम कारबाही गरिने नेप्सेले स्पष्ट पारेको छ ।
विनियम १६ मा धितोपत्र सूचीकरणको वार्षिक शुल्क नबुझाउँदा, धितोपत्र कारोबार तथा मूल्यसँग सम्बिन्धित संवेदनशील सूचना तथा जानकारी सूचीकरण सम्झौतामा उल्लिखित समयमा नेप्सेमा पेश नगरेमा, नेप्सेलाई गलत सूचना दिएमा वा पटक–पटक सूचना परिवर्तन गरेमा वा नेप्सेमा वार्षिक तथा अर्धवार्षिक प्रतिवेदन समयमा पेश नगरेमा नेप्सेले सूचीकृत संस्थाको धितोपत्रको सूचीकरण स्थगन गर्नसक्ने व्यवस्था छ ।
FACEBOOK COMMENTS